८ वैशाख २०८१ शनिबार
खेल

कुकको कीर्तिमानी दोहोरो शतक

मेलबर्न – एलेस्टर कुकको कीर्तिमानी दोहोरो शतकप्रेरित इङ्ल्यान्डले बिहीबार एसेज शृंखलाअन्तर्गत अस्ट्रेलियाविरुद्धको चौथो टेस्ट पूर्ण नियन्त्रणमा लिएको छ।

तेस्रो दिनको खेल समाप्तिमा इङ्ल्यान्ड ४९१–९ मा खेलिरहेको छ र टोलीले १ सय ६४ रनको अग्रता लिइसकेको छ । कुक अविजित २ सय ४४ रनमा खेलिरहेका छन् । ४ सय ९ बल खेलेका कुकले २२ चौका प्रहार गरे।

कुक मेलबर्न क्रिकेट मैदान (एमसिजी) मा टेस्ट क्रिकेटमा सर्वाधिक रन प्रहार गर्ने भ्रमणकारी खेलाडीसमेत बनेका छन् । कुकले वेस्ट इन्डिजका भिभ रिचार्डले सन् १९८४ मा राखेको २ सय ८ रनको कीर्तिमानलाई पछि छोडेका हुन् । साथै उनी एमसिजीमा सर्वाधिक रन प्रहार गर्ने इङ्लिस ब्याट्सम्यानसमेत बनेका छन् । कुकले सन् १९२८ मा वाले हामोन्डले राखेको २ सय रनको कीर्तिमान उछिनेका थिए।

१९२–२ बाट तेस्रो दिनको खेल सुरु गरेको इङ्ल्यान्डले कप्तान जो रुटलाई ६१ रनमा गुमाएको थियो । पाट कमिङ्सको बलमा नाथन लियोनबाट क्याच हुनुअघि १ सय ३३ बल खेलेका रुटले ७ चौका प्रहार गरे । त्यसपछि ब्याटिङका लागि आएका अन्य कुनै पनि ब्याट्सम्यानले कुकलाई दरिलो साथ दिन सकेका थिएनन् । क्रिस ओक्सले २६, विकेटकिपर जोनी बेयरिस्टोले २२ र मोइन अलीले २० रन मात्र जोड्न सके । लगातार विकेट गुमाएपछि इङ्ल्यान्ड ४ सयको योगफलमा समेत नपुग्ने देखिएको थियो । तर नवौं विकेटका लागि स्टुवाट ब्रोडले कुकलाई गतिलो साथ दिँदै इङ्ल्यान्डलाई सम्मानजनक योगफलतर्फ डो¥याएका थिए।

कुक र ब्रोडले नवौं विकेटका लागि १ सय १० बलमा १ सय रनको साझेदारी गरेका थिए ।  ६३ बल खेलेका ब्रोडले ८ चौका र १ छक्काको मद्दतमा ५६ रन जोडे । अस्ट्रेलियाका जोस हाज्लेउड, कमिङ्स र लियोनले समान ३÷३ विकेट लिए । सुरुआती तीन टेस्ट जित्दै अस्ट्रेलियाले एसेज शृंखला ३–० ले आफ्नो पक्षमा पारिसकेको छ।

 

प्रकाशित: १४ पुस २०७४ ००:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App