८ वैशाख २०८१ शनिबार
अन्य

मधेश आन्दोलनमा देश छोडेकालाई फर्काउन पहल

प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै मोर्चाका नेताकार्यकर्ता । तस्विर: रितेश त्रिपाठी

 वीरगन्ज– मधेस आन्दोलनका क्रममा विभिन्न मुद्दा परेपछि विस्थापित भएकालाई घर फर्काउने वातावरण बनाउन मधेसी मोर्चाले सरकारसँग आग्रह गरेको छ। मधेसी मोर्चाका नेताहरुले पर्साका प्रमुख जिल्ला अधिकारीमार्फत गृहमन्त्रालयमा तीन बुँदे ज्ञापनपत्र पठाएका छन्।
तत्कालीन वीरगन्ज आन्दोलनका जनपरिचालन समितिका संयोजक रहेका प्रदीप यादवले पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेलाई आन्दोलनका क्रममा विस्थापित भएकाहरुको विवरण बुझाएका हुन्।

विवरण अनुसार आन्दोलनताका मुद्दामा परेर भारतमा अघोषित शरणार्थी जीवन बिताइरहेका १० जनाको नाम प्रारम्भिक रुपमा मोर्चाले प्रमुख जिल्ला अधिकारीमार्फत गृह मन्त्रालयमा पठाएको हो। उनीहरुमाथि पर्सा जिल्ला अदालतमा मुद्दा छ। त्यस्तै जिल्ला प्रसाशन कार्यालयमा ४२ जना उपर दर्ता रहेका मुद्दामध्ये आगजनीका ४ जना र सार्वजनिक अपराधका ३५ जनालाई पक्राउ गरी मुद्दा चलेको छ भने ३ जना कार्यालयको रेकर्डमा फरार छन्।

राज्य पक्षले आन्दोलन दबाउन त्यतिबेला आन्दोलनकारीमाथि झुठो मुद्दा लादेकोले सहमति अनुसार सबैको राजनीतिक निर्णयबाट खारेजी हुनुपर्ने माग गरिएको बताए। मधेश आन्दोलनको मुख्य थलो बनेको पर्साको वीरगन्जमा सबभन्दा बढी आन्दोलनकारी मारिएका र घाइते भएका थिए। मधेस आन्दोलनका क्रममा प्रहरीको गोली लागि मृत्यु भएका सात जना मृतको नामावली र घाइते भएका एक सय ८३ जनाको नामावली प्रजिअमार्फत गुह मन्त्रलायलाई मोर्चाले बुझाएको हो ।

मोर्चामा आवद्ध संघीय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष समेत रहेका यादवले मधेसी मोर्चा र सरकार बीचभएको तीन बुँदे सहमति आनुसार आन्दोलनका घाइते भएकाको उपचार खर्च  र मृतकलाई दशलाख रुपैयाँ क्षतिपूर्ती दिलाउन गृह मन्त्रालयलाई सूची पठाइएको हो। आन्दोलनका क्रममा पर्सा जिल्लाबाट ७ जनाले ज्यान गुमाएपनि ६ जनालाई दश लाख क्षतिपूर्ती र एक सय ८३ जना घाइतेमध्ये हालसम्म ६ जनालाई मात्र उपचार खर्चमात्र सरकारले उपलब्ध गराएको उनले बताए।

आन्दोलनको क्रममा वीरगन्जको शंकराचार्य गेट अगाडी प्रहरीको गोली लागि मृत भएका भारतीय नागरिक आशिस रामले क्षतिपूर्ती पाउन बाँकी छ। प्रजिअ घिमिरेले जिल्ला सुरक्षा समितिको बैठकबाट भारतीय नागरिकलाई शहिद घोषणा गर्न सिफारिस गरिएको जानकारी दिए। मोर्चा आवद्ध दलका नेता तथा प्रतिनिधिसहितको टालीले प्रजिअलाई विवरण बुझाएको थियो।

 

प्रकाशित: २४ श्रावण २०७३ १०:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App