७ वैशाख २०८१ शुक्रबार
समाज

हबल्दारलाई सघाएको आरोपमा सई पक्राउ

काठमाडौं- भ्रष्टाचारको प्रमाण नष्ट गर्न सशस्त्र प्रहरी बलको प्रधान कार्यालयमा योजनाबद्ध रुपमा आगो लगाएको खुलेपछि सई हुमबहादुर थापा पक्राउ परेका छन् । यसअघि सशस्त्रका हबल्दार रामकृष्ण श्रेष्ठ पक्राउ परिसकेका छन् ।

सशस्त्रमा ढुवानीको आवरणमा भएको अनियमिततामा पूर्व चार आइजिपीले विशेष अदालतमा मुद्दा खेपिरहेका छन् ।

प्रमाण नष्ट गर्न आगजनी गरेको आरोपमा श्रेष्ठलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको महानगरीय प्रहरी अपराध महाशाखाले श्रेष्ठसँगै लेखा शाखामा कार्यरत सई थापाको समेत संलग्नता देखिएपछि आइतबार उनलाई पक्राउ गरेको हो ।
अनुसन्धानका क्रममा महाशाखाले ढुवानीबापतको भुक्तानी रकममा अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान अगाडि बढाएपछि श्रेष्ठले ढुवानी भुक्तानीसम्बन्धी फाइल स्टोर रुममा मट्टीतेल छर्किएर आगो लगाएको निष्कर्ष निकालेको थियो ।
अनुसन्धानअनुसार आयोगले बयान लिएर ढुवानीसम्बन्धी भुक्तानीको फाइल मगाएपछि आफू फस्ने भएपछि श्रेष्ठले मध्यरातमा आफैंले आगो लगाएका थिए । महाशाखाले आगलागीमा पोलेको श्रेष्ठको हात, कपडा र उनको बयानलाई प्रमाण बनाएको थियो ।
हबल्दार श्रेष्ठ थापा मातहतका कर्मचारी हुन् । ढुवानी भुक्तानीबापतको प्रमाण नष्ट गर्दा थापालाई समेत फाइदा पुगेको देखिएपछि घटनामा संलग्नताको अनुसन्धानका लागि पक्राउ गरिएको महाशाखा प्रमुख एसएसपी दिवेश लोहनीले जानकारी दिए ।
पुस ३ गते बेलुका सशस्त्र बलको हलचोकमा रहेको हेडक्र्वाटरको खेलमैदाननजिकैको स्टोर रुममा आगो लागेको थियो । प्रारम्भमा विद्युत् सर्ट भएर आगो लागेको बताइए पनि घटना शंकास्पद भन्दै सशस्त्रले एआइजी प्रेम शाहीको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो भने महाशाखाले समेत अनुसन्धान सुरु गरेको थियो ।
सशस्त्रमा ढुवानीको आवरणमा भएको अनियमिततामा पूर्व चार आइजिपी नै विशेष अदालतमा मुद्दा खेपिरहेका छन् । पूर्वआइजिपी कोषराज वन्त, सनतकुमार बस्नेत, शैलेन्द्रकुमार श्रेष्ठ र वासुदेव ओलीलगायतका सशस्त्रका दर्जनांै कर्मचारी ढुवानी अनियमिततामा धरौटीमा छन् । हबल्दार श्रेष्ठले जलाएको फाइलमा उनीहरुको कार्यकालमा भएको ढुवानी भुक्तानीसम्बन्धी प्रमाण भए–नभएको खुल्न सकेको छैन ।
अख्तियारले ढुवानीको आवरणमा भएको भ्रष्टाचारको फाइल औपचारिक रुपमा खोल्दा २०७२ पुस २ वन्त निलम्बनमा परेका थिए । बयानका क्रममा उनले पूर्व आइजिपी बस्नेत ओली र श्रेष्ठको नामसमेत पोलेपछि अख्तियारले सबैलाई अनुसन्धानको दायरामा ल्याउँदा दोषी देखिएको भन्दै विशेषमा मुद्दा दायर गरेको थियो ।
अनुसन्धानमा उनीहरुले लेखा शाखा र भण्डारका कर्मचारीलाई परिचालन गरेर ढुवानीसम्बन्धी बिल आफैं छाप्ने गरेको समेत खुलेको थियो । अख्तियारले वन्तविरुद्ध ६ करोड बस्नेतविरुद्ध ८ करोड, वलीविरुद्ध १ करोड १४ लाख, श्रेष्ठको नाममा एक करोडको बिगो माग दाबी गरेपछि उनीहरु धरौटी तिरेर मुक्त भएका थिए । यी सबैको मुद्दा विशेष अदालतमा जारी छ ।
श्रेष्ठसँगै सई थापासमेत पक्राउ परेपछि प्रहरीले विशेष पुगिसकेको मुद्दामा यसको सम्बन्ध छ या छैन भन्ने कोणबाट समेत अनुसन्धान अगाडि बढाएको छ ।

ढुवानी अनियमिततामा तानिएका यी हुन्
सशस्त्रको लत्ताकपडा तथा बन्दोबस्तीको सामान ढुवानीका लागि बलबाट करोडौं रकम ढुवानीमा खर्च हुने गरेको थियो । अख्तियारमा उजुरी परेपछि अनुसन्धान हुँदा ढुवानी भुक्तानीबापतका बिल सशस्त्रका तत्कालीन प्रमुखहरुले नक्कली बनाएर आफैंले लिने गरेको खुलेको थियो ।
वन्तबाट सुरु भएको अनुसन्धान उनीअगाडिका ३ पूर्व प्रमुखसम्म पुग्दा सशस्त्रका सबै आइजिपीले आफ्नो कार्यकालमा ढुवानीको आवरणमा भ्रष्टाचार गर्ने गरेको खुलेको थियो ।
वलीले आफ्नो कार्यकालमा संगठनमा कार्यरत नै नभएका कर्मचारीका नाममा ढुवानी प्रयोजनका लागि भन्दै एक करोड चौध लाख पेस्की निकालेको खुलेको थियो ।
नौ महिनामात्रै आइजिपी भएका श्रेष्ठको पालामा भएका भुक्तानीसमेत अनुसन्धानमा तानिँदा उनीसहित तत्कालीन लेखा प्रमुख प्रहरी निरीक्षक तकमान महरा, भण्डार शाखा प्रमुख सई रामचन्द्र श्रेष्ठ र अदिति ट्रान्सपोर्टका सञ्चालक भरतकुमार थापासमेत तानिएका थिए ।
वन्तलाई सघाएको भन्दै उनीसँगै डिएसपी सुमनजंग थापा, रामकृष्ण महर्जन र प्रहरी निरीक्षक विनयबहादुर थापासमेत भ्रष्टाचारमा तानिएका थिए । बस्नेतको कार्यकाल २०६६ देखि २०६८ सम्ममा ढुवानीको आवरणमा ९ करोड १५ लाख अनियमितता भएको अख्तियारले खुलाएको थियो ।
अख्तियारले उनको सहयोगीको अभियोगमा प्रहरी निरीक्षकहरु बिनबहादुर थापा, मनुहीरा महत, शिवबहादुर अधिकारी, सई देवेन्द्रकुमार श्रेष्ठ,  नीलबहादुर श्रेष्ठ र लेखबहादुर श्रेष्ठलाई अभियुक्त बनाएको थियो ।
‘अनुसन्धान प्रारम्भ भएपछि यस जोजो जोडिन्छन् उनीहरु अनुसन्धानको दायरामा आउँछन्,’ एसएसपी लोहनीले भने, ‘अहिलेको अनुसन्धानमा खुलेका पक्राउ गरेका हौं, अनुसन्धानमा अरु पनि संलग्न देखिए पक्राउ पर्छन् ।’

 

प्रकाशित: १७ पुस २०७४ ०३:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App