८ वैशाख २०८१ शनिबार
खेल

मदन भण्डारी स्पोर्ट्सको क्रिकेट एकेडेमी

काठमाडौं– नवौं स्थापना दिवसको अवसर पारेर मदन भण्डारी स्पोटर्स एकेडेमीले सोमबार काठमाडौं क्रिकेट एकेडेमी सञ्चालनमा ल्याएको छ । बानेश्वरस्थित ओमकारेश्वर चोकमा स्थापना गरिएको एकेडेमीको उद्घाटन पूर्वसभामुख सुवासचन्द नेम्वाङले गरेका थिए ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक जगत टमाटाले बलिङ तथा नेम्वाङले ब्याटिङ गर्दै एकेडेमीको उद्घाटन गरेका थिए । २ रोपनी जग्गामा फैलिएको एकेडेमीमा ३ वटा अभ्यास पिच छन् । राष्ट्रिय टोलीका पूर्वसदस्य प्रदीप ऐरीले एकेडेमीमा प्रशिक्षण दिनेछन् । पहिलो पटक ब्याट समातेको भन्दै नेम्वाङले नयाँ सरकारले खेलकुदलाई विशेष महत्व दिने बताए ।
‘क्रिकेटलाई परबाट धेरै हेरेको थिएँ । आज यहाँ बल र ब्याट छुने अवसर पाएँ । लक्ष्यअनुसारको उपलब्धि हासिल गरे मात्र संस्थाको अर्थ र महत्व रहन्छ । अब बन्ने बाम गठबन्धनको सरकारले खेलकुदलाई विशेष महत्व दिनेछ,’ सम्बोधनका क्रममा नेम्वाङले नेपाली क्रिकेट खेलाडीको प्रशंसा गर्दै भने, ‘सीमित स्रोत र साधनका बावजुद पनि नेपाली खेलाडीले हासिल गरेको उपलब्धि अतुलनीय छ ।’
सोही अवसरमा काठमाडौंमै करिब एक महिनाअघि सम्मपन्न त्रिदेशीय ह्विलचेयर क्रिकेट प्रतियोगिताको उपाधि जित्न सफल नेपाली टोलीलाई एकेडेमीले ५० हजार रुपैयाँ नगदसहित सम्मान गरेको थियो । त्यस्तै मोरक्कोमा भएको सेल्फ डिफेन्स मार्सल आर्टमा रजत पदक जितेकी सन्जु महर्जन तथा बेलारुसमा सम्पन्न आइटिएफ तेक्वान्दोमा कांस्य पदक जित्न सफल अन्जना शिवाकोटीलाई पनि एकेडेमीले सम्मान ग¥यो । 
प्रसाईको नेतृत्वमा मार्सलआट विभाग 
मदन भण्डारी स्पोर्ट्स एकेडेमीले सोमबारै ओमकृष्ण प्रसार्इंको संयोजकत्वमा ४६ सदस्यीय मदन भण्डारी मार्सलआर्ट विभाग गठन गरेको छ । नवगठित विभागका पदाधिकारीलाई एकेडेमीका अध्यक्ष विनोद श्रेष्ठले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए । नेपाल कराते महासंघका सचिव समेत रहेका ओमकृष्ण प्रसार्इंको संयोजकत्वमा गठित विभागको सचिवमा किरण गौतम रहेका छन् । सदस्यहरुमा सोतोकान करातेका महासचिव श्याम शेर्पा, करातेका सहायक प्रशिक्षक माधव घिमिरे, विनोद राना, सन्जु महर्जन, अन्जना शिवाकोटीलगायत रहेका छन् ।

 

प्रकाशित: १८ पुस २०७४ ०१:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App