८ वैशाख २०८१ शनिबार
समाज

लागूऔषधसहित ३ युवा पक्राउ

उदयपुर- उदयपुर प्रहरीले लागू औषधसहित ३ जनालाई पक्राउ गरेको छ। गाईघाट–लाहान सडक खण्डमा चल्ने सवारी साधनमा नियमित चेकजाँच गर्ने क्रममा आईतबार राती सय थान भन्दा बढी बिभिन्न खाले लागू औषधसहित उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

पक्राउ पर्नेमा त्रियुगा नगरपालिका १३ का २८ वर्षीय आशिश कार्की, त्रिनपा ६ जलजलेका २४ वर्षीय सुरेन्द्र दास र त्रिनपा १० बोक्सेका सागर भुजेल रहेका छन् । उनीहरुको साथबाट लुपिजेसिक ३५ थान, फेनारगन ३४ थान र डाईजेल्याप ३७ थान बरामद भएको प्रहरी प्रमुख एसपी नवराज भट्टले बताए।

प्रहरीले सोमबार दिउँसो पत्रकार सम्मेलनको आयोजना गरी उनीहरुलाई सार्वजनिक गरेको हो। काठमाडौंबाट गाईघाट आउँदै गरेको टाटा सुमोमा सवार उनीहरुलाई जलजले नाकामा नियमति चेकजाँच गर्ने क्रममा पक्राउ गरिएको सम्मेलनमा जानकारी गराइयो। राति ८: ०० बजे पक्राउ उनीहरु प्रहरीको आँखा छल्न बसस्टेण्डभन्दा फरक ठाउँ सडक खण्डको बीचबीचमा गएर गाडी चढेर आउने क्रममा पक्राउ परेको प्रहरीले जनाएको छ।

पक्राउमध्ये २ जना कारोबारी र एकजना भने सहयोगी भएको प्रहरी भनाई छ । कार्की र भुजेल लागू औषध कारोबारी आरोपमा पटके मुद्दा खेपिसकेका हुन् भने दास भने उनीहरुको सहयोगीको रुपमा देखिएकाले प्रयोगकर्ता मात्र भएको अनुमान प्रारम्भिक अनुसन्धानबाट खुलेको भट्टले बताए । उनीहरु तीनैजनामाथि लागू औषधविरुद्धको ऐन अनुसार अदालतबाट सोमबारै म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ ।

पछिल्लो ४ महिनायता प्रहरीले लागू औषधविरुद्ध कडा निगरानी बढाएसँगै जिल्लामा दुव्र्यसनी र कारोबारमा संलग्नहरु उल्लेख्य संख्यामा पक्राउ पर्दै आएका छन् । प्रहरीले गत १० गते मात्र ६० थानबढी लागू औषधसहित ५ जनालाई पक्राउ गरेको थियो । त्यसअघि पनि १ सय १२ जनालाई पक्राउ गरिएकोमा ५६ जनाविरुद्ध मुद्दा दायर गर्दा २० जना पुर्पक्षका लागि थुना आदेश पाएका छन् । ८७ जना भने अनुसन्धानपछि रिहा भएको एसपी भट्टले बताए।

 

 

प्रकाशित: १७ पुस २०७४ १०:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App