काठमाडौं- नेकपा एमाले र माओवादी केन्द्रबीचको एकीकरण प्रक्रिया अघि बढाउन दुवै पार्टीका युवा नेता सक्रिय बनेका छन् । दुवै दलका युवा नेता एकै ठाउँमा उभिएर पार्टी एकता विरोधीलाई परास्त गर्दै निष्कर्षमा लैजाने उद्देश्यसहित सक्रिय भएका हुन् । उनीहरुको पहिलो चरणको बैठक सम्पन्न भइसकेको छ ।
‘नेतृत्वलाई सहयोग र सुझाव दिन दुवै दलका युवा नेताले छलफल प्रारम्भ गरेका हौं, यसलाई अझै बृहत् बनाउँदै लैजानेछौं ।’
– ठाकुर गैरे, केन्द्रीय सदस्य, एमाले
‘दुवै दलका युवा नेताले पार्टी एकीकरण प्रक्रिया कसरी टुंगोमा पु¥याउने तथा सम्मानजनक बनाउने भन्नेबारेमा छलफल प्रारम्भ गरेका छौं,’ माओवादी नेता देवेन्द्र पौडेलले नागरिकसँग भने, ‘त्यसमाथि आन्तरिक रुपमा पार्टी एकीकरण हुन नदिने तŒवलाई रोक्न दुवैतर्फका नेता लागिपर्ने निष्कर्ष पनि निकालेका छौं ।’ उनका अनुसार युवा नेताको उक्त प्रारम्भिक वैठकमा एकीकरणपछिको नयाँ पार्टीको कार्यदिशा, राजनीतिक सिद्धान्त, नेतृत्व व्यवस्थापनलगायतका बारेमा छलफल भएको छ ।
बैठकमा एमाले सचिव योगेश भट्टराई, ठाकुर गैरे, माओवादीबाट पौडेलसहित शक्ति बस्नेत, हिमाल शर्मा, रमेश मल्ललगायत सहभागी थिए । बैठकमा एकीकृत पार्टीको नेतृत्व ढाँचाबारेमा पनि छलफल भएको थियो । यसअनुसार पहिले अध्यक्ष मण्डल बनाएर एकीकरणमा जाने, दोस्रो अध्यक्ष र सहअध्यक्षको मोडेलमा जाने र तेस्रो एउटा पार्टीका नेता सरकारको नेतृत्वमा जाने र अर्को पार्टीका नेताले नयाँ पार्टीको नेतृत्व गर्नेलगायत विकल्प प्रस्ताव गरिएका थिए । ‘दुवै पार्टीको सैद्धान्तिक मान्यता जबज र माओवादको समीक्षा गर्दै शान्तिपूर्ण रुपमा समाजवादतर्फ जाने दिशा नै नयाँ पार्टीको सिद्धान्त र कार्यक्रम हुनुपर्छ भन्नेमा दुवै पक्षका युवा नेता सहमत देखिएका छन् । यस विषयमा अझ बृहत् रुपमा आन्तरिक छलफल चलाउन सहमत भएका छौं,’ मल्लले नागरिकसँग भने ।
उनका अनुसार दुवै दलका युवा नेताले पार्टी एकीकरणको विरोध गर्ने आन्तरिक शक्तिविरुद्ध पनि जुध्ने र जनमतअनुसार पार्टी एकीकरण टुंगोमा पु¥याउन पनि दबाब दिने भएका छन् । ‘दुवै पार्टीका केही नेताले आफ्नो सिट सुरक्षित गर्न पार्टी एकताविरोधी अभिव्यक्ति दिएको देखिन्छ, त्यस्ता अभिव्यक्तिलाई निस्तेज पार्नुपर्छ’, मल्लले बैठकको निष्कर्षबारे भने, ‘र बाह्यरुपमा पनि दुई पार्टीलाई एकीकरण हुन नदिने जुन प्रयास भएको छ, त्यसलाई चिर्दै अघि बढ्नुपर्छ, त्यस्ता तŒवबाट नेतृत्वलाई विचलित नहुन दबाब पनि सँगसँगै बढाउनुपर्छ भन्नेमा हामी पुगेका छौं ।’
पार्टी एकीकरणबारे अन्योल बढेपछि दुवै पार्टीका युवा नेताले सक्रियता बढाएका हुन् । अब बृहत्तर बैठक डाकी छलफल गरिने उनीहरुले बताएका छन् । ‘पार्टी एकीकरण र सरकार गठनका लागि कसरी नेतृत्वलाई सहयोग गर्न सकिन्छ भनेर दुवै दलका युवा नेताले छलफल प्रारम्भ गरेका हौं, यसलाई अझै बृहत्तर रुपमा लैजाँदैछौं’, एमाले नेता गैरेले नागरिकसँग भने । उनका अनुसार एकीकरण र सरकार निर्माणमा नेतृत्वलाई पर्ने सक्ने अप्ठयारो र आउन सक्ने चुनौतीमा सहयोगी भूमिका निभाउने उद्देश्यसहित उक्त प्रारम्भिक छलफल भएको हो ।
बुधबार बसेको उक्त बैठकअघि पनि पार्टी एकीकरण र संयुक्त सरकार गठनका लागि विद्यार्थी र युवा संगठनका नेताले दुवै पार्टीका अध्यक्षलाई भेटेर दबाब दिइसकेका छन् । ‘पार्टी एकीकरण निष्कर्षमा पु¥याउन दुवै पार्टीका अध्यक्षलाई भेटेर दबाब दिने काममात्रै भएको छैन, आवश्यक निर्देशन पनि माग गरिसकेका छौैं’, अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले भने ।
प्रकाशित: १४ पुस २०७४ ०२:४४ शुक्रबार