coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

निर्वाचनमा असहयोगी कर्मचारीलाई कारबाही सिफारिस

सिन्धुपाल्चोक-  गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा असहयोग गर्ने ८७ कर्मचारी कारबाही सिफारिसमा परेका छन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले उनीहरुलाई कारबाही गर्न निर्वाचन आयोगमा सिफारिस गरी पठाएको हो । ‘असहयोगी कर्मचारीलाई बिभागीय कार्वाही गर्न सिफारिस गरी आयोगमा लेखी पठाएका छौँ,’ निर्वाचन सकिएपछि त्यसको समीक्षा गर्न आइतबार आयोजित पत्रकार भेटघाटमा मुख्य निर्वाचन अधिकृत दीपक खनालले भने।

उनले निर्वाचन गराउने अभिभारा सुम्पेर खटाएको मतदान केन्द्रमा नजाने कर्मचारी कारबाही सिफारिसमा परेका हुन् । खनालको अनुसार धेरै कर्मचारी खटाएको केन्द्रमा गएनन् भने केही कर्मचारी सरुवा भएको भन्दै त्यसको जानकारी कार्यालयमा नदिएर निर्वाचनमा असहयोग गरे।

 ‘कारबाही सिफारिसमा पर्नेमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र सहयोगीसम्म छन्,’ उनले भने। उनीहरुको दोषको प्रकृति हेरी आयोगले विभागीय कारबाहीका लागि सम्वन्धित विभागमा अनुरोध गर्ने खनालले जनाए । जिल्ला न्यायाधीश खनालका अनुसार बिभागीय कार्वाहीका लागि सचेत गराउने, नसिहत दिने, बढुवा, तलवभत्ता रोक्का गर्ने लगायत व्यवस्था छ।

प्रतिनिधिसभा क्षेत्र नं. १ तर्फ ५० र क्षेत्र नं. २मा ३८ कर्मचारी बिनासम्पर्क र जानकारी खटाएको मतदान केन्द्रमा गएका थिएनन्। निर्वाचन सम्पन्न प्रयोजनका लागि गत असोज २९ गते खोलिएको कार्यालय शुक्रबार बन्द भएपछि मुख्य निर्वाचन, निर्वाचन अधिकृतले सञ्चारकर्मीसँग चुनावको समीक्षा गरेका हुन्।

निर्वाचनमा साढे ६ करोड खर्च

सिन्धुपाल्चोकका दुई प्रतिनिधिसभा र चार प्रदेशसभा सदस्यको निर्वाचन गराउन झण्डै ६ करोड ५० लाख रुपैयाँ खर्च भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

कार्यालयको व्यवस्थापन र निर्वाचनमा खटिने कर्मचारीको सुविधा तथा भत्तामा उक्त रकम खर्च भएको मुख्य निर्वाचन अधिकृत खनालले बताए । उनका अनुसार निर्वाचन अधिकृतको कार्यालयमा खटिने कर्मचारी, सुरक्षाकर्मी, मतदान केन्द्र र मतगणनामा परिचालन भएका कर्मचारी, सुरक्षाकर्मीको सेवा, सुविधा र व्यवस्थापन बजेट खर्च भएको छ।

निर्वाचन अधिकृतको कार्यालय मात्रैले गरेको यो खर्चमा जिल्ला निर्वाचन कार्यालय र म्यादी प्रहरीका लागि गरिएको खर्च जोडिएको छैन । ‘बजेट त केही बढी आएको थियो तर साढे ६ करोड रुपैयाँ जति खर्च भएको प्रारम्भिक हिसावकितावले देखाउँछ,’ उनले भने।

भद्धा प्रचार शैली

लगातार पछिल्ला तीन निर्वाचन सम्पन्न गराएका मुख्य निर्वाचन अधिकृत खनालले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवारहरुले भद्धा प्रचार शैली अपनाएको प्रतिक्रिया दिए।

 ‘अघिल्ला दुइटा संविधानसभा चुनाव पनि गराएँ,’ उनले भने, ‘तर यो पटकको जस्तो भद्धा प्रचार शैली देखेको थिईन ।’ यो पटकको चुनावमा उम्मेदवारहरुले राजमार्ग र मुख्य बजारका सडक अवरोध होला जसरी प्रचार सामग्रीले ढाकिएको उनले बताए । उम्मेदवारहरुले निर्वाचन ऐनले तोकेभन्दा निकै धेरै खर्च गरेको तर्फ संकेत गर्दै खनालले भने, ‘निर्वाचनमा कति खर्च भयो भन्ने चाहीँ उम्मेदवारहरु नै जान्नु होला!’

प्रकाशित: १६ पुस २०७४ १३:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App