coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

चिनियाँ अधिकारीद्वारा इन्डस्ट्रियल पार्कस्थल निरीक्षण

दमक नगरपालिकामा भएको छलफलमा चिनियाँ र नेपाली अधिकारी ।

दमक–चिनियाँ अधिकारीले दमकमा प्रस्तावित चीन–नेपाल इको इन्डस्ट्रियल पार्क निर्माणस्थलको अवलोकन गरेका छन् । दमकसहित कमल गाउँपालिकाको लखनपुर र गौरादह नगरपालिकाको कोहबराको २२ सय बिघा क्षेत्रफलमा पार्क निर्माण गर्ने योजना छ । चीनको ल्हासाको आर्थिक तथा प्राविधिक विकास क्षेत्रका अधिकारी सम्मिलित टोलीले दमक–१० मा प्रस्तावित पार्कस्थलको अध्ययन र सरोकारवालासँग छलफल गरेको हो ।

 चिनियाँ टोलीको नेतृत्व चिनियाँ राष्ट्रपति सी जिनफिङका विशेष दूत लिऊ रुपेङले गरेका छन् । झन्डै २ वर्षअघि निर्माण गर्ने तयारी थालिएको पार्कको अध्ययनमा आएको यो अहिलेसम्मकै उच्चस्तरीय टोली हो । टोलीले दमक नगरपालिकामा भएको छलफलमा यहाँ दक्षिण एसियाकै नमूना औद्योगिक क्षेत्र बनाउने बताए । ‘स्थलगत अध्ययनपछि औद्योगिक क्षेत्र निर्माणको छलफल सघन रुपमा अघि बढ्नेछ,’ उनले भने, ‘पार्क निर्माणपछि नेपालसँगै दक्षिण एसियाको औद्योगिक विकासले फड्को मार्नेछ ।’ उक्त औद्योगिक विकासले नेपालको विकासमा टेवा पुग्ने र त्यसका लागि आवश्यक सहयोग गर्न चीन तत्पर रहेको धारणा राखे । ‘वान वेल्ट वान रोड (ओबिओआर) अन्तर्गतको यो परियोजनाले समग्र नेपालको विकासमा सहयोग गर्नेछ,’ उनले भने, ‘यहाँ स्थापना हुने उद्योग विश्वकै चर्चित र स्तरीय हुनेछन् ।’

 रुपेङले चीनले दमक र आसपास क्षेत्रमा आवश्यक उद्योगको सम्भाव्यता अध्ययनसमेत गर्ने बताए । ‘उद्योग स्थापनापछि नेपाल र चीनबीचको सम्बन्ध अझ प्रगाढ हुने विश्वास लिएका छौं,’ उनले भने, ‘हाम्रो परियोजना अन्तर्गत ओबिओआर मार्फत सडक सञ्जाल पुगेका देशमा समेत यस्तै उद्योग खोल्ने लक्ष्य राखेका छौं ।’  औद्योगिक क्षेत्र विकास लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले नेपालमा लगानी गर्न चीन उत्साहित रहेको बताए । ‘यो टोलीको भ्रमणपछि उच्चस्तरीय टोलीले कामको शिलान्यास गर्नेछ,’ उनले भने, ‘त्यस विषयमा प्रारम्भिक छलफल भइरहेको छ ।’

बस्नेतका अनुसार ओबिओआर अन्तर्गतको कार्यक्रममा नेपालमा आवश्यक कलकारखानाको सम्भावना अध्ययन समेत चिनियाँ टोलीले गर्नेछ । टोलीमा वाणिज्य र अर्थ क्षेत्रका विज्ञ पनि छन् ।  औद्योगिक पार्क निर्माण समितिका अध्यक्ष गोविन्द थापाले चीन र नेपाल सरकारबीच भएको सहमतिका आधारमा अब काम अघि बढ्ने बताए । ‘यो अहिलेसम्मकै उच्चस्तरीय भ्रमण हो । यो टोली फर्किएपछि केही नीतिगत काम गरेर निर्माण प्रक्रिया सुरु हुनेछ,’ उनले भने । 

औद्योगिक पार्कका लागि २२ सय बिघा जग्गा चाहिनेमा अहिलेसम्म ५ सय ४२ बिघा प्राप्त भइसकेको दमक नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहालले बताए । ‘३३ करोड रुपैयाँ जग्गा अधिग्रहणका लागि छुट्ट्याइएको छ,’ उनले भने, ‘अब तत्काल मुआब्जा दिएर जग्गा प्राप्तिको काम सुरु हुन्छ ।’ जग्गा प्राप्तिका लागि औद्योगिक क्षेत्र विकास लिमिटेडका अध्यक्ष बस्नेत झापा मै छन् । लिमिटेडको नाममा जग्गा प्राप्त भएपछि बाँकी काम सुरु हुनेछ । 
ओलीको गृहनगरमा महत्वाकांक्षी योजना

एमाले अध्यक्ष भइसकेपछि केपी शर्मा ओलीले तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाईलाई दबाब दिएर गृहनगर दमकका लागि दुईवटा महत्वाकांक्षी योजना सामेल गराए– एउटा औद्योगिक पार्क र अर्को विश्वकै अग्लो बुद्धमूर्ति । स्रोतबिना घोषणा गरिएका दुवै महत्वाकांक्षी योजना निर्माण सम्पन्न हुनेमा धेरैको आशंका छ । दुवै वैदेशिक सहायतमा निर्माण हुँदैछन् । २२ सय बिघामा निर्माण हुने औद्योगिक पार्क शिलान्यासको अन्तिम तयारी भइरहेको छ । ‘आगामी अप्रिलमा चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणको बेला शिलान्यास गर्ने तयारी छ,’ स्रोतले भन्यो, ‘त्यसकै तयारीका यो उच्चस्तरीय टोली आएको हो ।’ 

३ खर्ब ३३ अर्बको लागतमा निर्माणको प्रारम्भिक खाका तयार पारेको नगरपालिकाका कार्यकारी अधिकृत दाहालले बताए । ‘अब फास्ट ट्र्याकमा डिपिआरको काम सकेर निर्माण सुरु हुन्छ,’ उनले भने । ओली सत्तामा पुगेपछि यहाँ आउँदा प्रस्तावित औद्योगिक पार्कबारे चासो राख्ने गरेका थिए । त्यसैबेला दमकमा औद्योगिक पार्क निर्माणको प्रारम्भिक काम थालिएको थियो । भ्रमण टोलीका संयोजक रुपेङ औद्योगिक विज्ञ मात्रै होइनन्, राष्ट्रपति सीका विशेष दूतसमेत हुन् । उनी चिनियाँ कम्युनिस्ट पार्टीको कार्यकारिणी कमिटीका उपसचिव हुन् ।

थापाका अनुसार भ्रमणका क्रममा रुपेङले यो परियोजनालाई प्राथमिकतामा राखेको बताएका छन् । ‘यो योजनालाई चीनले उच्च प्राथमिकतामा राखेको छ,’ थापाले भने, ‘हाम्रै प्राविधिक कारणले काम अलिकति ढिला भएको हो ।’ थापाले अब निर्माणको कामले गति लिने दाबी पनि गरे ।

ओली प्रधानमन्त्री हुनुभन्दा केही अघि अर्को चिनियाँ सहितको टोलीले दमकको उत्तरी क्षेत्रको भ्रमण गरेको थियो । प्रस्तावित विश्वकै अग्लो बुद्धमूर्ति निर्माणस्थलमा जापान, थाइल्यान्ड र चिनियाँ अधिकारीले भ्रमण गरेका थिए । ‘बुद्धमूर्ति पनि सँगसँगै अघि बढ्ने योजना हो,’ नगरपालिकाका कार्यकारी अधिकृत दाहालले भने, ‘त्यसमा चीनसँगै अरु मुलुकको समेत लगानी हुनेछ ।’ उनले उद्योग सञ्चालन भएको १० वर्षसम्म कुनै कर नगरपालिकाले नलिने निर्णय नगरसभाले गरेको जानकारी दिए । 

विपक्षी दलहरु समेत काम तत्काल अघि बढ्नुपर्ने बताउँछन् । तर बारम्बार आश्वासन मात्रै बाँड्ने गरेको आरोप उनीहरुको छ । ‘स्थानीय, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा एमालेले यो योजना जोडतोडका साथ उठायो,’ काँग्रेसका क्षेत्रीय सभापति तथा दमक नगरका मेयरका उम्मेदवार ढुण्डी भण्डारीले भने, ‘तर तीन वर्ष हुन लाग्दासमेत काम अघि बढ्न सकेको छैन ।’  प्रस्तावित औद्योगिक पार्कमा विद्युतीय, टेक्सटाइल, अटोमोबाइल, खाद्य सामग्री, कृषि सम्बन्धी बहुराष्ट्रिय कम्पनीका उद्योग रहनेछन् । 

यसको नाम दमक औद्योगिक पार्क भए पनि उद्योग गौरादह, कमल गाउँपालिकासम्म रहन सक्ने छन् । टोलीले उद्योग रहने स्थान हेरिसकेपछि काँकडभिट्टाको सीमा नाका अवलोकन गरेको छ । यो भारतसँगको पूर्वी सीमा नाका हो । 
उक्त औद्योगिक क्षेत्रले एक लाखजनालाई रोजगारीको अवसर सिर्जना गर्ने अनुमान छ । 

उद्योग रतुवा नदीको किनारमा औद्योगिक क्षेत्रको मुख्य कार्यालय रहने छ । त्यहाँ एकमुष्ट धेरै उद्योगहरु रहने छन् । उद्योगको तयारीकै लागि रतुवा नदीमा मोरङ र झापा जोड्ने तथा दमक र कोहबरा जोड्ने पुल निर्माण भइरहेका छन् । औद्योगिक पार्ककै लागि कोहबरासम्म पुग्ने सडक समेत निर्माण सुरु भइसकेको छ । दमक नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहालले उद्योगको करिडोर क्षेत्रभित्र सयभन्दा बढी उद्योग स्थापना हुने बताए । 

 

प्रकाशित: १४ पुस २०७४ ०१:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App