७ वैशाख २०८१ शुक्रबार
कला

जनप्रतिनिधि समक्ष कलाकारको माग

काठमाडौं–खोटाङका कलाकारले कला, संस्कृति, संगीत तथा साहित्यको प्रवद्र्धन एवं संरक्षणका लागि नवनिर्वाचित जनप्रतिनिधिको ध्यानाकर्षण गराएका छन् । खोटाङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य विशाल भट्टराई, प्रदेशसभा सदस्य राजन राई र रामकुमार राईलाई राजधानीमा आयोजित बधाई तथा अन्तरक्रिया कार्यक्रममा कलाकारले जिल्लाको कला, संस्कृति, संगीत र साहित्यको प्रवद्र्धनमा ध्यानाकर्षण गराएका हुन् । 

राजधानीमा बसेर कलाकारितामा संलग्न कलाकारले कलाकारिताको प्रवद्र्धनमा कसैको चासो पुग्न नसकेको भन्दै जनप्रतिनिधिलाई लिखित मागपत्र पनि थमाएका छन् । मागपत्रमा खोटाङमा हरेक वर्ष राष्ट्रिस्तरको खोटाङ हलेसी महोत्सव आयोजना हुनुपर्ने, नाटक, लघु नाटक मञ्चन, साहित्यिक भेला गर्नका लागि सांस्कृतिक भवन एवं संग्रहालय, स्रष्टाहरुको प्रतिमा र मौलिक होम स्टेसहितको नमुना गाउँ निर्माणलगायतका माग छन् । 

भीमबहादुर थापा, लक्ष्मी गिरी, जसराज किराती, नवल खड्का, महेश खड्कालगायत १० श्रष्टा तथा कलाकारको संयुक्त हस्ताक्षर भएको माग–पत्र कार्यक्रमकै बीचमा नवनिर्वाचित जनप्रतिनिधिलाई हस्तान्तरण गरिएको थियो । ‘कला, संस्कृति, संगीत तथा साहित्यको प्रवद्र्धनका लागि हरेक वर्ष खोटाङ हलेसी महोत्सव गर्नुपर्छ भनेका छौँ ।

यस्तै नाटक, लघु चलचित्र प्रदर्शन गर्ने र साहित्यिक जमघट गर्नका लागि सांस्कृतिक भवन बनाउन माग राखेका छौँ,’ कार्यक्रमको संयोजन गरेका कान्तिपुर फिल्म एकेडेमीका सिइओ प्रकाश पुरीले भने, ‘तेश्रो, संग्रहालय, श्रष्टाको प्रतिमा, पर्यटकीय स्थलको झल्को दिने संरचना भएको एउटा नमूना गाउँ बनाउनका लागि ध्यानाकर्षण गराएका छौँ ।’ 

जनप्रतिनिधिलाई कलाकार नवल खड्का, महेश खड्का, खगेन्द्र राई र पुरीले माग–पत्र बुझाएका हुन् । कार्यक्रममा नयाँ र पुरानो गरी दुई दर्जन कलाकारको जमघट भएको थियो । 

 

प्रकाशित: १४ पुस २०७४ ००:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App