धरान–एमेच्योर खेलाडी टंकबहादुर कार्कीले ३ अन्डर ६७ स्कोर गर्दै धरानको निर्वाणा कन्ट्री क्लबमा जारी सूर्य नेपाल इस्टर्न ओपन गल्फ प्रतियोगिताको दोस्रो दिन एकल अग्रता लिएका छन्।
उनले नेपाल नम्बर एक व्यावसायिक खेलाडी शिवराम श्रेष्ठ र अर्का एमेच्योर शुक्रबहादुर राईलाई दुई स्ट्रोकले पछि पारे । ३६ होलको खेल समाप्तिमा टंकबहादुरको कुल स्कोर ७ अन्डर १ सय ३३ हुँदा बिहीबार १ अन्डर ६९ खेलेका शिवराम र २ अन्डर ६८ को प्रदर्शन गरेका शुक्रबहादुरको स्कोर समान ५ अन्डर १ सय ३५ छ।
इभन पार ७० खेलेका सञ्जय लामा समग्रमा ३ अन्डर १ सय ३७ स्कोरका साथ चौथो स्थानमा छन् भने भुवन नगरकोटी (६६) र शिवकुमार माझी (६८) समान १ अन्डर १ सय ३९ स्कोरका साथ संयुक्त रूपमा पाँचौं स्थानमा छन्।
स्थानीय एमेच्योर खेलाडी नीरज तामाङ (६७) र धराने व्यावसायिक गल्फर बलभद्र राई (७०) समान इभन पार १ सय ४० स्कोरका साथ संयुक्त रूपमा सातौं स्थानमा छन् । यसै गरी जयराम श्रेष्ठ (७३) र दीपक मगर (७०) समान १ ओभर १ सय ४१ स्कोरका साथ संयुक्त रूपमा नवौं स्थानमा छन्।
तीनदिने प्रतियोगिताको अन्तिम दिन शुक्रबार हुने १८ होलको खेलका लागि ७ ओभर १ सय ४७ मा कट (खेलाडी छनोट) गर्दा ६ एमेच्योरसहित शीर्ष २७ खेलाडी छनोट भए।
कुल ३० व्यावसायिक र ३१ एमेच्योर खेलाडी सहभागी प्रतियोगिताको विजेताले १ लाख १५ हजार रुपैयाँ पाउनेछ भने दोस्रो हुनेले ७४ हजार तथा तेस्रो हुनेले ५३ हजार रुपैयाँ पाउने आयोजक नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसनले जनाएको छ । अन्तिम दिनको खेलका लागि कटमा सफलता हासिल गर्ने सबै २१ व्यावसायिक गल्फर नगद पुरस्कारको भागीदार बन्नेछन्।
प्रकाशित: १४ पुस २०७४ ००:३५ शुक्रबार