७ वैशाख २०८१ शुक्रबार
राजनीति

प्रमुख निर्वाचन आयुक्तकी बुहारी पनि सांसद

काठमाडौं– प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवकी बुहारी प्रमिलाकुमारी यादव अन्ततः नेकपा माओवादी केन्द्रको कोटाबाट प्रदेश नम्बर २ को प्रदेशसभा सदस्यमा निर्वाचित हुन सफल भएकी छिन् ।

प्रमुख आयुक्त डा. यादवका छोरा अशोक यादवकी श्रीमती प्रमिलालाई माओवादी केन्द्रले प्रदेश नम्बर २ को प्रदेशसभा सदस्य चयन गरी निर्वाचन आयोगलाई विवरण बुझाएको हो । पार्टीका शीर्ष नेता र प्रदेश इन्चार्जहरूको संयुक्त बैठकले प्रमिलालाई समानुपातितर्फ विजयी उम्मेदवार बनाएको हो । प्रमुख आयुक्त डा. यादवले भने छोराबुहारी छुट्टिएर बसेकाले उनीहरू स्वतन्त्र भएको स्पष्टीकरण दिँदै आएका छन् । 

प्रदेश नम्बर २ का लागि माओवादी कोटाबाट सिफारिस भएका ५ जनामध्ये प्रमिलालाई चौथो स्थानमा राखेर विजयी उम्मेदवार बनाइएको हो । उनी यसअघि राजनीतिमा थिइनन् । ‘सप्तरीको कुनै पनि कमिटीमा प्रमिलाजी संगठित भएको देखिनुहुन्न, उहाँलाई माथि (केन्द्रीय स्तर) बाटै प्रदेशसभा सदस्य चयन गरिएको हो,’ सप्तरीका पूर्वसांसद उमेश यादवले नागरिकसँग भने, ‘उहाँ कसरी पर्नुभयो भन्ने कुरा सप्तरी जिल्ला कमिटीलाई थाहा छैन ।’ पार्टीको केन्द्रीय नेतृत्वले गरेको निर्णयमा आफ्नो कुनै पनि प्रतिक्रिया नरहेको यादवको भनाइ छ ।

प्रदेशसभाका लागि माओवादी केन्द्रले पाएका ३५ सिटमध्ये नेताकी श्रीमती, छोरी र बुहारीलाई प्राथमिकतामा राखेर सूची निर्वाचन आयोगमा शुक्रबार बुझाएको छ । जसअनुसार प्रदेश नम्बर ३ का लागि चुनिएकी भावना सुवेदी काठमाडौं–६ बाट उम्मेदवार भई पराजित भएका झक्कु सुवेदीकी छोरी हुन् भने सोही प्रदेशबाट चयन भएकी सीता अधिकारी माओवादीनिकट प्रेस सेन्टरका अध्यक्ष महेश्वर दाहालकी पत्नी हुन् । अधिकारी पत्रकार पनि हुन् । 

त्यसैगरी प्रदेश ६ बाट सिफारिसमा परेकी विमला केसी भने जनार्दन शर्माका भाइबुहारी हुन् भने सोही प्रदेशबाट सांसद भएकी कृष्णा साह मजदुर नेता रामदीप आचार्यकी श्रीमती हुन् । तर, प्रदेश नम्बर २ बाट परेका मोहम्मद समीर व्यापारी हुन् । 
माओवादीले प्रदेश नम्बर १ बाट ५ जना, प्रदेश नम्बर २ बाट ५ जना, प्रदेश नम्बर ३ बाट ८ जना, प्रदेश नम्बर ४ बाट ३ जना, प्रदेश नम्बर ५ बाट ६ जना,  प्रदेश नम्बर ६ बाट ४ जना र प्रदेश ७ बाट ४ जना गरी ३५ जनाको नाम निर्वाचन आयोगमा बुझाइएको अध्यक्ष पुष्पकमल दाहालका प्रेस संयोजक मनहरी तिमल्सिनाले जानकारी दिए । 

प्रदेशसभा सदस्यका लागि छनोट भएकामा प्रदेश १ बाट सीता थेवे, कुशुमकुमारी श्रेष्ठ, सौभाग्य राई, सरस्वती पोखरेल र उमिता विश्वकर्मा छन् । प्रदेश २ बाट जगतप्रसाद यादव, मोहम्मद समीर, रुबीकुमारी कर्ण, प्रमिलाकुमारी यादव र फुलियादेवी सदा छन् । प्रदेश ३ बाट दिनेश महर्जन, आङ्देण्डी लामा, ओम घलान, हिमाली गोले, प्रतिमा श्रेष्ठ, सीता अधिकारी, भावना सुवेदी र कञ्चन खनाल छन् ।

प्रदेश ४ बाट गायत्री गुरुङ, मधु अधिकारी (गुरुङ) र दिलमाया रोकामगर (गौतम छन् । प्रदेश ५ बाट गीता थापा, दामाकुमारी शर्मा, पार्वती पुन (गहतराज), लौटी थारु, दीपा विक र सुष्मा यादव छन् । प्रदेश ६ बाट पुष्पा घर्ती विष्ट, सीताकुमारी नेपाली, विमला केसी र कृष्णा शाह छन् भने प्रदेश ७ बाट निर्मला बडाल (जोशी),  कुन्ती जोशी, विनिता चौधरी र शान्ति नेपाली छन् । 

 

प्रकाशित: १५ पुस २०७४ ०२:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App