coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
विचार

एमाले : कार्यभार र सकस

देशको शिर उठाउन र जनताको पीर हटाउन कांग्रेस पाखा लाग्नु र स्वाभिमान–समृद्धिको मुद्दालाई जनादेश मिल्नु अपरिहार्य थियो । जनताको दायित्व पूरा भयो । अब दायित्व निर्वाह गर्ने पालो नेतृत्वको हो । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वामपन्थी गठबन्धनको कठोर अग्निपरीक्षा सुरु भएको छ । एसियाको संयोग भनौँ, पुटिनमय रुस, सि जिन पिङमय चीन र मोदीमय भारतसँगै नेपाल पनि ओलीमय बनेको छ ।

अहिले एमाले र माओवादीको अवस्था लिभिङ टुगेदरमा रहेका युवकयुवतीको जस्तो छ । हतारमा विवाह गरेर पछि पारपाचुके गर्नुभन्दा लिभिङ टुगेदरको अवधि लम्ब्याएर एक अर्कालाई बुझ्नु बुद्धिमानी भएजस्तै पर्याप्त गृहकार्य र खुला छलफलपछिको पार्टी एकता दिगो, भरपर्दो र सुखद परिणामदायी हुनेछ ।

यसरी भूराजनीतिक महत्व र राजनीतिक रंगमञ्च दुवै हिसाबले रुस, चीन र भारतकै हाराहारीमा पुग्नु नेपालका लागि अवसर र चुनौती दुवै हो । यो अवसर नेपाली जातिले पाएको सुन्दर अवसरमध्ये एक हो ।
२०५४ को विजय उन्मादले एमालेलाई राम्रो गरेन । २०६४ को विजय उन्मादकै कारण माओवादीको आँगन २०७० सालमा औँसीको अवतरण भयो । अब एमाले र माओवादीले अरू केही गर्नु पर्दैन । विजय उन्मादमाथि विजय पाए पुग्छ । नेपाली कांग्रेसको पतनबाट वामपन्थीहरूले पाठ सिक्न सकेमा नेपालले बोकेको विराट् सम्भावना वास्तविकतामा बदल्न सकिनेछ ।
 कुरा खस्रा मीठा, रोटी चिल्ला मीठा । सरकार गठनका लागि संख्या र समीकरण भए पुग्छ । यो नभए सरकार बनाउन सकिँदैन र बनेको सरकार पनि टिक्न सक्तैन । पार्टी एकता गर्न भने दिल, जवाफदेहिता, इमान र जमान चाहिन्छ । नबांगिएको नियत दुई किनारारूपी दुई पार्टी जोड्ने सेतु हो । यसको आपूर्ति गर्न सक्ने औकात छैन भने एमाले र माओवादीले गठबन्धन संस्कृतिको विकासमै चित्त बुझाए पुग्छ । एकताको रथ हाँक्ने नै हो भने नेतृत्वपंक्तिले कार्यकर्ताको अदालतसामु केही यक्ष पश्नहरूको उत्तर दिनुपर्ने हुन्छ । बजारमा छरिएको एकता जनताको आदेश हो भन्ने थेगोका पछाडि व्यक्तिपिच्छेका स्वार्थ र चलाखीको खिचडी पाकिरहेको छैन भन्ने सुनिश्चिता खोज्नु कार्यकर्ता पंक्तिको अर्गेल्याइँ होइन । किनकि, पार्टी एकताको सुन्दर बहानामा यो वा त्यो प्रकारले ईबी साँध्ने खेल विगतमा भएकै हुन् र फेरि नहोला भन्ने स्थिति छैन । जस्तो कि, हामीले सकारात्क र नकारात्मक दुवै पाटोमाथि हेक्का राखेका छौँ कि छैनौँ ? प्रचण्डको साथ ओलीका लागि जति वरदान हो, त्यति नै अभिसाप हुन सक्छ माधव नेपाल र झलनाथ खनालको असन्तुष्टि र असहयोग । त्यसरी नै सरकार र पार्टीको नेता एउटै व्यक्ति हुनुहुन्न भन्ने तुरूपको आशय के ? पार्टी एकताको बहानामा ओलीको विस्थापन गर्ने गैरसंस्थापनको हुटहुटी पनि कम घातक हुनेछैन । दुई पार्टीका दुई अध्यक्षमध्ये एकले त्याग देखाएर सबैलाई द्रबीभूत पार्ने र त्याग र इमानको सत्ता स्थापित गर्न सक्ने सम्भावनालाई नकुरेरै हतारमा लेनदेन र मोलमोलाई गर्नु उचित होइन । सबै शक्ति ओलीमा थुपार्न खोजियो भनेर तर्कना गर्नुका पछि पनि दालमा केही कालो छ । सरकार गठनको अस्थायी मुद्दासँग दीर्घकालीन महत्वको पार्टी एकताको मुद्दालाई जोड्ने नियत पनि समस्या हुन सक्छ । माओवादीलाई एमालेमा विलय गराएर प्रचण्डको ओजको चाँडै विसर्जन गर्नुपर्छ भन्ने माओवादीभित्रकै खेलोफड्को पनि घातक हुन सक्छ । पार्टीभित्रका दुई धारको ईबी साँध्ने माध्यम आगन्तुक पक्षलाई बनाउने खेल यसअघि २०५८ सालमा माले एमाले एकतापछि चल्दै आएको थियो । एकता निश्चय नै प्रिय र हितकर कुरा हो । यसका उपासकहरूको नियतमा खोट र मनमा कपट नहँुदा मात्र परिणाम राम्रो आउँछ । भुइँको टिप्न खोज्दा पोल्टाको गुम्न सक्ने खतराको अनुमान लगाउने कलाको अर्को नाम हो, विवेक । तुषसहितको एकता एम्बुसभन्दा घातक हुन्छ । २०६४ सालमा एमालेले भोग्नुपरेको चुनावी पराजयमा तुषसहितको पार्टी एकता सबैभन्दा मोटो कारण भएको उदाहरण हामीसँग छ । यसर्थ नेतृत्वपंक्तिले पार्टी पंक्तिलाई पछि गोलमाल नहुने कुराको दरिलो आधार प्रदान गरेर आश्वस्त पार्न जरुरी छ ।
एमालेको अध्यक्षमा ओलीको आगमनपछि एमालेले एकपछि अर्को सफलता प्राप्त गरेको छ र कांग्रेसलाई पाखा लगाएर राष्ट्रिय राजनीतिको मियो बनेको छ । यसअघि विभाजित अवस्थाका विभिन्न वामघटकको पार्टी प्रमुखका रूपमा सबै शीर्ष नेतालाई नेपाली जनताले देखेको इतिहास हामीसँग छ । प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ सबैको नेतुत्वकाल औसत रह्यो । एक कार्यकाल पूरा नहुँदै कुनै पनि बहानामा ओलीको विकल्प खोज्नु गुणग्राहिता होइन । आफूलाई यहाँसम्म पु¥याउने सिद्धान्त छोड्न नसक्ने ओलीको अन्तरआत्माको आवाजलाई अहंकार ठान्नु झन् कृतघ्नता हुनेछ । या त कसैको दबाब वा लेनदेनको काप नपरेरै ओली आफैँले त्यागको प्रतिमूर्ति भएर एकीकृत पार्टीको अध्यक्ष पद प्रचण्डलाई छाडिदिएर त्याग गर्नु प¥यो या प्रचण्डले ओलीलाई एकीकृत पार्टींको अध्यक्षमा प्रस्ताव गर्ने त्याग देखाउन सक्नुप¥यो । त्यो नगरी नीति एमालेको जबज भएपछि नेतृत्व माओवादीको हुनुप¥यो भन्ने तृतीय स्वरको आशय भयावहपूर्ण छ । यो एक प्रकारको तुष हो र ओलीको करिष्माप्रतिको ईष्र्या पनि । यस्ता समस्या आफैँभित्र विद्यमान छन् भने एमालेले माओवादीलाई विनम्रतासाथ आफ्ना समस्या दर्शाउन धक मान्नु हँुदैन । हाम्रै आन्तरिक समस्याका कारणले एकता अलि ढिलो गर्नुपर्ने भयो भन्दा हुन्छ । ६० र ४० को साझेदारीको लक्ष्मण रेखा कायम राखेर पार्टी एकता अलि पछि गर्दा पनि हुन्छ ।
अहिले एमाले र माओवादीको अवस्था लिभिङ टुगेदरमा रहेका युवायुवतीको जस्तो छ । हतारमा विवाह गरेर पछि पारपाचुके गर्नुभन्दा लिभिङ टुगेदरको अवधि लम्ब्याएर एक अर्कालाई बुझ्नु बुद्धिमानी भएजस्तै पर्याप्त गृहकार्य र खुला छलफलपछिको पार्टी एकता दिगो, भरपर्दो र सुखद परिणामदायी हुनेछ । एमालेले जबज छाड्ने कि माओवादीले २१ औँ शताब्दीको जनवाद ? सर्वप्रथम त एकताका लागि सैद्धान्तिक आधार खडा गरिनुपर्छ । त्यसपछि संगठन, जीवनशैली र पार्टी पद्धतिको निरूपण आवश्यक हुन्छ । दोहोरीमा खारिएर आए जस्तो एमालेको पार्टी पद्धति र देउसी भैलोमा झैँ एउटाले भट्याउने र अरूले दोहो¥याउने शैलीको माओवादीको जीवनशैलीमा संगति खोज्नु सरल छैन । यो अंग प्रत्यारोपण जत्तिकै सम्भव तर संवेदनशील विषय हो । आफ्नो जीवनसाथीलाई सुखी र खुसी राख्ने नियत र औकात भएको सहयात्री सुखद दाम्पत्य जीवनको आधारशिला भएजस्तै एक राजनीतिक शक्तिको उदय र स्थिरताका लागि आफ्नोभन्दा अरूको चिन्ता गर्ने र चासो राख्ने दिल चाहिन्छ । ओली नेतृत्वको एमालेको काममा हिमालयभन्दा गह्रौँ भारी छ । त्यसैले एमालेले त्यागी हुनु छ तर बेवकुफ हुनु छैन, लचिलो हुनु छ तर मुद्दाविहीन र अडानहीन हुनु छैन र इमानदार हुनु छ तर निरीह बन्नु छैन ।
वाम धुव्रले गर्ने गल्ती, असावधानी र अहंकारले एउटा गलत राजनीतिक नजीर स्थापित गर्ने खतरा छ । घाम जस्तै छर्लंग छ कि वाम धुव्र नचुक्नुको मूल्य कांग्रेसलाई महँगो पर्नेछ भने चुक्नुको मूल्य वामपन्थीका लागि मृत्युपत्रमा हस्ताक्षर हुनेछ । यसर्थ यहाँ बाजुराको रुम्कोट भेगमा प्रचलित यो उखान एमाले र माओवादी नेतृत्वतिर तेस्र्याउनु सान्दर्भिक नै होला, ‘राम्रो गरौली माई(देवी) आफ्नै लागि, नराम्रो गरौली माई आफ्नै लागि ।’

प्रकाशित: १४ पुस २०७४ ०३:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App