८ वैशाख २०८१ शनिबार
राजनीति

मत परिणाम माग्दै नेताहरु आयोगमा

काठमाडौं- वाम गठबन्धनका नेताहरूले प्रतिनिधिसभा समानुपातिकतर्फको मत परिणाम छिटो सार्वजनिक गर्न निर्वाचन आयोगसमक्ष माग गरेका छन् ।

एमाले उपाध्यक्ष भीम रावल र नेता सुवास नेम्वाङ तथा माओवादी केन्द्रका अग्नि सापकोटा, कृष्णबहादुर महरा लगायत आयोगमा पुगेर समानुपातिकतर्फको मत परिणाम छिटो सार्वजनिक गर्न आग्रह गरेका हुन् ।

आयोगले दोस्रो चरणको चुनाव सकिएको एक महिना बित्न लागिसक्दा पनि प्रतिनिधिसभामा समानुपातिकतर्फ दलहरुले ल्याएको मत परिणाम सार्वजनिक गरेको छैन । प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन मंसिर १० र २१ मा भएको थियो । वाम गठबन्धनका नेताहरुले जनताको मतलाई आयोगले असीमित समय खर्च गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।
वाम गठबन्धनका तर्फबाट एमाले उपाध्यक्ष भीम रावल, सुवास नेम्वाङ तथा माओवादी केन्द्रका अग्नि सापकोटा, कृष्णबहादुर महरालगायत आयोगमा पुगेर समानुपातिकतर्फको मत परिणाम अविलम्ब सार्वजनिक गर्न माग गरेका हुन् ।
आयोगले राष्ट्रियसभा गठन नभई समानुपातिक मत परिणाम सार्वजनिक गर्न नसकिने कानुनी बाध्यता रहेको बताउँदै आएको छ । प्रदेशसभातर्फको समानुपातिक मत परिणाम भने सार्वजनिक भइसकेको छ ।
एमाले उपाध्यक्ष रावलले सरकारले राष्ट्रियसभाको मिति तय नभएकाले काम गर्न अप्ठ्यारो भयो भन्ने र निर्वाचन मिति पनि नतोक्ने कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरे । ‘सरकारले राष्ट्रियसभाको चुनाव पनि नतोक्ने, प्रदेश प्रमुखको सम्बन्धमा कुनै सार्थक काम नगर्ने’ उनले भने, ‘राजनीतिक दलसँग पनि कुनै कुरा नगर्ने !’
नेता रावलले जनताको यति धेरै मत लुकाएर राख्न नहुने भन्दै आयोगको ध्यानाकर्षण गराए । ‘ढिलो भएमा भोलि त्यसबाट उत्पन्न हुने परिणाम लोकतन्त्रका लागि हानिकारक हुने भएकाले सबैले जिम्मेवार भएर सोच्नुपर्ने देखिन्छ,’ उनले भने, ‘परिणाम सार्वजनिक गर्ने सम्बन्धमा कुनै समस्या भए समाधानका लागि तयार छौं ।’
‘जनताको मत आयोगले यत्तिकै राख्न मिल्छ ? लोकतन्त्रको मूल्य मान्यता यही हुन्छ ?’ उनले प्रश्न गरे । निर्वाचन परिणाम अविलम्ब सार्वजनिक गरियोस्, उनले माग गरे ।  
आयोगले मत परिणाम सार्वजनिक नगरेर विवाद चुलिने बिन्दुसम्म नपुग्ने आश्वासन दिएको उनले बताए । जनादेश दिन ढिलाइ हुँदा सरकार निर्माण प्रक्रिया अवरुद्ध भएको उनले बताए ।  
‘प्रतिनिधिसभा निर्वाचन परिणाम तुरुन्त सार्वजनिक गरियोस्,’ नेता रावलले भने,  ‘कुनै पनि निकायले परिणाम बाहिर ननिकालेर राख्ने हो भने लोकतन्त्रका लागि हानिकारक हुनेछ ।’
निर्वाचन आयोगले राष्ट्रियसभाको चुनावको मिति घोषणा गर्न प्रधानमन्त्रीलाई आग्रह गरिसकेको छ । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवसहित पाँचैजना आयुक्तले गत शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष भेटेर यस्तो आग्रह गरेका थिए ।
दलहरुले छिटो गर्नुप¥यो भन्ने आग्रह गरेको आयोगका प्रवक्ता दिनेशकुमार घिमिरेले बताए । ‘आयोग संविधान, कानुनअनुसार अगाडि बढेको हो, कुनै ढिलाइ गरेको छैन,’ उनले भने, ‘राष्ट्रियसभा गठन नभई मत परिणाम सार्वजनिक गर्न गाह्रो छ ।’
कानुनअनुसार आयोगको परामर्शमा सरकारले राष्ट्रियसभा चुनावको घोषणा गर्ने प्रावधान छ । आयोगले चुनावका लागि ३५ देखि ४० दिन समय चाहिने मागसहित सरकारसँग आग्रह गरेको बताएको छ ।

प्रकाशित: १८ पुस २०७४ ०३:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App