७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

नयाँ दिल्लीमा झन बाक्लियो हुस्सु, हवाई र रेल सेवा अवरुद्ध

नयाँ दिल्ली-  नयाँ दिल्लीमा बाक्लो हुस्सुका कारण सोमबार हवाई र रेलसेवा अवरुद्ध भएको  छ ।

भारतकाे  राजधानी नयाँ दिल्ली र यस वरपरका स्थानमा आइतबार बिहानैदेखि लागेको बाक्लो हुस्सुको मात्रा नघटेको र झन बढ्दै गएपछि विमान र रेलसेवा अवरुद्ध हुन पुगेको अधिकारीहरुले जानकारी दिएका छन् ।

एक हप्तादेखि नै नयाँ दिल्लीमा हुस्सु लागेको थियो । हुस्सुको मात्रा आइतबार बिहानदेखि झन बढेको समाचारमा जनाइएको छ ।

नयाँ दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार बिहान भर्नुपर्ने १२ वटा उडान अवरुद्ध भएका छन् । इन्दिरा गान्धी विमानस्थलमा अवतरण हुनुपर्ने र र उड्नुपर्ने विमानहरु उड्न नसकेको बताइएको छ ।

सोमबार बिहान उक्त विमानस्थलका पाँच वटा आन्तरिक र सात वटा अन्तर्राष्ट्रिय उडानहरु अवरुद्ध भएको भारतीय अधिकारीहरुले जानकारी दिएका छन् ।

बाक्लो हुस्सुको कारण रेलसेवा पनि अवरुद्ध भएको छ । बाटो नदेखिनेगरी लागेको हुस्सुले गर्दा नयाँ दिल्लीको रेलसेवा पनि अवरुद्ध भएको छ ।

नयाँ दिल्ली रेलवे स्टेसन र पुरानो दिल्ली रेलवे स्टेसनका करिब ९० वटा रेलसेवा सोमबार बिहानमा मात्र अवरुद्ध भएको बताइएको छ ।

भारतको राजधानी नयाँ दिल्लीभरका करिब ५६ वटा रेल सेवालाई ढिला गरिएको, २० वटाको समय परिवर्तन गरिएको र १५ वटा रेलसेवा रद्द नै गरिएको उत्तरी रेलसेवाका अधिकारीले जनाएका छन् ।

नयाँ दिल्लीका कैयौँ स्थानमा वायु प्रदुषणको मात्रा बढ्दै गएको अधिकारीहरुले जनाएका छन् । यहाँको तापक्रम र हुस्सुको मात्रा दुवै घट्ने मौसम विज्ञान विभागले जनाएको छ ।

उत्तरी भारतमा जाडो याममा, डिसेम्बर र जनवरीमा हुस्सु लाग्ने क्रम निरन्तरजस्तो हुदै आएको छ । पछिल्ला वर्षहरुमा यहाँ बढ्दो प्रदुषणका कारण हुस्सु लाग्ने गरेको बताइन्छ ।

यस्तो समयमा सडक दुर्घटनाको सम्भावना हुने भएकोले रेलसेवा लगायतका सवारी सञ्चालन जोखिमपूर्ण हुने पनि बताइएको छ ।रासस

प्रकाशित: १७ पुस २०७४ १०:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App