coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

गाउँको पूरै जमिन भासियो, ५१ परिवार उच्च जोखिममा

बैतडी-अविरल वर्षाले बैतडीको तल्लादेही–८ डाँडाखालीको पूरै जमिन भासिएको छ। जमिन भासिएपछि डाँडाखालीमा बसोबास गर्ने ५१ परिवार विस्थापित भएका छन् भने स्थानीय बासिन्दा त्रसित बनेका छन् । डाँडाखालीका जमिन चिरा पर्दै करिब डेढ फिट भासिएर तल सरेको बताइएको छ ।

शनिबार जमिन भासिएपछि अहिले सो ठाउँका ५१ परिवारको विचल्ली भएको छ । माथिबाट आएको पहिरोले तीनजनाको घर पुरेको छ भने बाँकी रहेका घरपरिवार पनि जमिन भासिएपछि सुरक्षित स्थानतर्फ जान थालेका छन् ।

केही परिवार लोखाडी प्रावि डाँडाखालीमा बसिरहेका छन् भने अन्य परिवार सुरक्षित वासस्थानको खोजीमा रहेको स्थानीय रनबहादुर बोहराले बताए। उनले भने – “अहिले गाउँका सबै मानिस त्रासदीपूर्ण वातावरणमा बस्न बाध्य छौँ ।”

सो गाउँमा अहिले प्रहरी, रेडक्रस र विपद्मा काम गर्ने सङ्घसंस्था र स्थानीय प्राविधिक टोली खटाइएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ । प्राविधिक टोलीले अध्ययन गरेपछि बस्ती नै सार्न सकिने निमित्त प्रमुख जिल्ला अधिकारी दीपककुमार आचार्यले बताए।

वर्षा हुने क्रम नरोकिएकाले स्थानीय बासिन्दा झन त्रसित छन् । यसअघि सोही ठाउँमा शनिबार बिहान पहिरो जाँदा तीन घर पुरिँदा रु १८ लाख बराबरको क्षति भएको थियो। रासस

 

प्रकाशित: २४ श्रावण २०७३ १०:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App