८ वैशाख २०८१ शनिबार
राजनीति

सरकार गठन प्रक्रिया पछि धकेल्ने खेल भयो : ओली

काठमाडौं– नेकपा एमालेले नयाँ सरकार गठनमा जटिलता उत्पन्न गर्न खोजेको भन्दै सरकारसहित विभिन्न निकायको भूमिकाप्रति असन्तुष्टि जनाएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकार निर्माण प्रक्रिया जटिल बनाउन खोजिएको बताएका छन् । प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा एमाले–माओवादी केन्द्र गठबन्धनले नयाँ सरकार गठनका लागि सुविधाजनक बहुमत पाएको छ ।

उपाध्यक्ष वामदेव गौतमद्वारा लिखित पुस्तक विमोचन कार्यक्रमपछि नागरिकलाई संक्षिप्त प्रतिक्रिया दिँदै भावी प्रधानमन्त्रीका रुपमा हेरिएका ओलीले भने, ‘हेर्दै जाऊँ, कति दिन रोक्न सक्दारहेछन् ।’ उनले थपे, ‘सरकारमा जान हतार छैन । हेरौं, अहिलेको सरकारले कति जटिल बनाउन र ढिलो गर्न सक्दोरहेछ ।’ एमालेले औपचारिक रुपमा पटकपटक प्रधानमन्त्री शेरबहादुर देउवालाई सरकार गठनका लागि सहज वातावरण बनाइदिन आग्रह गर्दै आएको छ । 
यसअघि कार्यक्रममा ओलीले विभिन्न संस्था तथा व्यक्ति सरकार गठनका लागि कानुनको अपव्याख्या गर्ने काममा सक्रियता देखाएको आरोप लगाएका थिए । ‘जसले जहाँबाट सक्छ उसैले अवरोध खडा गर्ने, अपव्याख्या गर्र्ने, अल्झाउने काम भएको छ । नयाँ सरकार गठनलाई कसरी पछाडि धकेल्न सकिन्छ भन्नेमा कोही कोहीको ध्यान छ,’ कार्यक्रममा ओलीले भने । 

ओलीले कांग्रेसको नाम नलिई चर्को आलोचना गरे । उनले २०६४ सालको चुनावमा माओवादीले अत्यधिक मत प्राप्त गरे पनि अनेक थरी बहाना गरेर सरकार गठन गर्न नदिइएको र यसपटक पनि त्यस्तै गर्न खोजिएको दाबी गरे । ‘२०६४ चैतमा संविधानसभा चुनावमा माओवादीले अत्यधिक मत ल्यायो तर साउन २९ गते मात्रै नयाँ प्रधानमन्त्री छान्ने काम भयो,’ ओलीले भने, ‘लोकतन्त्र भनेको मुखले भन्ने होइन, व्यवहारमा देखाउने हो ।’ पहिलो संविधानसभा चुनावको समयमा कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री थिए । 

‘७० सालको चुनावमा एमाले दोस्रो भएपछि हामीले कांग्रेसलाई सत्ता सुम्पियौं’, ओलीले भने, ‘संसद्मा बहुमत गुमाएपछि अलिअलि मानिसलाई पैसा बाँड्ने र अलिअलि नियुक्ति गर्ने खुद्रा काममा लाग्नु हुँदैन । सहज रुपमा लोकतन्त्रलाई बढ्न दिनुपर्छ ।’  
एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराई पछिल्लो समयमा निर्वाचन आयोगले परिणाम घोषणा गर्नेसहितका विषयमा समय लम्ब्याउँदै लगेको बताए । ‘आयोगले परिणाम घोषणा गर्न जुन रुपमा आफ्नो सक्रियता देखाउनु पथ्र्यो, त्यो गरेको छैन, प्रतिनिधिसभामा परिणाम घोषणा गर्न ढिलाई ग¥यो,’ भट्टराईले नागरिकसँग भने । 
आयोगले संसद्मा ३३ प्रतिशत महिलाको उपस्थिति सुनिश्चित गर्न प्रतिनिधिसभाको समानुपातिक नतिजा सार्वजनिक गर्नुपहिले राष्ट्रियसभा गठन हुनुपर्ने औंल्याउँदै आएको छ । 

एमालेले भने राष्ट्रियसभामा ३७ प्रतिशत महिला निर्वाचित हुने, राष्ट्रियसभाको क्षतिपूर्ति प्रतिनिधिसभाबाट नहुने भन्दै समानुपातिकतर्फको परिणाम घोषणा गर्न कुनै समस्या नहुने तर्क गर्दै आएको छ । 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पनि सहभागी सो कार्यक्रममा एमाले अध्यक्ष ओलीले प्रतिनिधिसभा तथा प्रदेशसभाको चुनावी परिणाम सार्वजनिक भएपछि नयाँ गठबन्धन बनाउन जोडतोडले खेल भएको बताए । ‘परिणामभन्दा पछिको खेल पनि धुमधामले भएको छ । एउटा लोकतान्त्रिक पार्टीले कुनै नेतालाई अफर गर्छ, पाँच वर्ष तपाईं लैजानुहोस् भन्छ,’ ओलीले भने, ‘यस्तो लोकतन्त्रबारे मेरो केही टिप्पणी छैन ।’ नेपाली कांग्रेसले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई पाँच वर्ष प्रधानमन्त्री बनाउने भन्ने समाचार आएका थिए ।

 

प्रकाशित: १६ पुस २०७४ ०२:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App