coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

घर पाउँदा गाइने परिवार गद्गद् (भिडियो)

ईर्खु –भुईँ तलामा दुई कोठा अनि चोटा । निलो जस्तापाताले छाइएको चिटिक्क घर । ढुंगामाटो र स्थानीय काठपात प्रयोग गरी बनाइएको घर तारजाली प्रविधि अपनाएर भूकम्प प्रतिरोधी बनाइएको छ । 
बिहान लिपपोत गरिएको पिँढी ओभाइ सकेको छैन । रंगिन छानामाथि घामको प्रकाश ठोक्किएर घर टलक्क टल्किएपछि ७८ वर्षीय गाइने तामाङको मुहार उज्यालियो । खुशी रोक्न नसकेकी उनकी पत्नि ६३ वर्षीया छेडोल्मा मुस्कुराइन् । 

गाइने दम्पतिका एक्ला सन्तान कामीसिंह बहिरा छन् । प्रकृतिले उनलाई सुस्त मनस्थितिको बनाए पनि मानवीय चेत, संवेग खोस्न सकेको रहेनछ । प्रत्युतरमा उनी घर हेर्दै फिस्स–फिस्स हाँसेर खुशीको भाव दर्शाइरहन्थे । 

दशकदेखि कान सुन्न छोडेका गाइने बुढ्यौलीले थला परिसकेका छन् । एकमात्र सन्तान कामीसिंह चाहेर पनि वृद्ध बाआमालाई सघाउन सक्दैनन् । छेडोल्मा नघिस्री घरमा आगो जल्दैन । ज्याला, मजदुरी गरेर उनले बिहान–बेलुकीको छाक टार्दै आएकी छिन् । एकहल गोरु लाग्ने दुई रोपनी जग्गाले खान नपुग्ने भएपछि छेडोल्मा रसद्पानीका लागि आफैँ अग्रसर हुनुको बिकल्प थिएन । 

२०७२ वैशाख १२ को भूकम्पले गाइने परिवारको घर ढालिदियो । अरुहरु जस्तै उनीहरु पनि जस्ताको अस्थायी टहरोमा बसे । ‘बुढेशकालमा टहरोमै मरिने भइयो । एक्लो छोराको बिजोग हुने भयो,’ गाइने दम्पतिको मनमा कुरा खेलिरहन्थ्यो । यतिसम्म कि सरकारले दिने ३ लाख रुपैयाँ अनुदान सम्हालेर त्यसैभित्रबाट एउटा सानो घर बनाउने तागत उनीहरुमा थिएन।

यस्तो यो विपन्न परिवारको खुशी बनेर आयो संयूक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) । भूकम्प पीडितलाई घर बनाउने तालिम दिन र भूकम्पप्रतिरोधी घरका नमूना समुदायलाई देखाउन ‘वन द जब ट्रेनिङ’ अन्तर्गत विपन्न गाइने परिवार छानियो । सिकर्मी डकर्मी तालिमेले गर्दै सिक्दै, सिक्दै गर्दै उनीहरुको घर ठड्याइ दिए । 

युएनडिपी र युरोपियन युनिएनको आर्थिक तथा प्राविधिक सहयोग र सिन्धु उत्थान केन्द्रको साझेदारीमा सुदृढ पुनर्निर्माणद्धारा उत्थानशील समाज परियोजना अन्तर्गत गरिबीले गाँजिएका गाइनेको भत्किएको घर डढिएको हो । ‘गरिबमैत्री’ घरको संज्ञा दिइएको यो घर निर्माणमा ४ लाख २० हजार रुपैयाँ खर्च भएको साझेदार संस्थाका भवनाथ आचार्यले जानकारी दिए ।  

चौतारा–साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिंह तामाङले शुक्रबार एक कार्यक्रमबीच दाताको तर्फबाट यो घर गाइने परिवारलाई हस्तान्तरण गरे।

 

प्रकाशित: १४ पुस २०७४ १४:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App