काठमाडौं- ढेड वर्षअघिको शक्तिशाली भूकम्प र त्यसपछिको नाकाबन्दीका कारण मुलुकमा विदेशी जुत्ता, चप्पलको प्रभाव बढ्यो। मुलुकमा सञ्चालनमा रहेका उद्योग भूकम्पका कारण ६ महिना र नाकाबन्दीका कारण अर्को ६ महिना प्रभावित भए । यही मौकामा विदेशी ले नेपाली बजार लियो।
देख्दा आकर्षक र सस्तो खालका यी ग्राहकलाई भन्दा पहिला बिक्रेताको आँखा पर्यो। यसको कारण थियो, स्वदेशी उत्पादनभन्दा आयातित बाट हुने धेरै फाइदा। ‘फाइदा धेरै हुने हुँदा बिक्रेताले विदेशी बिक्री गर्न चाहन्छन्,’ फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपालका अध्यक्ष रविनकुमार श्रेष्ठ भन्छन्, ‘उपभोक्ताले अत्यधिक मन पराएका स्वेदेशी खुद्रा व्यवसायीका लागि धेरै नाफाका कारण मारमा परेका छन्।’
झन्डै २० अर्ब रुपैयाँ लगानी भएको यो उद्योग ‘गर या डुब’ भन्ने अवस्थामा छ । राज्यले यस उद्योगलाई विशेष ध्यान दिने, उद्योगीले नयाँ प्रविधिलाई अपनाउने, बिक्रेताले नेपाली उत्पादनलाई प्राथमिकतामा राखेर बिक्री गर्ने हो भने छोटो समयमै माथि उठ्न सक्ने व्यवसायी बताउँछन् ।
उद्योगमा बैंकहरूको लगानी आठ अर्ब रुपैयाँ पुगिसकेको छ । त्यस्तै यहाँ वार्षिक आठ करोड जोर को माग रहेको छ । जसमध्ये नेपाली उत्पादनले अहिले ६२ प्रतिशतको पूरा गरिरहेको अवस्था छ । नेपालीको जुत्ता, चप्पल खपत पनि बढ्दै गएको छ । श्रेष्ठका अनुसार प्रत्येक नेपालीले वार्षिक सरदर साढे दुई जोर जुत्ता, चप्पल लगाउने अनुमान छ ।
जुत्ता, चप्पलका लागि अहिलेसम्म आयातमै भर परेको यो उद्योगमा अब कच्चा पदार्थ उत्पादन गर्ने उद्योग पनि थपिन थालेका छन् । केडिया अर्गनाइजेसनले नेपालमै पहिलो यति रेग्जिन स्थापना गरेर वार्षिक १५ लाख मिटर पिभिसी लेदर क्लोथ बिक्री गरिरहेको छ । कच्चा पदार्थ मागको ३० प्रतिशत स्वदेशबाट परिपूर्ति हुने अवस्थामा पुगेको छ । कच्चा पदार्थको उद्योगसँगै अब नेपाली जुत्ता पूर्ण ‘मेड इन नेपाल’ बनेको छ ।
‘एन्टी डम्पिङ एक्ट’ आवश्यक
केही सयमअघि नेपाली जुत्ता, चप्पल व्यवसायी श्रीलंकाको एक प्रदर्शनीमा भाग लिन त्यहाँ पुगेका थिए । त्यो प्रदर्शनीबाट त्यहाँका उपभोक्ताले नेपाली जुत्ता, चप्पललाई खुबै मन पराएका थिए । नेपाली जुत्ता, चप्पल राम्रो हुँदाहुँदै पनि श्रीलंकामा बजार लिन भने सकेन् । यसको कारण हो श्रीलंकाले आफ्नो उत्पादनदलाई विदेशीसँग प्रतिस्पर्धी हुने गरी तयार गरेको छ ।
श्रेष्ठका अनुसार श्रीलंकाले आफ्नो उत्पादनलाई बजार प्रतिस्पर्धी बनाउन एन्टिडम्पिङ एक्ट लगाएको छ । जसले उसको उत्पादन बजारमा राम्रोसँग प्रतिस्पर्धा गर्न सक्छ ।
त्यस्तै किसिमको ऐन नेपालमा पनि लागू हुनुपर्ने मत राख्छन् अध्यक्ष श्रेष्ठ । ‘अब नेपाली उद्योगलाई बचाउने हो भने राज्यले केही कदम चाल्नैपर्छ,’ श्रेष्ठले भने, ‘विदेशी जुत्ता, चप्पलको प्रभाव रोक्ने नेपालले पनि एन्टिडम्पिङ एक्ट लगाउनु पर्छ ।’
यो ऐन लागू हुने बित्तिकै न्यून बिजकीकरण गरेर सस्तो मूल्यमा आउने गुणस्तरहीन जुत्ता, चप्पलको आयातमा कमी आउने उनले बताए ।
योसँगै सरकारले निजामती कर्मचारी, सेना, प्रहरी, सशस्त्र लगायत सुरक्षा निकायलाई पनि स्वदेशी जुत्ता, चप्पल प्रयोग गर्न नियम बनाउनुपर्ने उनको धारणा छ । यसो गरेमा छोटो समयमै नेपाली जुत्ता, चप्पल उद्योग फस्टाउने उनको अनुमान छ ।
तीन प्रकारका जुत्ता, चप्पल उद्योग
मुलुकमा हाल तीन प्रकारका जुत्ता, चप्पल उद्योग रहेका छन् । पहिलो हो परम्परागत रुपमा चल्दै आएका जुत्ता, चप्पल व्यवसाय । आधुनिक रुपमा विशेष महŒव राख्न जुत्ता, चप्पल परम्परागत रुपबाट चल्दै आएको चलन हो । पहिला पहिला यी उद्योगमा सामान्य किसिमका जुत्ता, चप्पल उत्पादन हुन्थे ।
परम्परागत रुपमा चल्दै आएको उक्त उत्पादनहरू अहिले पनि निरन्तर रहेका छन् । ‘परम्परागत रुपमा चल्दै आएका यस्ता उद्योग हजारौं छन्,’ फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपालका अध्यक्ष रविनकुमार श्रेष्ठले भने, ‘सानो संख्यामा उत्पादन हुन् यी उद्योग परम्परागत पेसाको रुपमा लिन सकिन्छ ।’
उनका अनुसार यी उद्योग एक पुस्ताबाट अर्कोमा हस्तान्तरण हुँदै आएका छन् । लगानी नथप्ने तर आफ्नो जिविका निर्वाहका लागि यस्ता स–साना उत्पादन गाउँघरमा चल्दै आएका छन् । कतिपय परिवारले यस्ता उत्पादन गर्न छाडे भने कतिपयले निरन्तर गर्दै आएका छन् । यस्ता उद्योग कति होलान् भनेर अनुमान गर्न गाह्रो हुने भए पनि हजारौंको संख्यामा रहेको श्रेष्ठको भनाइ छ ।
अर्को प्रकारका उद्योग हो घरेलु तथा लघु उद्योग । परम्परागत रुपमा चल्दै आएको आफ्नो व्यवसायलाई अलि केही बढाएर परिवारको आम्दानीको स्रोतका रुपमा यी उद्योग सञ्चालनमा छन् । कसैले साना मेसिन प्रयोग गरेका छन् भने कतिले मेसिनको प्रयोग नगरी उद्योग सञ्चालन गरिरहेका छन् । घरेलु उद्योगका रुपमा चलेका यी उद्योग सरकारी तथ्यांकमा दर्ता भने भएका छैनन् । यी उद्योग पनि कति संख्यामा छन् भनेर यकिन गर्न नसकिने श्रेष्ठ बताउँछन् ।
तेस्रो किसिमको भनेका व्यावसायिक रुपमा आएका कर्पोरेट कम्पनी हुन् । जुन औपचारिक रुपमा दर्ता भएर ठूलो लगानीसहित बजारमा प्रतिस्पर्धामा गरिरहेका छन् । ‘यो किसिमका उद्योगले हाम्रो बजारको मागलाई ध्यानमा राखेर जुत्ता, चप्पल उत्पादन गरिरहेका छन्,’ श्रेष्ठले भने, ‘यी उद्योगले नै मुलुकको जुत्ता, चप्पल उद्योगलाई अगाडि बढाइरहेका छन् ।’
श्रेष्ठका अनुसार यस्ता उद्योग कम्पनी रजिस्ट्रार कार्यालय र घरेलु तथा साना उद्योग विभागमा दर्ता भएका छन् । दर्ता भएका यी उद्योगको संख्या एक हजार पाँच सयभन्दा माथि नरहेको उनको भनाइ छ ।
निर्यात २२ प्रतिशतले घट्यो
मुलुकमा आत्मनिर्भरतातिर लम्किरहेको जुत्ता, चप्पलको निर्यात भने खस्केको छ । गत आर्थिक वर्ष ०७३÷७४ मा जुत्ता, चप्पलको निर्यात २२.४ प्रतिशतले घटेको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्यांकमा उल्लेख छ । अघिल्लो आव ०७२÷७३ मा एक अर्ब ६० करोड ३३ लाख रुपैयाँ बराबरको निर्यात भएको जुत्ता, चप्पल गत वर्ष भने एक अर्ब २४ करोड ३५ लाख रुपैयाँको निर्यात भएको केन्द्रले जनाएको छ ।
जुत्तासँगै छालाबाट बनेका ज्याकेट, पर्स, ब्याग, फेल्ट, ऊनीका जुत्ता चप्पल पनि निर्यात भइरहेका छन् । नेपाली भारत, चीन, भुटान लगायत देशमा निर्यात भइरहेका छन् । नेपालबाट खासगरी किरण सुज म्यानुफ्याक्चरका गोल्डस्टार जुत्ता निर्यात धेरै भइरहेको छ । त्यसबाहेक घरभित्र लगाउने फेल्टको जुत्ता युरोपको बजारमा पनि जाने गरेको व्यवसायीको भनाइ छ ।
आत्मनिर्भरताको बाटोमा रहेका नेपाली छाला जुत्ता, चप्पलले स्वदेशको मागमध्ये भूकम्पअघिसम्म झन्डै ६५ प्रतिशत पूरा गरिरहेको थियो । दुर्भाग्य, गत वर्षको भूकम्प र नाकाबन्दीले व्यवसाय नै ओरालो लाग्ने अवस्था आएको छ ।
६ महिना भूकम्पले उद्योग बन्द भए,’ एसोसिएसनका वरिष्ठ उपाध्यक्ष कृष्ण फुँयालले भने, ‘अर्को ६ महिना भारतले लगायएको नाकाबन्दीले उद्योगलाई ध्वस्त बनायो ।’ यी दुई घटनापछि नेपाल जुत्ता, चप्पल उद्योगलाई क्षतिमात्र पुर्याएन यही बेला विदेशी जुत्ता, चप्पल आयात बढ्यो ।
मुलुकमा अभावको बेलामा सरकारले सबै आयातमा खुकुलो बनाउँदा विदेशी जुत्ता, चप्पलले नेपाली बजार लिएको फुँयालको भनाइ छ । ‘भूकम्पअघिसम्म नेपाली जुत्ता, चप्पलले मागको ७० प्रतिशत पूरा गरेको थियो,’ फुँयालले भने, ‘अहिले यो घटेर ६०–६२ मा झरेको छ ।’
पछिल्लो सयम भारतको खुला सीमाले गर्दा चोरीपैठारी बढेको छ । खुला विश्व बजार भएकाले आयात निर्यात भइरहने हुँदा आयात रोक्न नसके पनि स्वदेशलाई चाहिने जुत्ता नेपालमै उत्पादन गर्न सक्ने क्षमता भने रहेको व्यवसायी बताउँछन् ।
अझै धेरै गर्न बाँकी छ
केही संख्यामा नेपाली जुत्ता निर्यात हुने गरेको भएपनि छालाबाट उच्चस्तरका केही जुत्ताको माग पूरा गर्न सकेको अवस्था छैन । बजार मागलाई अझै पनि केही पूरा गर्न बाँकी छ । बजारमा खोजिने उच्च डिजाइनिङ, लेडिज जुत्ता, चप्पलको माग बाहिरबाट पूरा भइरहेका छन् । उपभोक्ताले खोजे अनुसारको जुत्ता, चप्पल उपलब्ध गराउन नसकेको अवस्था छ । यसको लागि प्रविधि, गुणस्तर र तालिमको आवश्यकता छ ।
पछिल्लो समय जुत्ता, चप्पल उत्पादनसँगै यसलाई चाहिने कच्चा पदार्थ पनि तयार हँुदै गएकाले केही वर्षभित्रै छाला जुत्ता, चप्पल उद्योग आत्मनिर्भर हुने व्यवसायीको भनाइ छ । जुत्ता, चप्पल उद्योगसँग हामीलाई चाहिने सहायक कच्चा पदार्थ उत्पादन उद्योग पनि स्थापना हुँदै छन् । अहिले स्वदेशमा चाहिने सोलमा आत्मनिर्भर भइसकेको छ । कच्चा पदार्थ उत्पादन गर्ने उद्योग पनि थपिँदै गएका छन् ।
जुत्ता बनाउन चाहिने तीन–चार थरीका सोलमध्ये पिभिसी र पियु सोल नेपालमै बन्न थालेका हुन् । जुत्तामा सबैभन्दा धेरै प्रयोग हुने पियु सोल उत्पादन गर्ने उद्योग नेपालमै स्थापना हुन थालेका छन् । जुत्ता प्याक गर्ने बक्स र जुत्तामा प्रयोग गरिने कटन क्यानभास पनि काठमाडौंकै कपडा प्रयोग गर्न थालिएको छ ।
जुत्ता, चप्पल बनाउनका लागि ३० देखि ३५ प्रकारका कच्चा पदार्थ आवश्यक पर्छ । त्यसमध्ये झन्डै २० प्रतिशत कच्चा पदार्थ नेपालमा पाइने र अरु सबै बाहिरबाट ल्याउनुपर्ने अवस्था छ ।
जुत्ता, चप्पल बनाउनका लागि चाहिने छाला, सोल, केमिकल लगायत कच्चा पदार्थ भारत, पाकिस्तान, चीनबाट ल्याइन्छ । उच्चस्तरका कच्चा छाला प्रशोधन मेसिन, डिजाइनिङ प्रविधिलाई उद्योगीसँग सरकारले पनि प्राथमिकतामा राख्नुपर्ने व्यवसायीको भनाइ छ । आधुनिक मेसिन, छाला प्रशोधन गर्ने ठूला मेसिन स्थापना गर्न ठूलो लगानी गर्न सक्ने अवस्था नभएकाले सरकारले पहल गर्नुपर्ने व्यवसायी बताउँछन् ।
प्रकाशित: १६ पुस २०७४ १२:५० आइतबार