८ वैशाख २०८१ शनिबार
अर्थ

इन्धनबाट पौने १६ अर्ब राजस्व

काठमाडौं–इन्धन कारोबारबाट नेपाल आयल निगमले सरकारलाई पौने १६ अर्ब रुपैयाँ राजस्व तिरेको छ । इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट इन्धन आयात गरेर बिक्री गर्दा निगमले आर्थिक वर्षको पहिलो पाँच महिनामा सो रकम बराबर राजस्व बुझाएको हो ।

पेट्रोल, डिजेल, मट्टीतेल, ग्यास, हवाई इन्धन कारोबार गरेबापत विभिन्न शीर्षकमा १५ करोड ६८ लाख रुपैयाँ राजस्व तिरेको निगमका निमित्त नायब कार्यकारी निर्देशक नागेन्द्र शाहले बताए । ‘नोभेम्बरसम्म आयकर बाहेक कर राजस्व रकम जम्मा भएको छ,’ शाहले भने, ‘पाँचवटा विभिन्न शीर्षकबाट संकलन भएको उक्त रकम सरकारलाई तिरेको हो ।’
निगमले इन्धन अयातमा भन्सार शुल्कबाट चार अर्ब १९ करोड रुपैयाँ, सडक मर्मत शुल्कमा एक अर्ब ६३ करोड, वातावरण खर्चमा ३१ करोड, मूल्य अभिवृद्धि कर ६ अर्ब ९ करोड, बूढीगण्डकी जलविद्युत आयोजनाको लागि पूर्वाधार विकास कर ३ अर्ब ५६ करोड रुपैयाँ संकलन गरेको हो । 

आइओसीबाट इन्धन खरिद गरेर ल्याएपछि नेपाल भित्रिँदा भन्सार कार्यालयले भन्सार शुल्क, सडक मर्मत शुल्क, वातावरण खर्च, मूल्य अभिवृद्धि कर, पूर्वाधार विकास कर सरकारको नाममा सिधै जम्मा गर्छ । निगमले पेट्रोल लिटरमा भन्सार शुल्क १५ रुपैयाँ २३ पैसा, डिजेल र मट्टीतेलमा २ रुपैयाँ ३ पैसा, हवाई इन्धन २ रुपैयाँ १३ पैसा र ग्यास सिलिन्डरको ५९ रुपैयाँ ७६ पैसा सरकारलाई तिर्ने गरेको छ ।

त्यसैगरी, सडक मर्मतसम्भार करमा पेट्रोलमा ४ र डिजेलमा २ रुपैयाँ तिर्छ । १२ सय मेगावाटको बूढीगण्डकी जलविद्युत् आयोजनाको लागि पेट्रोल, डिजेल, हवाई इन्धनमा लिटरमा ५ रुपैयाँ, प्रदूषण शुल्क पेट्रोल र डिजेलमा ५० पैसा रहेको छ ।  
यसरी हेर्दा सम्पूर्ण राजस्व र मूल्य अभिवृद्धि कर समेत गरी पेट्रोल लिटरमा ३७ रुपैयाँ ३५ पैसा, डिजेलमा १९ रुपैयाँ २८ पैसा, मट्टीतेलमा २ रुपैयाँ ८१ पैसा, हवाई इन्धन आन्तरिकतर्फ १८ रुपैयाँ, अन्तर्राष्ट्रिय उडानतर्फ ५ रुपैयाँ ८९ पैसा, खाना पकाउने ग्यासमा एक सिलिन्डरमै २ सय २४ रुपैयाँ ८९ पैसा संकलन गरेर तिर्ने गरेको छ ।

निगमले अहिले पेट्रोल प्रतिलिटर १ सय १ रुपैयाँ, डिजेल ७७ रुपैयाँ , हवाई इन्धन आन्तरिकतर्फ ८७ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर ८ सय ५० डलर, ग्यास प्रतिसिलिन्डर १३ सय ५० रुपैयाँमा बिक्री गरिरहेको छ ।
आयकर भने आर्थिक वर्ष समाप्त भएपछि नाफा–घाटा हिसाब गरेर बुझाउने गरेको छ ।

निगमले आर्थिक वर्ष ०७३÷७४ मा चार अर्ब रुपैयाँ आयकर बुझाएको थियो । गत आर्थिक वर्ष कुल कर राजस्व ४६ अर्ब ६९ करोड रुपैयाँ तिरेको थियो । सरकारले लिएका विभिन्न शीर्षकको करसहित निगमले मूल्य स्थिरीकरण कोष, ढुवानी भाडा, बिमा खर्च, निगमको प्रशासनिक र बिक्री खर्च, प्राविधिक नोक्सानी, निगमको पूर्वाधार विकासको लागि थप रकम लिएर उपभोक्तालाई बिक्री गर्ने गरेको छ । 

यो अवधिमा ९ लाख ५६ हजार ४ सय ६९ किलोलिटर इन्धन आयात भएको छ । गत वर्षको तुलनामा इन्धन खपत वृद्धि भएको छ । गत वर्षको नोभेम्बरको तुलनामा अहिले ३३.८४ प्रतिशतले इन्धन आयात बढेको निगमले जनाएको छ । गत वर्ष १ लाख ७८ हजार २ सय ४५ किलोलिटर आयात भएकोमा यो वर्षको नोभेम्बरमा २ लाख ३८ हजार ५ सय ६९ किलोलिटर आयात भएको छ ।

निर्वाचन, निर्माणका कामले तीव्रता पाएकाले इन्धन खपत बढेको निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले बताए । ‘हिउँदमा निर्माणका काम बढ्ने भएकाले इन्धन खपत बढी हुन्छ,’ उनले भने, ‘हरेक वर्ष इन्धन खपत बढ्दै गएको छ । ’पेट्रोल ३६ हजार ५ सय किलोलिटर, डिजेल १ लाख १५ हजार, मट्टीतेल १८ सय, हवाई इन्धन १५ हजार किलोलिटर र ग्यास ३० हजार टन मासिक रुपमा खपत हुने निगमले जनाएको छ ।

 

प्रकाशित: १४ पुस २०७४ ०१:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App