७ वैशाख २०८१ शुक्रबार
अन्य

मेयर साब कता ?

काठमाडौं महानगरपालिका बल्ल जागेजस्तो छ । किनभने, यो महानगरपालिकाले पनि अहिले काम सुरु गरेको आभास मिलेको छ । हामीले भर्खरै थाहा पायौँ कि महानगरका नगरपिता र नगरमाताबीच भयंकरै झगडा मच्चिएको छ । यो झगडा मच्चिएबाटै थाहा लागेको छ, महानगरपालिकाले पनि काम गर्न थालेको छ । काम गर्न थालेछ भन्नेबित्तिकै प्रश्न उठ्न सक्छ– के काम गर्न थाल्यो ? अब हेर्नुस्, अहिले भर्खरै नगरपिता र नगरमाताबीच जो झगडा मच्चियो, त्यो पनि एउटा कामै हो, महानगरपालिकाको पहिलो काम । महानगरपालिकाले झगडाबाट आफ्नो पहिलो काम सुरु गरेको छ । 

उहाँहरूबीचको यो झगडालाई जुँगाको लडाइँ भन्न मिल्दैन । किनभने, उहाँहरूबीच जुँगाको लडाइँ हुने कुनै सम्भावनै छैन । हामी सबैले देखेकै छौँ, मेयर साबको जुँगा नै छैन । उहाँ जुँगा पाल्नुहुन्न । उपमेयर म्याडमको जुँगा हुने त झन् कुरै भएन । जसको जुँगा नै छैन, उनीहरूबीच कसरी जुँगाको लडाइँ हुन सक्छ ? 

यसमा केही मानिसको टिप्पणी छ कि अहिले महानगरपालिकाका नगरपिता र नगरमाता, याने कि मेयर साब र उपमेयर म्यामबीच जो झगडा चलेको छ, त्यो त जुँगाको लडाइँ मात्रै हो । यस्तो जुँगाको लडाइँलाई काम भन्न मिल्दैन । 

तर, मेरो जोडदार तर्क छ, उहाँहरूबीचको यो झगडालाई जुँगाको लडाइँ भन्न मिल्दैन । किनभने, उहाँहरूबीच जुँगाको लडाइँ हुने कुनै सम्भावनै छैन । हामी सबैले देखेकै छौँ, मेयर साबको जुँगा नै छैन । उहाँ जुँगा पाल्नुहुन्न । उपमेयर म्याडमको जुँगा हुने त झन् कुरै भएन । जसको जुँगा नै छैन, उनीहरूबीच कसरी जुँगाको लडाइँ हुन सक्छ ? लडाइँ हुनलाई कमसेकम जुँगा त चाहियो । काठमाडौं महानगरपालिकाका पूर्वमेयर केशव स्थापितको प्रसंग हो भने अर्कै कुरा । किनभने उहाँको त जुँगा छ, दाह्री पनि छ । अतः उहाँको जुँगा मात्र होइन, दाह्रीको पनि लडाइँ हुन सक्छ । वर्तमान मेयर विद्यासुन्दर शाक्यको त जुँगा पनि छैन, दाह्री पनि छैन । उहाँले कसरी जुँगाको लडाइँ लड्न सक्नुहुन्छ ? दुई जुँगा नभएका प्राणीबीच जुँगाको लडाइँ हुनु सम्भव छैन । 

त्यसो भए यो केको लडाइँ त ? वास्तवमा यो जुँगाको लडाइँ होइन । यो मूलतः डुंगाको लडाइँ हो । अर्थात् डुंगा चलाउने कि नचलाउने भन्ने लडाइँ । त्यो पनि कहाँ त भन्दा रानीपोखरीमा । रानीपोखरीमा डुंगा चलाउने कि नचलाउने ? मुख्य झगडा नै यहाँनेर छ । मेयर साब भन्नुहुन्छ, ‘रानीपोखरीमा डुंगा चलाउनुपर्छ ।’ उपमेयर म्याडम भन्नुहुन्छ, ‘रानीपोखरीमा डुंगा चलाउनु हुँदैन ।’ भएको झगडा यही हो । 

घटना अस्तिको हो । मैले देखेँ, मेयर साब आफ्नो पूरा दलबल साथमा लिएर कतै लम्किरहनुभएको थियो । उहाँको हातमा एउटा ठूलोखाले हथौडा पनि थियो । मेयर साबको हातमा हथौडा देखेर मानिसहरू अचम्भित हुँदै थिए । किन बोकेको होला यत्रो हथौडा ? तर मलाई भने त्यस्तो कुनै अचम्म लागेन । किनभने, मेयर साब एक वामपन्थी नेता हुनुहुन्छ । वामपन्थीहरूको त पार्टी चिह्न नै हो नि हँसिया र हथौडा । उहाँ सायद आफ्नो पार्टीको चिह्न बोकेर आउनुभएको होला । 
मैले मेयर साबलाई टाढैबाट सोधेँ, ‘लाल सलाम है ! मेयर साब कता ?’
मेयर साब सायद अलिकति हतारमै हुनुहुन्थ्यो । उहाँले संक्षिप्त उत्तर दिनुभयो, ‘रानीपोखरी !’
‘हँ, रानीपोखरी ?’ मेयर साबको उत्तरले मलाई झस्काइदियो । त्यो वास्तवमै झस्काउने खालको उत्तर थियो । किनभने उहाँको उत्तरले मलाई एउटा पुरानो घटनाको अनायास सम्झना गराइदियो । एसएलसीको रिजल्ट भएको थियो । म रिजल्ट हेर्न गोरखापत्र किन्न जाँदै थिएँ । बाटोमा एकजना छिमेकी बहिनी पनि हतार–हतार कतै हिँडिरहेको देखेँ ।

मैले सोधेँ, ‘बहिनी कता ?’ उनले संक्षिप्त उत्तर दिइन्, जस्तो कि अहिले मेयर साबले दिनुभएको थियो, ‘रानीपोखरी ।’ मैले सोचेँ, उनी पनि गोरखापत्र किन्न नै रानीपोखरी जान लागेकी होलिन् । किनभने त्यतिबेला रानीपोखरीनेर पनि पत्रिका पसल थियो । तर मेरो सोचाइ गलत भयो । उनी त रानीपोखरीमा पत्रिका किन्न होइन, त्यहीँ डुब्न पो हिँडेकी रहिछिन् । एसएलसीमा फेल भएको झोँकमा उनले रानीपोखरीमा फाल हालिछिन् । तर, त्यसमा पनि फेल भइन्, गार्डले बचाइदिए । एसएलसीमा पनि उनी गार्डकै कारण फेल भएकी थिइन् । गार्डले चिट जम्मै बरामद गरेको थियो । अहिले फाल हान्दा पनि गार्डकै कारण फेल भइन् । 

मेयर साबको उत्तरले मलाई अचानक त्यो घटनाको सम्झना भयो । अहिले एसएलसी (नयाँ भाषामा एसइई) को रिजल्ट त आएकै छैन । जाँचै भएको छैन के रिजल्ट आउनु ! तर पनि उहाँ रानीपोखरी किन नि ? 
ओहो ! के हुन लाग्यो लौ न ! म आत्तिएँ । तर तत्क्षणै मलाई अर्को सम्झना भयो, रानीपोखरीमा त यति बेला पानी नै छैन । पानी नै नभएको पोखरीमा कसले के गर्न सक्छ र ? यहाँ मेयर साबले मेरो कल्पनामा आए जस्तो केही गर्न सक्ने सम्भावना छैन ।

मैले आफैँले आफूलाई ढुक्क बनाउने प्रयार गरेँ । कति गर्दा पनि ढुक्क भने हुन सकिनँ । किनभने मेयर साब त लम्किसक्नुभएको छ । अब के भरोसा, हिजो पानी भएका बेला त रानीपोखरीमा को को डुबे, को को डुबे, अहिले पानी सुक्खा भएका बेला चाहिँ मेयर साब पो डुब्ने हो कि ? मलाई त आफ्नो मेयर साब पानी नभएको रानीपोखरीमा डुब्लान् कि भन्ने चिन्ताले पो सताउन थाल्यो । 
म पुनः पछाडि दौडिँदै गएँ, ‘मेयर साब ! मेयर साब !’
उहाँ टक्क अडिनुभयो । अनि सोध्नुभयो, ‘किन ?’
मैले स्याँस्याँ गर्दै सोधेँ, ‘तपाईंले रानीपोखरी जाने त भन्नुभयो । तर किन जाने भन्नुस् त ।’
उहाँले आफ्नो हथौडातिर एक नजर दिँदै जवाफ दिनुभयो, ‘तपाईंले सुन्नुभएन, रानीपोखरीमा अहिले तालाबन्दी गरेको छ रे, त्यही खोल्न जान लागेको ।’
‘ताला खोलेर के गर्ने ?’ 
‘भित्र जाने ।’
‘भित्र जाने ? भित्र गएर के गर्ने ?’
‘कफी खाने ।’ 
संक्षिप्त उत्तर दिएर उहाँ पुनः अघि बढ्नुभयो, रानीपोखरीतिरै ।    

प्रकाशित: १५ पुस २०७४ ००:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App