८ वैशाख २०८१ शनिबार
अर्थ

होटलमा एकरातका पाहुनाको जमघट

पोखरा घुम्न आएका आन्तरिक पाहुनाको शुक्रबार रातिको लेकसाइडको चहलपहल । आइतबार वर्षकै अधिक पाहुना पोखरामा हुने व्यवसायीले बताएका छन् ।

पोखरा–फेवाताल किनारको गौरीघाटमा शनिबार विहान विदेशी पाहुनाको हुल डुंगा चढ्ने तरखरमा थियो । अंग्रेजी नयाँ वर्षको रमझम चलिरहँदा ती विदेशी पाहुना डुंगामा ताल सयर गर्दै थिए । गौरीघाटमा विदेशी पाहुनाको भीड लागिरहँदा फेवाताल घुम्न सबैजसो घाट (डुंगाघाट) मा स्वदेशी तथा विदेशी पाहुनाको उस्तै जमघट थियो । 

 

न्यु इयर इभ मनाउनुपर्छ भन्ने संस्कार युवापुस्तामा विकास भएको छ । त्यसले गर्दा आन्तरिक पाहुनामा पनि युवापुस्ताको आकर्षण बढेको छ । अंग्रेजी नयाँ वर्ष अब विदेशीको मात्र नभई स्वदेशीले पनि भव्य मनाउन थालेका छन् ।

पर्यटकीय क्षेत्र लेकसाइडमा पाहुनाको भीड निकै नै बढेको छ । यो धेरै दिनका लागि भने होइन । तीन दिनदेखि बढिरहेको भीड जनवरी १ को बिहानदेखि स्वात्तै घट्न थाल्छ । सबैभन्दा बढी भीड डिसेम्बर ३१ (अंग्रेजी वर्षको अन्तिम) रात हुन्छ । त्यो रात पर्यटकीय क्षेत्र लेकसाइड पाहुनाले खचाखच हुने गरी होटलमा बुकिङ आएको छ । 

अंग्रेजी नयाँ वर्ष मनाउन आएका स्वदेशी र विदेशी पाहुनाले गर्दा लेकसाइड भरिभराउ हुने व्यवसायी बताउँछन् । अघिल्ला वर्षभन्दा योपटक पाहुना बढेको उनीहरूको भनाइ छ । विदेशीका लागि अफसिजन मानिए पनि स्वदेशीको भीडले लेकसाइड खचाखच भएको पश्चिमाञ्चल होटल संघका सचिव राजेन्द्र ढकालले बताए । उनका अनुसार ‘न्यू इयर इभ’ का लागि लेकसाइडका होटलका अधिकांश कोठा बुकिङ छन् । 

‘न्यू इयर इभका लागि मात्र पाहुनाको भीड बढी छ । अरू दिनको बुकिङ उतिसारो होइन,’ ढकालले भने, ‘इभको रात पाहुनाको आगमन उच्च हुनेछ ।’ उनका अनुुसार पर्यटकस्तरीय ठूला होटल विदेशी तथा मझौला र साना होटल स्वदेशी पाहुनाले भरिएका छन् । ‘सबै होटलमा शतप्रतिशत पाहुना छन् भन्न सकिन्न । तर, ठूला होटल भरिभराउ छन्,’ ढकालले भने, ‘डिसेम्बर ३१ का लागि ठूला होटलमा कोठा छैनन् ।’ 

‘एक रातका लागि मात्र पोखरामा पाहुनाको भीड लाग्ने गरेको छ,’ ढकालले भने । उनका अनुसार जनवरी १ पछि धेरै पाहुना फर्किन थाल्छन् । ‘विदेशी आफ्नै योजनामा आउजाउ गर्ने हुन् । स्वदेशी भने एक रात रमाउन मात्रै पोखरा आइपुग्छन् । धेरैजसो शनिबार र आइतबार दिउँसो आउँछन्, अनि रातभर पोखरामा रमाएर भोलिपल्ट फर्किन्छन्,’ ढकालले नागरिकसँग भने, ‘न्यू इयर इभ विशेष हुने भन्दै पाहुनाको ओइरो लाग्दा डिसेम्बर ३१ को साँझ त्यो वर्षकै सबैभन्दा बढी भीडभाड हुने रात हुन्छ ।’ 

पुरानो वर्ष सकिएको भोलिपल्टदेखि पाहुना घट्न थाल्ने उनले बताए । ढकाल भन्छन्, ‘बाढी आएजस्तै एकैपटक ह्वात्तै आउँछन्, अनि एकरात रोकिन्छन्, भोलिपल्टै फर्किन थाल्दा कोठा रित्तिन्छन् ।’ करिब शतप्रतिशत रहेको होटल अकुपेन्सी नयाँ वर्षको भोलिपल्ट घटेर करिब ६० प्रतिशतमा झर्ने उनी बताउँछन् । 

रेस्टुरेन्ट एन्ड बार एसोसिएसन अफ नेपाल (रेबान) ले यतिबेला १९ औं संस्करणको पोखरा सडक महोत्सव गरिरहेको छ । पाँचदिने महोत्सव सुरु भएदेखि पोखरामा पाहुना भित्रिन थाल्छन् । सबैभन्दा बढी भीड डिसेम्बर ३१ का दिन लाग्छ । योपटक आइतबार राति अधिक पाहुना भित्रिने व्यवसायीले आंकलन गरिसकेका छन् । 

‘अग्रिम बुकिङ यति धेरै छ कि आइतबारको रात बुकिङ नगरेका पाहुनाले कोठा पाउनसमेत मुस्किल छ,’ रानीबन आर्केडका सञ्चालक हरि भुजेलले भने, ‘एक रात रमाउन मात्र भए पनि पाहुना पोखरा आउँछन् । पाहुनाको आगमनले पोखरालाई चमक दिलाउँछ ।’ पाहुनाको चापले कोठा व्यवस्थापनमा समेत मुस्किल हुने उनले बताए । 

रेबान अध्यक्ष चौबहादुर गुरुङ पोखराको पर्यटनमा एक रातको गतिविधि नै काफी हुने बताउँछन् । अंग्रेजी पुरानो वर्षको बिदाइ र नयाँ वर्षको स्वागतार्थ ठूलो संख्यामा स्वदेशी पाहुना पोखरा भित्रिने उनले बताए । ‘यो बेला विदेशी पाहुना बरु आफ्नो देश फर्किएका हुन्छन् । नेपालमा कार्यरत विदेशी कर्मचारी मात्र पोखरा आउँछन् । घुम्न आएका पाहुना क्रिसमस र न्यु इयर मनाउन स्वदेश फर्किन्छन्,’ उनले भने, ‘त्यही भएर हामीले यो बेला विदेशी पाहुनाका लागि अफसिजन भन्छौं । तर, स्वदेशी पाहुनाले गर्दा सिंगो लेकसाइड चम्किन्छ ।’ 

वर्षको अन्तिम दिन लेकसाइडको करिब ३ किलोमिटर क्षेत्र (सहिदचोकदेखि खहरेसम्म) पूरै पाहुनाले भरिभराउ हुने उनले बताए । ‘हामीलाई पनि यति धेरै मान्छे एकाएक कताबाट आए होलान् जस्तो लाग्छ । यति धेरै पाहुना भित्रिन्छन्, कि, भीड व्यवस्थापनको चिन्ता हुन्छ,’ उनले भने । पाहुनाको यो आगमनले पोखराको लेकसाइडको व्यापार निकै नै उकासिने उनले बताए । उनले पनि आन्तरिक पाहुनाको भीडभाडले लेकसाइड पर्यटनमय बन्ने बताए । ‘वर्षको अन्तिम रातको भीडबाट लेकसाइडले त फाइदा लिएको छ नै आसपासका पर्यटकीय क्षेत्रले पनि यो बेला पाहुना पाउँछन्,’ उनले भने । 
पोखरा पर्यटन परिषद् (पिटिसी) का अध्यक्ष केदारनाथ शर्माले पोखरामा एक रातका लागि खचाखच पाहुना भित्रिनुमा नेपाली नयाँ वर्षभन्दा पनि अंग्रेजी नयाँवर्षको प्रभावले हुन सक्ने बताए । ‘नेपाली नयाँ वर्षमा यतिसारो भीड हुँदैन । तर, अंग्रेजी नयाँ वर्षमा अधिक भीड हुन थालेको छ । योपटकको भीड अझै थामिनसक्नु देखिएको छ,’ शर्माले भने, ‘आन्तरिक पाहुनामा घुम्नुपर्छ भन्ने भावना विकसित भएको छ ।

त्यसबाहेक न्यु इयर इभ मनाउनुपर्छ भन्ने संस्कार युवापुस्तामा विकास भयो ।’ अंग्रेजी नयाँ वर्ष अब विदेशीको मात्र नभई स्वदेशीले पनि भव्य मनाउन थालेका छन् भन्ने यो भीडभाडले देखाएको उनले बताए । उनले एक रातका लागि आएको पाहुनाको भीडले गर्दा पोखराको पर्यटनमा चमक थपिने बताए । प्रत्येक वर्ष अंग्रेजी नयाँ वर्षको यो भीड फैलँदो रहेको परिषद् अध्यक्ष शर्माले बताए । 

 

प्रकाशित: १६ पुस २०७४ ०२:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App