coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

‘अबको यात्रा आर्थिक समृद्धि’

बागलुङ महोत्सव उद्घाटन गर्दै गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्ट ।

बागलुङ– अबको मुख्य अजेन्डा आर्थिक विकास भएको धारणा निजी क्षेत्र र गैरआवासीय नेपालीका प्रतिनिधिले बताएका छन् । बागलुङ उद्योग वाणिज्य संघले आयोजना गरेको बागलुङ महोत्सव २०७४ को उद्घाटन कार्यक्रममा शुक्रबार यस्तो धारणा व्यक्त भएको हो । 

गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष भवन भट्टले एनआरएन समुदाय नेपालको आर्थिक विकासमा सहकार्य गर्न तत्पर रहेको बताए । ‘तपाईंहरु स्पष्ट खाका तयार पार्नुहोस्,’ निजी र सरकारी क्षेत्रप्रति लक्षित गर्दै उनले भने, ‘अब राजनीतिक स्थिरताको संकेत देखिएकाले लगानी भित्र्याउन सकिन्छ ।’

विदेशमा बस्ने नेपालीले कमाएको रकमसँगै विदेशी सरकारको लगानी भित्र्याउन पहल गर्ने उनले बताए । ‘विदेशमा बस्ने नेपालीले कमाएको रकम एउटै फन्डमा जम्मा गरेर नेपालमा लगानी गर्ने विषयमा कुरा चलेको छ,’ उनले भने, ‘हामी केही समयमै यो कुरालाई टुंगोमा पु¥याउँछौं ।’ 

कार्यक्रममा उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकालले अबको अजेन्डा आर्थिक विकास भएको बताए । ‘हामीले आर्थिक विकासको अजेन्डालाई अगाडि बढाइरहेका छौं,’ ढकालले भने, ‘अब सबै तहको निर्वाचन सम्पन्न भइसकेपछि दलहरु पनि हाम्रै अजेन्डामा आइपुगेका छन् ।’ निजी क्षेत्र सहकार्य गर्न तयार रहेकाले अब सबै मिलेर विकासको पाटो पहिल्याउनुपर्ने उनले बताए ।’ बागलुङ जिल्लाको पर्यटन, जलविद्युत्, नेपाली हाते कागजको विकासका लागि सहकार्य गर्न तयार रहेको उनले सुनाए ।
उद्योग वाणिज्य महासंघका उपाध्यक्ष प्रमोद श्रेष्ठले प्रदेश नम्बर ४ कै एउटा व्यापारिक केन्द्रको रुपमा बागलुङलाई विकास गर्नुपर्ने बताए । उत्तरदक्षिण जोड्ने कालिगण्डकी करिडोर सम्पन्न गरेर कोरला नाका सञ्चालन गर्न सके यस क्षेत्र व्यापारिक हबको रुपमा विकास हुने उनले बताए ।
बागलुङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा विजयी माओवादी नेता देवेन्द्र पौडेलले अब पाँच वर्षका लागि स्थिर सरकार बन्ने तयारीमा रहेको र आर्थिक समृद्धिको विकल्प नभएको बताए । ‘हामीले यहाँको विकास र आर्थिक समृद्धिको वाचा गरेर जनसमुदायसँग मत मागेका छौं,’ पौडेलले भने, ‘जनताले जिम्मेवारी हामीलाई सुम्पिएका छन् । अब विकास र आर्थिक समृद्धिको विकल्प छैन ।’
‘कला संस्कृतिको संरक्षण, कृषि, पर्यटन, उद्योग तथा तथा व्यापारको प्रवद्र्धन’ भन्ने नाराका साथ प्रदेश नम्बर ४ स्तरीय  कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेला तथा बागलुङ महोत्सवको आयोजना गरिएको हो । मेलामा जिल्लाका पर्यटकीय गन्तव्यको प्रचार गरिएको संघका अध्यक्ष जयराम भारीले बताए ।
 

 

प्रकाशित: १५ पुस २०७४ ०३:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App