८ वैशाख २०८१ शनिबार
अर्थ

बागलुङ महोत्सव आजबाट

बागलुङ–उद्योग वाणिज्य संघ बागलुङको आयोजनामा बागलुङ महोत्सव–२०७४ शुक्रबार सुरु हुँदैछ । ‘कला संस्कृतिको संरक्षण, कृषि, पर्यटन, उद्योग तथा तथा व्यापारको प्रवद्र्धन’ नारासाथ प्रदेश नम्बर ४ स्तरीय  कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेला तथा बागलुङ महोत्सवको सबै तयारी पूरा भएको संघका अध्यक्ष जयराम भारीले जानकारी दिए । ‘महोत्सवको सबै तयारी पूरा भएको छ,’ भारीले भने, ‘विगतमा चैत्राष्टमीको अवसरमा पारेर गर्ने महोत्सव यसपटक पुसमै गर्न लागिएको हो ।’ 

जिल्लाको पर्यटन तथा व्यापार प्रवद्र्धनका लागि महोत्सव गरिएको हो । ‘स्थानीय उत्पादनको बजारीकरण र लघुउद्यम व्यवसाय प्रवद्र्धनमा पनि सहयोग पुग्नेछ,’ उनले भने ।

महोत्सवमा यहाँको व्यापारसँगै पर्यटन प्रवद्र्धन र कृषि प्रदर्शनी गर्ने गरी कार्यक्रम तयार गरिएको अध्यक्ष भारीले बताए । 
महोत्सव हेर्न बाहिरी जिल्लाबाट आउने पाहुनालाई जिल्लाका पर्यटकीय क्षेत्रको भ्रमण समेत गराउने उनले सुनाए । ‘कालिका मन्दिरसहित भकुण्डे र पञ्चकोट जानेलाई यातायातको व्यवस्था मिलाइएको छ,’ उनले भने ।

 महोत्सवमा रमाइलो मेला, बाल उद्यान, खुला लोकदोहोरी प्रतियोगिता, राष्ट्रिय भलिबल प्रतियोगिता सहित अन्य प्रतियोगितात्मक कार्यक्रम र ख्यातिप्राप्त कलाकारको प्रस्तुति रहने छ । महोत्सवमा पाँच दर्जनभन्दा बढी कलाकारको प्रस्तुति रहने कलाकार व्यवस्थापन उपसमिति संयोजक राजनकुमार शाक्यले बताए । मेलामा विभिन्न प्रतियोगितात्मक कार्यक्रम पनि हुनेछन् । 

महोत्सव स्थलभित्र करिब १० करोड रुपैयाँको कारोबार हुने आयोजकले जनाएको छ । महोत्सवमा एक सय ८२ स्टल छन् । करिब दुई लाखले अवलोकन गर्ने अनुमान गरिएको संघका महासचिव दयाराम पौडेलले बताए ।

 अँग्रेजी नयाँ वर्ष पनि महोत्सवकै बीचमा पर्ने भएकाले यसपटकको नयाँ वर्ष बागलुङ महोत्सवमै मनाउने व्यवस्था गर्न लागिएको संघका उपाध्यक्ष नरेश कँडेलले बताए । ‘यहाँबाट नयाँ वर्ष मनाउन पोखरा जाने प्रचलन छ,’ उनले भने, ‘यसपटकको नयाँ वर्ष बागलुङ महोत्सवसँगै मनाउन आह्वान गरेका छौं ।’ पहिलोपटक बागलुङमा उँट नाँच पनि हुने उनले जानकारी दिए ।  

 

प्रकाशित: १४ पुस २०७४ ०१:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App