७ वैशाख २०८१ शुक्रबार
राजनीति

नेपालगन्जमा पूर्वराजा र उपप्रधानमन्त्री थापाको गोप्य भेट

पूर्वराजा ज्ञानेन्द्रलाई भेट गरिसकेपछि बाँकेका पत्रकारसँग कुराकानी गर्दै राप्रपा अध्यक्ष कमल थापा। तस्बिर: अर्जुन ओली

नेपालगन्ज- पूर्वराजा ज्ञानेन्द्र शाह आफ्नो परिवार सहित भ्रमणका लागी पश्चिम क्षेत्रमा आएपछि राजसंस्था समर्थकहरु नेपालगन्जमा केन्द्रित भएका छन्। पूर्वराजा ज्ञानेन्द्र आफ्नी पत्नी कोमल, बुहारी हिमानी र छोरी प्रेरणा सहित दुई हप्ता लामो भ्रमणका लागी बिहीबार अपरान्ह नेपालगन्ज आईपुगेका थिए।

  पूर्वराजाको सचिवालयले भ्रमणलाई निजी रहेको बताएपनि ज्ञानेन्द्रले विभिन्न व्यक्तिसँग गरिरहेको भेटघाटबाट उनको आगमनप्रति थप आशंका पैदा गराएको विश्लेषण स्थानीय स्तरमा गर्न थालिएको छ । कारकाँदोमा रहेको होटल सोल्टीमा बस्दै आएका उनलाई भेटघाट गर्न उनका समर्थकहरु दिनहुँ नेपालगन्जमा केन्द्रित हुने गरेका छन्।

राजसंस्थाको पक्षमा खुलेरै वकालत गर्दै आएको राप्रपाका अध्यक्ष कमल थापा पनि शनिबार बिहान नेपालगन्ज आई दिउँसो भेटघाट गरेर राजधानी फर्किए। ‘पूर्वराजा भ्रमणका लागी आउनु र ठिक यही बेलामा राप्रपाका अध्यक्ष कमल थापा आएर भेट्नुलाई सामान्य रुपमा लिन सकिंदैन,’ एक विश्लेषकले भने। कार्यकर्ता भेटघाटको निहुँ पारेर नेपालगन्ज आएका उपप्रधामन्त्री समेत रहेका थापाले दिउँसो होटल सोल्टीमै पुगेर पूर्वराजालाई भेट गरेका थिए। दुबैबीच गोप्य भेटघाट भएको बताइएको छ । राप्रपाका केन्द्रिय सदस्य ऋषिराज देवकोटाले पूर्वराजा र अध्यक्ष थापाबीच गोप्य भेटघाट भएको जानकारी दिए । ‘उहाँहरुबीचको भेटघाट अत्यन्त गोप्य रह्यो,’ उनले भने।

भेट पश्चात पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष थापाले आफु नेपालगन्ज आएको बेला पूर्वराजा पनि यतै रहेको कुरा थाहा पाएको र पूर्वराष्ट्र प्रमुख तथा पूर्वराजाको हैसियतले स्वभाविक रुपले शिष्टाचार भेट गरेको बताए। पूर्वराजाको मध्य र सुदुरपश्चिम भ्रमण रहेको कुरा आफुले भेटका क्रममा मात्र थाहा पाएको थापाले बताए। ‘पूर्वराजाको कुनै राजनीतिक भ्रमण रहेको जस्तो मैले पाएन,’ उनले भने ‘होटलको उद्घाटन र धार्मिक क्षेत्रको भ्रमण गर्ने उद्देश्य रहेको थाहा पाए।’

 भेटका क्रममा देशको परिस्थितीका बारेमा पनि विचार आदान–प्रदान भएको उपप्रधानमन्त्री थापाले बताए । पत्रकारको जिज्ञासामा राप्रपा अध्यक्ष थापाले आफ्नो पार्टीले राजसंस्था र हिन्दु राष्ट्रको एजेण्डालाई अब सडकबाट स्थापित गराउने जिकिर गरे। ‘राप्रपालाई जनताले संसदमा भन्दापनि सडकमै भएको हेर्न रुचाएको जस्तो देखियो, सडकमै जनताले ठाउँ दिएको हुनाले सडकमै हामीले अब हिन्दु राष्ट्र र राष्ट्रियताको एजेण्डालाई सशक्त रुपमा उठाउँछौं,’ उनले भने।

 हिन्दु राष्ट्र र राजसंस्थाको एजेण्डा बोक्ने पार्टीले ३ प्रतिशत पनि भोट ल्याउँदैन भन्ने कल्पना नै नगरेको बताए । राप्रपाको पराजयले संसदमा हिन्दु राष्ट्रको एजेण्डालाई उठाउने, राष्ट्रियताको पक्षमा शसक्त रुपमा आवाज उठाउने शक्तिको उपस्थिती पनि कमजोर भएको दाबी गरे । राप्रपा अध्यक्ष थापा शनिबार बेलुका नै राजधानी फर्किएका छन् ।

 

प्रकाशित: १५ पुस २०७४ १४:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App