८ वैशाख २०८१ शनिबार
अर्थ

हात्तीमय सौराहा

चितवन–सौराहा र हात्ती एकअर्काका परिपुरक हुन् । चितवन काठमाडौं र पोखरापछि नेपालको तेस्रो ठूलो पर्यटकीय गन्तव्य हो । चितवन घुम्न आउने सबैजसो प्रायः सौराहा पुगेकै हुन्छन् । सौराहा पुगेकाहरु हात्ती चढेर चितवन निकुञ्जमा जंगल सफारी गर्छन् । पर्यटकको सेवामा तल्लीन तिनै हात्तीलाई सहभागी गराएर १४ वर्षयता सौराहामा हात्ती महोत्सव हुँदै आएको छ । महोत्सव हेरेर पर्यटक रमाउँने नै भए सहभागी हात्ती पनि खुसी हुने गर्छन् ।  

के हो हात्ती महोत्सव ?
क्रिसमस र अंग्रेजी नयाँ वर्षको समय पारेर १४ वर्षअघि सुरु भएको हात्ती दौड अहिले महोत्सवमा रुपान्तरण भएको छ । माहुतेको इसारामा दौडेर तोकिएको दूरी कम समयमा जुन हात्तीले पार गर्छ त्यसैलाई विजेता घोषणा गरिने खेल हात्ती दौड थियो । हात्तीलाई दौडाउनु यसको स्वभाव प्रतिकूल हुन्छ भन्ने आवाज पशु कल्याणका क्षेत्रमा लागेकाहरुले उठाउन थाले । त्यसपछि यसको स्वरुप परिवर्तन गर्दै लगिएको हो । 

दौडलाई अहिले ‘इलाफेन्ट फास्ट वाक’ भन्ने गरिन्छ । हात्तीको बच्चा (छावा)बीचको फुटबल, हात्ती–हात्तीबीच उनीहरुलाई विभिन्न रंगले सिँगारेर सौन्दर्य प्रतियोगिता पनि आयोजना हुन्छ । हात्तीका लागि पिकनिक राखेर अर्थात उनीहरुलाई मन पर्ने खाना उखु, भेली हालेर पकाएको चामलको खिरजस्ता खुराक पनि यही बेला खुवाइन्छ । क्षेत्रीय होटल संघ सौराहाले स्थानीय विभिन्न संघसंस्थासँग मिलेर हात्ती महोत्सव आयोजना गर्छ । 

सुरुका वर्षमा पुस ११ मा सुरु भएर तीन दिन चल्ने हात्ती महोत्सव चार वर्षयता पाँच दिनसम्म सञ्चालन हुन थालेको छ । ‘सुरुका वर्षमा हात्तीको दौड मात्रै हुन्थ्यो । पछिल्ला वर्ष हात्तीसँग सम्बन्धित अन्य गतिविधि पनि हुन थालेका छन् । त्यसैले यसलाई हात्ती महोत्सव भनिएको हो,’ क्षेत्रीय होटल संघ सौराहाका पूर्वअध्यक्ष शंकर सैजुले भने । सैजु होटल संघको महासचिव भएका बेला हात्ती दौड सुरु भएको हो ।

यसरी भयो हात्ती दौडको सुरुआत
सौराहाका पर्यटक व्यवसायीले जंगल घुम्ने पर्यटक चढाउने काममा मात्रै हात्तीको प्रयोग गर्दै आएका थिए । देशमा चलेको शसस्त्र संघर्षका कारण पर्यटक व्यवसाय संकटमा थियो । सौराहामा स्वदेशी पर्यटक नआउने प्रचल थियो । आउने विदेशी पर्यटक पनि कम भएर गए ।

देशमा संकटकाल लागेको वर्ष २०५८ मा चितवनको सौराहास्थित ५८ वटा होटलमध्ये पर्यटकको चाप घटेपछि २५ वटाले ढोका लगाए भन्छन् क्षेत्रीय होटल संघ सौराहाका पूर्वअध्यक्ष सैंजु । यस्तो बेला केही फरक गतिविधि गर्न आवश्यक थियो । के गर्ने होला भनेर सोची रहेका होटल व्यवसायीलाई पूर्व चितवन भण्डाराका नवराज पन्तले हात्ती दौड आयोजना गर्ने उपाय सुझाए । सन् २००४ बाट सुरु भएको हात्ती दौडले धेरै मन जित्दै गयो ।

त्यो बेला कोरियामा अध्ययनरत पन्त कोरियाली टेलिभिजनमा कार्यरत पत्रकारको टोली लिएर सौराहा आएका थिए । पन्त सम्झन्छन्, ‘मंगलोलियामा घोडा दौड हुन्छ त्यस्तै नेपालमा केही नयाँ गरौं भन्ने लाग्यो अनि कोरियाली टेलिभिजनकर्मीका अगाडि हात्ती दौडाएर देखायौं ।’

त्यो वर्षको असोजमा पहिलोपटक हात्ती दौडिए । त्यसको चर्चा कोरिया पुग्यो । नेपाली मिडियामा पनि खबर आए । त्यही वर्षको पुसमा नारायणगढमा चितवन महोत्सव हुँदै थियो । चितवन महोत्सको पर्यटन प्रवद्र्धन समितिका तत्कालीन संयोजक पवित्रलाल चुकेले हात्ती दौड फेरि गर्ने प्रस्ताव राख्दा सौराहाका पर्यटन व्यवसायी तयार भए । असोजको भन्दा अलि वृहत् ढंगले दौड आयोजना भयो भन्छन् क्षेत्रीय होटल संघका पूर्वअध्यक्ष सैंजु ।

अर्को वर्ष अर्थात सन् २००५ मा अलि बढी तामझामसाथ क्रिसमस र अंग्रेजी नयाँ वर्षको सन्दर्भ पारेर हात्ती दौड आयोजना भयो । त्यो वर्ष गाडा दौड थपियो भन्छन् सैंजु । सन् २००६ को हात्ती दौडमा टाँगा दौड पनि थपियो । क्षेत्रीय होटल संघले नेपाल पर्यटन बोर्डसँग सहकार्य सुरु ग¥यो । विदेशी मिडियाका प्रतिनिधि पनि सौराहा आए । त्यसपछि देश विदेशमा फैलियो हात्ती दौड । क्रिसमस र अंग्रेजी नयाँ वर्षमा विदेशी पर्यटक सौराहामा नै बसुन् भन्ने व्यवसायीको उद्देश्य थियो । 
सन् २००७ देखि छावाको फुटबल पनि थपियो । सन् २०१० देखि हात्तीको सौन्दर्य प्रतियोगिता पनि सुरु भयो । हात्तीका एक नभइ अनेक गतिविधि समेटिने भएपछि हात्ती दौडलाई महोत्सव भनिन थालियो । तीन दिन हुँदै आएको हात्ती दौड १०औं वर्ष पुगेको अवसरमा पाँच दिनसम्म आयोजना हुन थाल्यो । यो वर्ष डुंगा, टाँगा र गाडा दौड भने आयोजना नगरेको क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष सुमन घिमिरेले बताए । 

पशु अधिकारवादीको विरोध 
हात्ती महोत्सवका बेला आयोजना हुने कार्यक्रमका केही गतिविधिका विषयमा पशु अधिकारकर्मीले आवाज उठाउँदै आएका पनि छन् । ‘महोत्सव गरेर जनावर संरक्षणमा सन्देश दिन खोजेका हौं भन्ने आयोजकको दाबी छ । तर यहाँ आयोजना हुने हात्ती दौड र छावाको फुटबलका विषयमा हाम्रो विरोध छ । यी कार्यक्रम हात्तीको स्वभावभन्दा विपरितका हुन्,’ आवाज उठाउँदै आएको संस्था एनिमल राइट्स क्लवका अध्यक्ष सुराजन श्रेष्ठले भने ।

पशु कल्याणका विषयमा आफूहरु संवेदनशील रहेको आयोजकको भनाइ रहने गरेको छ । ‘उहाँहरुले उठाएका धेरै विषयलाई हामीले सकारात्मक रुपमा नै लिँदै आयोजनामा पनि सुधार गर्दै आएका छौं । हाम्रो उद्देश्य पर्यटनमा नौलो विषय थप्नु नै हो । तर जनावरमा पनि मर्का नपरोस भन्नका लागि हामी सजग छौं,’ क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष सुमन घिमिरेले भने । महोत्सवका बेलामा स्थानीय आदिवासी समुदाय थारुको पनि संस्कृति प्रवद्र्धन हुने गरेको छ ।

प्रकाशित: १४ पुस २०७४ ०१:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App