८ वैशाख २०८१ शनिबार
समाज

मन्त्रालय फुटाउँदा अभिलेख राख्न समस्या

काठमाडौं- राजनीतिक भागबन्डाका लागि मन्त्रालय फुटाउने प्रवृत्ति नेपालका लागि नौलो होइन । तर मन्त्रालय फुटाउँदा अभिलेख व्यवस्थापनमा असर पर्ने गरेको छ ।
एउटै मन्त्रालय फुटाएर फरक–फरक मन्त्रालय बनाउँदा अभिलेख व्यवस्थापनमा कठिनाइ हुने विज्ञान तथा प्रविधि मन्त्रालयका शाखा अधिकृत ऋषिकेश निरौला बताउँछन्् । मन्त्रालय टुक्र्याउँदा पुराना कागजात फेला पार्न समस्या हुने गरेको उनी बताउँछन् ।
‘हचुवाका भरमा मन्त्रालय फुटाउने र मर्ज गर्ने प्रवृत्तिले सम्बन्धित मन्त्रालयका नियमित कार्यक्रमसमेत प्रभावित हुन्छन्,’ निरौलाले भने । पहिले विज्ञान प्रविधि तथा वातावरण मन्त्रायलय एउटै थियो पछि मन्त्रालय भागभण्डाका क्रममा विज्ञान प्रविधि तथा वातावरण मन्त्रालयलाई टुक्र्याइयो । मन्त्रायल टुक्र्याउँदा कुन काम कसले गर्ने भन्ने अन्योल हुने तथा कतिपय कार्यक्रम दुवै मन्त्रालयको मातहतमा हुने भएकाले काम दोहोरिने समस्या हुने उनी बताउँछन् ।
मन्त्रायल फुटाउँदा समान किसिमका कामको संयोजनमा समस्या हुने कृषि विकास मन्त्रालयका सूचना अधिकारी मणिरत्न अर्यालको भनाइ छ । पहिले एउटै मन्त्रायल मातहतमा रहेको कृषि तथा पशुपन्छी मन्त्रालय टुक्रिएपछि समान किसिमका काम गर्दा संयोजनमा समस्या हुने गरेको अर्याल बताउँछन् । ‘कतिपय काम समान हुन्छ तर काम गर्दा फरक–फरक मन्त्रालयको प्राथमिकता पनि फरक हुने भएकाले सहकार्यमा समस्या सिर्जना हुन्छ,’ अर्यालले भने । समान किसिमको काम गर्दा एउटै बजेट र जनशक्तिले हुने काममा फरक मन्त्रालयका कारण बजेट जनशक्ति र योजनासमेत फरक हुने र यसले लागतसमेत बढाउने उनी बताउँछन् । कृषि, पशुपन्छि तथा सिँचाइ मन्त्रालयका अधिकांश काम समान प्रकृतिको हुने अर्याल बताउँछन् । ‘यी तिनवटै मन्त्रालयका काम कृषिसँग सम्बन्धित हुन् तर फरक–फरक मन्त्रालयका कारण योजना पनि फरक फरक हुने गर्छन्,’ अर्यालले भने । अर्याल मन्त्रालय फुटाउने प्रवृत्तिले कागजात व्यवस्थापनमा निकै समस्या हुने गरेको बताउँछन् । एउटा मन्त्रालयले गरिरहेको अभिलेख तथा कागजात व्यवस्थापनको काम फरक फरक मन्त्रालयमा बाँडिदा पुराना कागजपत्र व्यवस्थापनमा समस्या हुने उनको भनाइ छ । एउटा ठूलो मन्त्रालयलाई फुटाएर सानो बनाउँदा त्यसको काम प्रभावकारी हुने अपेक्षा गरिए पनि नेपालको अभ्यासले त्यस्तो नदेखिएको अर्याल बताउँछन् । ‘जुन अपेक्षासहित मन्त्रालय फुटाइन्छ, व्यवहारमा भने त्यति प्रभावकारी देखिएको छैन,’ अर्यालले भने ।
राजनीतिक भागभन्डाका कारण विज्ञान तथा प्रविधि मन्त्रालय मात्र हालसम्म ६ पटक गठन तथा पुनःगठन भएको छ । वि. सं. २०३९ मंसिर २० गते विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका रूपमा गठन भएको यो संस्था ०५३ जेठ २ गते विज्ञान तथा प्रविधि मन्त्रालयका रूपमा गठन भएको थियो । ०६१ चैत १८ मा पुनःगठन हुँदै वातावरण, विज्ञान तथा प्रविधि मन्त्रालय बनेको यो मन्त्रालय ०६६ जेठ २९ मा पुनः विज्ञान तथा प्रविधि मन्त्रालय बन्यो । ०६९ जेठ ५ गते पुनः विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालय बनेको यो मन्त्रालय ०७२ पुस ९ मा पुनः फुटेर विज्ञान तथा प्रविधि मन्त्रालय बनेको थियो ।

प्रकाशित: १४ पुस २०७४ ०२:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App