८ वैशाख २०८१ शनिबार
अर्थ

‘सबैको चाहना आर्थिक समृद्धि’

हेटौंडा– नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले उद्योगी व्यवसायीले आर्थिक समृद्धि चाहेको बताएकी छिन् । संविधान निर्माणसँगै सबै तहको निर्वाचन भइसकेको भन्दै उनले दलहरुसँग पनि आर्थिक समृद्धिबाहेक अरु विकल्प नभएको बताइन् ।

मुलुक एकदमै अन्योल, अफ्टेरो र राजनीतिक संक्रमणबाट अगाडि बढिरहेको उल्लेख गर्दै उनले मुलुकमा आर्थिक समृद्धिका लागि सबै एकजुट हुनुपर्ने बताइन् । 

मकवानपुर उद्योग वाणिज्य संघको ५१औं वार्षिक साधारण सभा उद्घाटन सत्रमा उनले अब प्रदेश बलियो हुने भएकाले सरकारले भन्दा पहिले महासंघको विधान संशोधन गरेर उद्योग वाणिज्य प्रदेश संघ गठन गर्ने तयारी भइरहेको उनले जानकारी दिइन् । देशले विकेन्द्रीकरण चाहेको भन्दै उनले हरेक गाउँमा विकास होस्, उद्योग खुलोस् र रोजगारी प्राप्ति होस् भनेर दलहरुले आर्थिक समृद्धिको सपना बाँडेको उनको भनाइ छ । 

महासंघका पूर्वअध्यक्ष चण्डीराज ढकाल र उपाध्यक्षउमेशलाल श्रेष्ठले उद्योगी व्यवसायीलाई हेर्ने दृष्टिकोण परिवर्तन भएमात्र उद्योग व्यवसाय फस्टाउने बताए । ‘उद्योगी व्यवसायीलाई नाफाखोर, कालोबजारी भन्ने सोचाइ व्याप्त छ,’ उपाध्यक्ष श्रेष्ठले भने, ‘नयाँ सरकारले हामीलाई धन जम्मा गर्ने व्यक्ति भनेर चिनाओस् । धनीमात्र होइन, हामी रोजगारदाता पनि हौं ।’ अर्का उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको औद्यागिक क्षेत्रको विकासमा हेटौंडाको फरक पहिचान भएको बताए । उनले हेटौंडा देशकै लाइफलाइनसँगै पर्यटकीय क्षेत्रको प्रचूर सम्भावना भएकाले त्यसतर्फ लाग्न सरकारसँगै उद्योगी व्यवसायीलाई आग्रह गरे ।
कार्यक्रममा मकवानपुर क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य कृष्ण दाहाल र मकवानपुर क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य विरोध खतिवडाले उद्योगी व्यवसायीलाई सुरक्षा र लगानीमैत्री वातावरण बनाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनीहरुले औद्योगिक क्षेत्रको विकासले नै देशको आर्थिक समृद्धि हुने भन्दै उपयुक्त वातावरण बनाउनुपर्नेमा जोड दिए मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा एमालेकी जिल्ला अध्यक्ष मुनु सिग्देल, नेपाल उद्योग वाणिज्य महासंघको महिला उद्यमी विकास समितिकी सभापति कमला श्रेष्ठ, नारायणी यातायात व्यवसायी संघका अध्यक्ष बद्रीप्रसाद चौलागाई लगायतले सरकारले उद्योग व्यवसाय फस्टाउने वातावरण बनाउनुपर्ने र उद्योगी, व्यवसायीले पनि देश र जनताको हितमा काम गर्नुपर्नेमा जोड दिएका थिए । सोमबारसम्म चल्ने मकवानपुर उद्योग वाणिज्य संघको साधारण सभाले नयाँ कार्यसमिति चयन गर्ने बताइएको छ ।

 

प्रकाशित: १६ पुस २०७४ ००:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App