७ वैशाख २०८१ शुक्रबार
राजनीति

मन्त्रीले भनेजस्तो नगर्दा सरुवा

काठमाडौं- बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले सचिवको सरुवाको निर्णय गर्दै खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव कृष्णराज विसीलाई शान्ती तथा पुनर्निर्माण मन्त्रालय र उक्त मन्त्रालयका सचिव गजेन्द्रकुमार ठाकुरलाई खानेपानी तथा सरसफाइ मन्त्रालयमा सरुवा गरिएको छ ।
शुक्रबार सचिव कृष्णराज विसी खानेपानी मन्त्रालयको एक कार्यक्रममा विराटनगरमा थिए । सचिव विसीले न सरुवाको पत्र बुझेका थिए, न मन्त्रालयबाट न बिदाई गरिएको थियो । तर, सरुवा निर्णयको भोलिपल्टै गत शुक्रबारै पुनर्निर्माण मन्त्रालयका सचिव ठाकुर भने खानेपानी मन्त्रालयमा हाजिर गर्न पुगे ।
सचिव विसीलाई हटाएर ठाकुरलाई ल्याउने ‘खेल’ खानेपानी मन्त्री महेन्द्र यादवले नै गरेका स्रोतको दाबी छ । स्रोतका अनुसार विसीले मन्त्री यादवको चाहना अनुसार काम नगर्दा हटाइएको हो । मन्त्री यादव र सचिवबीच राम्रो सम्बन्ध नभएको पनि स्रोतको दाबी छ ।
मन्त्री यादवले खानेपानी संस्थानमा पदाधिकारी नियुक्तिदेखि ठेकेदारको संरक्षण समेतको विषय उठाउँदै आएका थिए । सचिव विसीले भने कानुनी रूपमा जानुपर्ने भन्दै मन्त्रीको चाहना अनुसार काम गरेका थिएनन् ।
मन्त्री यादवले संस्थानमा पनि ठाडो नियुक्ति गर्न सचिव विसीलाई अह्राएका थिए । तर, सचिव विसीले संस्थानमा पदाधिकारी नियुक्तीको विषयलाई प्रक्रियागत ढंगबाट अगाडि बढाए । उक्त प्रक्रिया अहिले कानुन मन्त्रालयसम्म पुगेको छ ।
उता मन्त्री यादव भने सचिव सरुवाको विषय ठूलो नभएको बताउँछन् । ‘कर्मचारी सरुवा नियमित प्रक्रिया हो,’ मन्त्री यादवले भने, ‘यसलाई ठूलो विषय नलिनु होला ।’ मन्त्री यादवले सचिव विसीसँग त्यस्तो केही नभएको दाबी गरे । ‘उहाँ र मेराबीच त्यस्तो नराम्रो केही भएको छैन,’ उनले भने, ‘उहाँ नापी विभागबाट आउनु भएको हो, नापीबाट आएको मान्छेलाई खानेपानीमा काम गर्न केही असहज भएको चाहीँ हो ।’ खानेपानीका सचिव  भीम उपाध्यायको अवकासपछि सचिव जिसी खानेपानी मन्त्रालय आएका थिए ।
खानेपानी मन्त्रालय आएपछि मन्त्रालयको हितमै काम गरिरहेको सचिव जिसीले बताए । ‘एक्कासी सरुवा गरिएछ । मैले त केही दिनपछि मात्रै थाहा पाएँ,’ उनले भने । आपूmले मन्त्रालयमा रहेर कुनै नराम्रो काम नगरेको उनले बताए ।
स्रोतका अनुसार मन्त्री यादवले पहिले नै ससचिव ठाकुरलाई खानेपानीमा ल्याउन चाहे पनि निर्वाचन आचार संहिताले गर्दा त्यसो गर्न सकेका थिएनन् । चुनाव सकिएर सरकार काम चलाउ भइसकेपछि पनि आपूm निकट सचिव ल्याएर मन्त्री यादवले आपूm अनुकूलको निर्णय गराउन खोजेको स्रोतको अनुमान छ ।

प्रकाशित: १७ पुस २०७४ ०२:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App