८ वैशाख २०८१ शनिबार
राजनीति

कांग्रेसमा भाँडभैलो, गुटैपिच्छे मेलमिलाप दिवस

काठमाडौं- नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको आन्तरिक विवाद तीव्र बनेको छ । अध्यक्ष नैनसिंह महराले संघलाई एकलौटी ढंगबाट अघि बढाएको भन्दै असन्तुष्ट पक्षले आइतबार समानान्तर कार्यक्रम गरेपछि विवाद सतहमा आएको हो ।
४१ औं राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा केन्द्रीय समितिले राजधानीको राष्ट्रियसभा गृहमा कार्यक्रम आयोजना गरेकै समयमा असन्तुष्ट पक्षले काठमाडौं जिल्ला समितिको आयोजनामा त्रिचन्द्र क्याम्पसमा छुट्टै कार्यक्रम गरेको छ । केन्द्रीय समितिले पार्टी सभापति शेरबहादुर देउवालाई प्रमुख अतिथि बनाएको थियो भने असन्तुष्ट पक्षले पार्टी पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई प्रमुख अतिथि बनाएको थियो ।
प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति देउवाले निर्वाचन परिणामलाई लिएर निराश नहुन नेता तथा कार्यकर्तालाई आग्रह गरे । ‘म बूढो त निराश भएको छैन । तपाईंहरु निरास हुनुपर्ने कारण छैन,’ उनले भने, ‘समानुपातिकमा पार्टीले राम्रै मत पाएको छ ।’
पार्टी पराजित हुनुको कारण पत्ता लगाउन उच्चस्तरीय छानबिन समिति बनाउने देउवाले बताए । ‘स्थानीय निकायमा अन्तर्घात गर्नेलाई कारबाही नगरेका कारण अहिले धेरै अन्तर्घात भयो । अन्तर्घात गर्नेमाथि कडाभन्दा कडा कारबाही हुन्छ । छानबिन निष्पक्ष तरिकाले हुन्छ ।’
निर्वाचनमा पार्टी पराजयको जिम्मेवारी लिँदै नेतृत्व छाड्नुपर्ने आवाज विभिन्न तहबाट आइरहेका बेला देउवाले त्यसप्रति असन्तुष्टि जनाए । ‘अहिले तँतँ मम गरेर कोही बलियो हुँदैन । केही हुनेवाला पनि छैन,’ देउवाले भने, ‘हाम्रै कारण र हामीले नै हामीलाई हराएका हौं ।’
निर्वाचनमा पराजित पार्टी नेताहरु नै विरोधमा उत्रिएकोप्रति संकेत गर्दै देउवाले भने, ‘आफू हार्ने अनि मेरो विरोध गर्नुको कुनै तकु छैन ।’ शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा पार्टीका केही युवा नेताहरुले पार्टी नेतृत्वको आलोचना गर्दै नेतृत्व छाड्न आग्रह गरेका थिए । ‘कांग्रेसभित्र मेलमिलापसहितको अनुशासन जरुरी छ,’ देउवाले भने, ‘जथाभाबी गर्ने अधिकार कसैलाई छैन ।’
त्रिचन्द्रमा आयोजित अर्को कार्यक्रममा पूर्वमहामन्त्री सिंहले पार्टी विधिविधानअनुसार चल्न नसक्दा निर्वाचनमा सोचे जस्तो परिणाम आउन नसकेको आरोप लगाए । महाधिवेशन भएको दुई वर्ष बित्न लाग्दासमेत पार्टी केन्द्रीय समितिले पूर्णता पाउन नसकेको सुनाउँदै सिंहले दुई महिनामा गर्नुपर्ने काम दुई वर्षमा पनि गर्न नसकेको बताए ।
‘पार्टी संस्थागत ढंगले चल्न नसक्दा निर्वाचनमा कमजोर नतिजा आयो,’ उनले भने, ‘पार्टी बिरामी भएको छ । यसलाई निको पार्न अब राम्रो डाक्टर आवश्यक छ ।’
संघका असन्तुष्ट पक्षले ‘बलियो कांग्रेसका लागि सशक्त नेविसंघ’ आवश्यक रहेको भन्दै अहिलेको नेतृत्वले सबैलाई समेट्न नसकेको आरोप लगाए । ‘अध्यक्षले सबैलाई समेटेर अघि बढ्न पनि सक्नु भएन,’ संघका नेता दीपक भट्टराईले भने, ‘संगठनभित्रै बृहत् मेलमिलाप आवश्यक भएकाले हामीले समानान्तर कार्यक्रम गरेका हांै ।’
२०३३ साल पुस १६ गते बिपी कोइराला राष्ट्रिय मेलमिलापको नीतिसहित भारत निर्वासनबाट स्वदेश फर्केका थिए । त्यसकै सम्झनामा कांग्रेसले हरेक वर्ष मेलमिलाप दिवस मनाउँदै आएको छ । आइतबार पनि कांग्रेसले राजधानीसहित सबै जिल्लामा विभिन्न कार्यक्रमसहित मेलमिलाप दिवस बनाएको छ ।

प्रकाशित: १७ पुस २०७४ ०३:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App