७ वैशाख २०८१ शुक्रबार
समाज

सीसी क्यामराले काम नगरेपछि मन्दिरको सुरक्षामा चुनौती

चन्दननाथ मन्दिरमा राखिएको काम नगर्ने सिसी क्यामरा । तस्बिर : डिबी बुढा

जुम्ला – कर्णालीकै प्रशिद्ध चन्दननाथ मन्दिरमा मुर्ति चोरी भएसंगै मन्दिर भित्रका क्रियाकलाप निगरानीका लागि सिसि क्यामरा जडान गरिएको भएपनि काम नगर्दा समस्या देखिएको छ । सिसि क्यामरा जडान गरिएको एक वर्ष सम्म पनि एउटा फुटेज रेकर्ड हुन सकेको छैन । सिसि क्यामराको लागि आवश्यक पर्ने सौर्य उर्जाको व्यवस्था नहुँदा घाम नलागेको दिनमा सिसि क्यामरा चल्दैन।

मन्दिर आसपासका क्षेत्रमा ७ वटा सिसि क्यामरा जडान गरिएको छ, चन्दननाथ भैरवनाथ गुठी व्यवस्थापन समितीका अध्यक्ष तारासिंह कठायतले भने, फुटेज रेकर्ड गर्ने डिविआर मेसिन नहुँदा कामविहीन भएको छ । अहिले पनि मन्दिरको सुरक्षा प्रति हामी विश्वस्त छैनौँ। 

स्थानीय प्रशासनले हवलदारको नेतृत्वमा सुरक्षा विट स्थापना गरेको छ । सिसि क्यामरा मन्दिरका हरेक क्रियाकलाप निगरानी गर्न राखिएको हो, अध्यक्ष कठायतले भने, मन्दिरमा मान्छेको फोटो खिच्न राखेको होइन । दिउँसो बाहिर घमुफिर गरेको तस्बिर हेर्न मिल्छ, उनले भने, तर रेकर्ड नहुँदा सिसि क्यामरा जडान गरेको अर्थ छैन । मन्दिर सुरक्षाको कुनै अनुभूति नै छैन।  

सोलारको क्षमता कति हो,सिसि क्यामराले काम गरे नगरेको बारेमा समितिलाई कुनै जानकारी छैन । गुठी समितिका खरिदार रत्नप्रसाद आचार्यले भने, सुरक्षाका लागि क्यामरा राखिएको भनिएकोछ, तर क्यामराले काम नगर्दा सुरक्षाको अनुभूति हुन सकेको छैन। मन्दिर भित्र बस्ने पुजारी र भक्तहरूले तत्काल रेकर्ड सिस्टम जडान गरेर सुरक्षाको अनुभूति दिलाउन माग गरेका छन । खरिदार आचार्यले भने, स्थानीय प्रशासन, जिल्ला समन्वय समिति र गुठी समितिको समन्वयात्मक भूमिका कम रहेको छ।

तत्कालिन प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितको पहलमा सिसि क्यामरा र मन्दिर सुरक्षामा राम्रो पहल भइरहेको थियो, खरिदार आचार्यले भने, सरकारले प्रजिअ पण्डितको सरुवा गरेसँगै मन्दिरको सपना चकनाचुर बन्यो । सिसी क्यामरा जडानले मुर्त रुप लिन सकेन । प्रजिअ पण्डितले जुम्लाका सांसदसंग समन्वय गरेर जिल्ला समन्वय समितिबाट १० लाख रुपैयाँ मन्दिरको संरक्षणको लागि बजेट व्यवस्था गरेका थिए।

संसदकोषको १० लाखबाट मन्दिरमा ट्वाइलेट, धारा, पुजारी बस्ने कोठा, सुरक्षाकर्मी बस्ने कोठा, मर्मत गरिएको थियो, उनले भने, स्थानीय विकास अधिकारी हरिनारायण वेल्वासेले ३ लाख ७० हजार रुपैयाँ निकासा नगरी गएपछि अहिलेसम्म गुठी समितिले रुपैयाँ पाउन सकेको छैन।  चन्दननाथ नगरपालिकाले ४२ हजार ५ सय रुपैया दिएको थियो।

मन्दिरबाट गत २०७३ मंसिर ११ गते २८ वटा मुर्ति चोरी भएका थिए । अहिलेसम्म ७ धार्नीको चाँदीको वहुमूल्य मुर्ति लागयत ६ वटा मुर्ति भेटिएका छैनन् । प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले आफूलाई मन्दिरको सिसि क्यामराले काम नगरेको विषयमा कुनै जानकारी नभएको बताए । उनले भने, सिसि क्यामराको अवस्थाका बारेमा बुझेर गुठी समितिको बैठक आव्हान भइसकेको प्रतिक्रिया दिए। उनले भने, धार्मिक आस्थाको एकमात्र धरोहर चन्दननाथ मन्दिर भएकोले मन्दिर र मन्दिर भित्रको मुर्ति सुरक्षा गर्ने दायित्व  स्थानीय प्रशासन कार्यालय जुम्लाले पुरा गरेको छ।  

मन्दिरको मुर्ति चोरीको अनुसन्धान गर्ने जिम्मा केन्द्रीय अनुसन्धान व्युरोले लिएपनि खासै प्रभावकारी अनुसन्धान हुन नसकेको स्थानीय बताउँछन् । गुठी समितिले नेताको दवाव र प्रभावमा परेर सिआइबीले अनुसन्धान अघि नबढाएको आरोप लगाएको छ । अध्यक्ष कठायतले भने, अनुसन्धानका बारेमा हामी जानकार छैनौँ, अनुसन्धान प्रतिवेदन सार्वजनिक भएर दोषीलाई कारवाही गर्न माग गर्दछाैँ। 

मुर्ति चोरीमा संलग्न रहेको आरोपमा चन्दननाथ नगरपालिका १ जयकृष्ण आचार्य र मन्दिरका पुजारी चन्द्र मौलेश्वर गिरीलाई जेल चलान गरिसकेको छ। 
 

प्रकाशित: १६ पुस २०७४ ०८:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App