७ वैशाख २०८१ शुक्रबार
समाज

पुस १५, कर्णालीको विशेष पर्व

पुस पन्ध्रको रातमा खाने परिकार बनाउँदै तिला ७ की स्थानीय महिला। तस्बिर: डिबी बुढा

जुम्ला- कर्णालीवासीले पुस १५ लाई  विशेष महत्वका साथ मनाउँछन्। वर्षकै लामो रात पुस पन्ध्रमै पर्ने र  रातभरी नसुतेरै जाग्राम बस्दा आयु लम्विने जनविश्वास छ।   सवै भन्दा लामो रात पुस पन्ध्र गते हुने र लामो रात नसुतेर विताउँदा आयु पनि निकै लामो हुने चन्दननाथ नगरपालिका १ तलिचौरका नन्द प्रसाद न्यौपाने बताउँछन्। पुस पन्ध्रको राती  वालवालिका देखि वृद्धवृद्धा सम्मले आफ्नो अनुकुलतामा मिठोमसिनो खाने चलन छ । खेतबारीमा भोज खाने र स्थानीय देउडा खेलेरे सुखदु:ख साट्ने गर्छन। 

   सेलरोटी हाल्ने, खाजा बनाउने, गेडागुडि, माछामासु पकाउने, हलुवा पकाउने चलन छ। जुम्लाको राधे कद्दु (फर्सी) र जुम्ली कद्दु पकाउने र रातभरी हासखेल गर्ने गरेको सस्कृति सम्वन्धी जानकार रमानन्द आचार्य बताउँछन्। उनका अनुसार  १६ गते बिहान घरवाट निस्केर धारा वा गंगाजीमा गएर नुहाई धुवाई गर्छन्। चन्दननाथ नगरपालिका १४ का कमला देवी देवकोटाले असार पन्ध्र सुतेर बिताउने  र पुस पन्ध्र नसुतेर विताउने परम्परागत मान्यता रहेको बताईन।

  अधिकास घरमा पुस पन्ध्र गते राती गहुँको पिठोबाट मालपुवा र अर्सा बनाएर खाने गरिन्छ । सामूहिक रुपमा नुन तेल, दाल, चामल संकलन गरेर घर नजिकैको खेतवारीमा भोज गर्छन्।

  पुरुष भएको स्थानमा महिलाले दौरा सुरुवाल लगाएर नचिनिने भएर जाने र  महिलाहरु भएको स्थानमा पुरुषहरुले महिलाको भेस धारण गरेर लाटालाटीको रुपमा परिकार माग्न गएर एक आपसमा हाँसो मजा  गर्ने चलन रहिआएको छ। कुनै घरमा पर्खालको प्वालवाट लठ्ठि भित्र छिराउने र लठ्ठीमा परिकार बाँधेर पठाईदिने गरिन्छ। पुस पन्ध्र मनाउने परम्परा जिल्लाका पानसय, चौधविस, असी र सिजा दरामा फरक फरक छ।

  रातभर साईतर र गाउँखाने कथा भनिन्छ । पुस पन्ध्रलाई हिउँदको मध्ये सिजनका रुपमा हेरिदै आएको छ ।  अहिले अत्याधिक मदिरा सेवन गर्ने, जुवातास खेल्ने र भाडभैलो गर्ने परम्पराले पुस पन्ध्र मनाउने क्रममा खल्लो हुने गरेको वुढापाकाहरु बताउँछन्।  

 पुस पन्ध्र देखि रात छोटिदै जाने र दिन लामो हुदै जाने विश्वास छ। यो राती चन्द्र सूर्य उत्तर दक्षिण हुन्छन्। पुस १२ गते वेल्कुनी नामकी छोरी माईत गएर पुस पन्ध्रको रात बिताएर १६ गते पोईली घर फर्कने भएकोले यहाँ पनि माईत आएकी छोरी पोईल जाने चलन छ। वेल्कुनी १६ गते माईतबाट हिउँ ल्याएर फर्कने विश्वास छ।  पुस पन्ध्र राती हिउँ परेको खण्डमा त्यो वर्ष अन्नवालीको लागि निकै राम्रो हुने प्रचलन छ। बाह्रै महिना कामको बोझ पर्ने भएकोले फुर्सदिलो दिनका रुपमा पुस पन्ध्र मनाउने गरिन्छ।  पुस पन्ध्रमा  दिदी बहीनीलाई निकै मर्यादाका साथ बसाल्छन।  सखर पञ्जी, तरुल, जुम्ली मार्से, जुम्ली फर्सी, राधे फर्सी काटेर खाने प्रचलन छ।

 

 

 

प्रकाशित: १५ पुस २०७४ ०९:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App