खोटाङ– रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङ, छार्काकी रेनुका राईले खुत्रुके बचत सुरु गरेकी छन् । तीन हप्ताअघि खुत्रुके ल्याएकी राईले बन्दाकोभीको बेर्ना बेचेर आएको रकममध्ये दुई सय ५० रुपैयाँ जम्मा गरिसकेको बताइन् ।
छार्काकै ७७ वर्षका सूर्यप्रसाद शर्माले केरा बेचेर आएको केही रकम खुत्रुकेमा बचत गरिसकेका छन् । खसी, कुखुरा, अण्डा, फलफूल, तरकारी बेचेर आएको केही रकम खुत्रुकेमा हाल्ने गरेको शर्माले बताए ।
यी बाहेक वैदेशिक रोजगारीमा संलग्न छार्काका २० घर स्थानीयले गत कात्तिकदेखि खुत्रुके बचत थालेका हुन् । विदेशबाट आफन्तले पठाएको र व्यापार, व्यवसायबाट हात परेको पैसा बचत गरेर उत्पादनमूलक काममा लगाउन नसकिएको चर्चा चलिरहेको बेला छार्काका स्थानीय फजुल खर्च रोक्ने प्रयासमा जुटेका हुन् ।
वैदेशिक रोजगारीका विषयमा परामर्श दिँदै आएको सुरक्षित आप्रवासन परियोजना (सामी) र बाल सेवा समाजको साझेदारीमा गाउँमा सञ्चालन गरिएको वित्तीय साक्षरता कक्षामा सहभागी भएपछि खुत्रुके बचत थालेको उनीहरु बताउँछन् ।
कक्षामा सहभागी छार्काका २० घरका कोही न कोही सदस्य वैदेशिक रोजगारीमा छन् । विदेशबाट वा अन्य ठाउँबाट आएको पैसा सुरक्षित तरिकाले बुझ्ने, बचत गर्ने र उचित तरिकाले खर्च गर्ने बानीको अभाव रहेको बेला सञ्चालित साक्षरता कक्षापछि खुत्रुके बचत थालिएको सहभागी भक्तकुमारी राईले बताइन् । हात परेका पैसाको केही अंश बचत गरेर आपतविपतमा उपयोग गर्न खुत्रुके बचत अभियान प्रभावकारी बन्दै गएको स्थानीय बताउँछन् ।
‘हाम्रो बचत गर्ने बानी थिएन, कक्षा लिएपछि खुत्रुके ल्याएर बचत गर्न थालेका हौं,’ भक्तकुमारीले भनिन् ।
विदेशबाट आउने रकम उचित ठाउँमा प्रयोग हुन नसक्दा त्यसले आर्थिक समस्या हटाउन नसकेका प्रशस्त उदाहरण छन् । रेमिटेन्स सदुपयोग नगरेकै कारण विदेशबाट फर्किएको केही समयमै पहिलेकै अवस्थामा फर्केका पनि थुप्रै भेटिन्छन् । यही समस्या हल गर्दै रेमिटेन्स बचतमा प्रोत्साहित गर्न रुपाकोट मझुवागढी नगरपालिकाका स्थानीयका लागि वित्तीय साक्षरता कक्षा चलाइएको कक्षाका सहजकर्ता मिनप्रसाद आचार्यले बताए ।
कक्षापछि उनीहरुले विदेशबाट र अन्य स्रोतबाट आएको पैसाको दैनिक हिसाब–किताब पासबुकमै लेखेर राख्न थालेका छन् । बालबालिकामा समेत बचत गर्ने बानी विकास गर्ने लक्ष्य छ । साक्षरता कक्षामा सहभागी बनेपछि विदेशमोह त्यागेर वसन्त राईले कुखुरा र तरकारी खेती गरेका छन् । बिरम्फुला राईले राँगापालन, लक्ष्मी थापाले बाख्रापालन, विदेशबाट फर्किएका तारानाथ आचार्यले मिल सञ्चालन र तरकारी खेती गरेका छन् ।
स्थानीले साथमा भएको ५–१० रुपैयाँ पैसा खर्च गर्नुको सट्टा खुत्रुकेमा हाल्न थालेका छन् । कतिपयले रक्सी बेचेको पैसा समेत खुत्रुकेमा राख्ने गरेको पाइएको छ ।
प्रकाशित: १८ पुस २०७४ ०१:५१ मंगलबार