त्रिवि परिसरमा गाई चर्छन्, कक्षाभित्र कुकुर

मङ्गलबार, २५ साउन २०७३, ०७ : ३५ रुबी रौनियार

काठमाडौं- कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय केन्द्रमा बगैंचे, कुचीकार, चौकीदारलगायत कर्मचारी नै साढे दुई सय कार्यरत छन्। विश्वविद्यालयको बाहिरी वातावरण व्यवस्थित र सफासुग्घर बनाउने जिम्मेवारी रहेका उनीहरूको तलब र सेवासुविधामा बर्सेनि साढे ७ करोड रुपैयाँ खर्च हुन्छ।

कर्मचारी र खर्चको अनुपातमा त्रिवि क्षेत्र जति व्यवस्थित र सफा हुनुपर्ने हो, त्यो भने छैन। यही गैरजिम्मेवारीकै कारण मुलुककै जेठो विश्वविद्यालय परिसर छाडा पशुको चरनस्थलमा परिणत हुँदै छ। भुस्याहा कुकुरको बिगबिगी उत्तिकै छ।

विश्वविद्यालय कर्मचारी महाशाखाका उपप्रशासक विष्णु अर्यालका अनुसार प्रिन्सिपल कार्यालयमा मात्र बगैंचे, चौकीदार र कुचीकार गरी ३९ कार्यालय सहयोगी छन्। कर्मचारीले आफ्नो जिम्मेवारी पूरा नगर्नुका साथै सम्बन्धित निकायले पनि यसतर्फ चासो नदिँदा त्रिविको बिजोग भएको उनले जनाए।

'केन्द्रीय कार्यालयका ३२ विभाग, चार अनुसन्धान केन्द्र, प्रिन्सिपल कार्यालय, पाठ्यक्रम विकास केन्द्र, पुस्तकालयमा समेत गरी साढे दुई सय कार्यालय सहयोगी छन्,' उपप्रशासक अर्यालले नागरिकसँग भने, 'यी कर्मचारीलाई १२ महिनाको तलब, दसैं पेस्की र २ महिनाबराबरको युटिलिटी गरी वार्षिक सात करोड रुपैयाँ खर्च हुन्छ।'

अव्यवस्था भने यतिसम्म छ कि पढाइ भइरहेकै समयमा गाई र कुकुर सरासर कक्षाकोठा छिर्छन्। यस्तो समस्याले आजित विद्यार्थी र प्राध्यापकले पटकपटक गुनासो गरे पनि व्यवस्थापनले सुनुवाइ गरेको छैन।

त्यसो त विश्वविद्यालय परिसर नै कुनै खुला सार्वजनिक स्थानभन्दा फरक छैन। कक्षाकोठा जाने बाटोभरि घाँस बढेर झाडी बनिसकेको छ। 'लामो घाँसमा अल्भि्कएर साथी उर्मिला सापकोटा लडिन्, उनको घुँडामा घाउ नै लाग्यो,' ऐच्छिक नेपाली पहिलो सेमेस्टर पढ्दै गरेकी रजनी खत्रीले गुनासो गरिन्, 'मानविकी विभाग वरिपरि गाईको गोबर कहिल्यै टुट्दैन, कतिपटक चिप्लिसक्यौं, कपडा फोहर भएको छ।'

बर्खायाममा बाटो पोखरीजस्तै बन्छ, त्यति मात्र होइन, कक्षाकोठाभित्रै भल पसेर सास्ती दिन्छ। शिक्षकले पढाइरहेकै बेला कुकुरको हुल पसेर दुःख दिने गरेको अर्की छात्रा सिर्जना सुवेदीले बताइन्। 'बिहान १० देखि साँझ ५ बजेसम्म हामीले यहीँ बिताउनुपर्छ,' स्नातकोत्तर तेस्रो सेमेस्टरकै विद्यार्थी सुवेदीले भनिन्, 'गाउँमा छँँदा आफूले भविष्यमा पढ्ने ठाउँ निकै राम्रो होला भन्ने लाग्थ्यो, यहाँ आएपछि निकै फोहर ठाउँमा आएको महसुस भयो।'

विश्वविद्यालय परिसरमा मोटरसाइकल सिक्नेहरूको त्रास पनि उत्तिकै छ। पाल्पाकी सुनीता न्यौपानेलाई डरैडरमा कलेजसम्म पुग्नुपर्ने बाध्यता छ। 'हामी आउने बाटोमै सिकारुहरू बाइक सिकिरहेका हुन्छन्,' उनले भनिन्, 'थुप्रैचोटि अलिकतिले दुर्घटनाबाट बचेका छौं, जोखिम मोलेर अध्ययन गर्नुपर्ने अवस्था छ।'

त्रिवि संस्कृत विभाग सहप्रध्यापक माधवप्रसाद उपाध्याय चौपायाको प्रवेशले विद्यार्थी मात्र होइन, प्रध्यापकले पनि उत्तिकै हैरानी खेप्नुपरेको बताउँछन्। डिन, उपकुलपति, प्रिन्सिपललगायत कार्यालयवरिपरि नै गाई चरेको देख्दा विदेशीहरूले आश्चर्य मान्ने गरेको उनको भनाइ छ। 'हाम्रो विश्वविद्यालय अब 'काउ एन्ड डग युनिभर्सिटी' का नामले चिनिन थालेको छ,' सहप्रध्यापक उपाध्यायले भने, 'बाहिरी व्यक्ति सरासर प्रवेश गरेर विद्यार्थीलाई पठनपाठनमा अवरोध गर्छन्।' विश्वविद्यालय व्यवस्थापकीय पक्ष कमजोर भएकै कारण आफूहरू असुरक्षित रहेको उनले बताए।

विश्वविद्यालयका कर्मचारी प्रशासन शाखा प्रमुख वासु गिरीका अनुसार सरसफाइ र चालक तहका मात्रै २ हजार ८ सय कर्मचारीको दरबन्दी छ। हाल १ हजार ६ सय कार्यरत छन्। उचित व्यवस्थापन गर्न नसकेकै कारण विश्वविद्यालय अस्तव्यस्त भएको उनले स्विकारे। 'कुचिकार, बगैंचे, पिउन, पालेलगायत सेवाका लागि विश्वविद्यालयमा हाल पर्याप्त  कर्मचारी छन्,' गिरीले भने, 'विश्वविद्यालय र स्थानीयबीच द्वन्द्वका कारण पनि विश्वविद्यालयको सुरक्षा व्यवस्थापनमा चुनौती थपिएको छ।'

संस्कृत विभाग प्रमुख नारायण गौतमले त्रिविका विद्यार्थी र शिक्षक मात्र होइन, सवारीसाधन पनि सुरक्षित नरहेको गुनासो गरे। उनका अनुसार स्थानीय डनहरू टोली बनाएर त्रिवि प्रवेश गरी जथाभाबी क्रिकेट खेल्छन्। बलले लागेर बाइक तथा गाडीका सिसा फुट्ने गरेका छन्।

'स्थानीय डनहरू हाम्रो विभागअघि आएर जुनसुकै बेला क्रिकेट खेल्न थाल्छन्,' गौतमले भने, 'त्रिवि प्रशासन मूकदर्शक बन्छ। बलले झ्यालका सिसा फुट्छ, विद्यार्थी घाइते हुन्छन्, हाम्रा बाइक तोडफोड गरिन्छ। सम्बन्धित निकायलाई उजुरी गर्दा कुनै पहल भएको छैन।'

त्रिवि सामान्य प्रशासन प्रमुख विष्णु थपलिया भने सुरक्षासम्बन्धमा आएका गुनासा व्यवस्थापन गर्न लागिरहेको दाबी गर्छन्। त्रिवि प्रशासनले कीर्तिपुर प्रहरी कार्यालयसँग समन्वय गरी सुरक्षा व्यवस्था मिलाउन प्रयास थालेको उनको भनाइ छ।

'त्रिविभित्र गुट्खा बेच्ने र बाइक सिक्नेलाई नियन्त्रण गर्न प्रहरीसँग सहयोग मागेका छौं,' उनले नागरिकसँग भने, 'गाईबस्तु जथाभाबी छिर्न नदिन तयारी भइरहेको छ, स्थानीयसँग समन्वय गरेर अघि बढ्छौं।'








यसमा तपाईको मत

अन्य समाचार

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

लामो समयदेखि कपडा व्यवसायमा संलग्न रुपेश पाण्डेले पछिल्लो समय ब्रान्डेड कपडा ल्याएर बिक्री गर्दै आएका छन् । ...

भन्सार छलीको चिनी नियन्त्रणमा

भन्सार छलीको चिनी नियन्त्रणमा

भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल ल्याएको करिब डेढ लाखको चिनी प्रहरीले बरामद गरेको छ । ...

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

राष्ट्रिय बिमा कम्पनीले थप नयाँ दुई बिमालेख बजारमा ल्याउने भएको छ । ...

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकले लगानीकर्तालाई १७.८९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । ...

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा चन्द्रशेखर खड्का नियुक्त भएका छन् । ...

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपोले आफ्नो रेनो सिरिज अन्तर्गतको रेनोटू एफ नेपाली बजारमा सार्वजनिक गर्ने मिति घोषणा गरेको छ। ...

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्ट सरफेस डुवो र माइक्रोसफ्ट सरफेस नियो सार्वजनिक गरेर प्रविधिको जगतलाई आश्चर्य चकित पारेको छ ...

एप्पलले सोचेभन्दा धेरै आइफोन ११ को माग

एप्पलले सोचेभन्दा धेरै आइफोन ११ को माग

एप्पलको नयाँ आइफोन - आइफोन ११ को माग निकै उच्च रहेको छ ! ...

Ncell Footer Ad