coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रतिनिधिसभामा १० र राष्ट्रियसभामा ३ समिति प्रस्ताव

काठमाडौं- प्रतिनिधिसभा र राष्ट्रियसभामा विषयगत र विशेष गरी १३ वटा समिति प्रस्ताव गरिएको छ । संंघीय संसद् सचिवालयले संसद्को प्रारम्भिक नियमावली मस्यौदा तयार गर्ने क्रममा समितिको संख्या प्रस्ताव गरेको हो । प्रतिनिधिसभाको संख्या घटेको र प्रदेशसभामा पनि समितिहरू रहने भएपछि समितिको संख्या बढाउने प्रस्ताव गरिएको छ ।  प्रतिनिधिसभामा २ सय ७५ र राष्ट्रियसभामा ५९ सदस्य रहनेछन् ।
यसअघि ६ सय १ सदस्य रहेको व्यवस्थापिका संसद्मा १२ विषयगत समिति र ३ विशेष समिति थिए । प्रस्तावित नियमावली मस्यौदामा प्रतिनिधिसभातर्फ विषयगत ७ र विशेष समिति ३ गरी १० वटा समिति राख्ने प्रस्ताव गरिएको छ । राष्ट्रियसभामा भने ३ समिति राख्ने प्रस्ताव छ ।
प्रतिनिधिसभाका समितिमा यसअघिका विषयगत समितिहरू सार्वजनिक लेखा समिति, राज्य व्यवस्था समिति र अर्थ समितिका नाम परिवर्तन नगर्ने र बाँकी समितिमा नयाँ नामकरण गर्ने प्रस्ताव गरिएको छ ।   प्रस्तावित विशेष समितिमा भने संसदीय सुनुवाइ विशेष समिति, अनुगमन र मूल्यांकन विशेष समिति र महाभियोग सिफारिस समिति छन् । यसअघिका संसद्का विशेष समितिमा संसदीय सुनुवाइ विशेष समिति, सुरक्षा विशेष समिति र महाभियोग सिफारिस समिति थिए ।
राष्ट्रियसभामा सुशासन तथा अनुगमन समिति, विधेयक समिति र दिगो विकास समिति राख्ने प्रस्ताव गरिएको छ ।
संघीय संसद् सचिवालयले तयार पारेको नियमावलीको प्रारम्भिक मस्यौदालाई नियमावली मस्यौदा समितिमा प्रस्तुत गरिने सचिवालय स्रोतले जानकारी दियो । सांसदहरू सदस्य रहेको नियमावली मस्यौदा समितिलाई संसद्को बैठकले नियमावली तयार गर्ने जिम्मेवारी दिनुपर्नेछ । नियमावली मस्यौदा समितिले  संविधानले दिएको अधिकारभित्र रही राष्ट्रिय र अन्तर्राष्ट्रिय अभ्यासलाई अध्ययन गरेपछि मात्रै नियमावली तयार गर्नुपर्दछ । नियमावली मस्यौदा समितिले मस्यौदा तयार गरी सदनमा प्रस्तुत गर्नुपर्दछ । सदनले स्वीकृत गरेपछि मात्रै त्यसले कार्यान्वयनमा आउनेछ ।

प्रकाशित: १८ पुस २०७४ ०३:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App