coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

छक्क पर्दै प्रधानमन्त्रीले सोधे- ‘नारायणगढ मुग्लिन-सडक अझै बनेको छैन’

चितवन– पर्यटकीय होटल व्यवसायीहरुको संस्थाले सौराहामा आयोजना गरेको हात्ती महोत्सव उद्घाटन गर्न मंगलबार चितवन आएका प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष वक्ताहरुले नारायणगढ मुग्लिन सडक खण्डको निर्माण चाडै नसकिएका कारण पर्यटन चैपट भएको कुरा राखे । व्यवसायीको कुरा सुनेर प्रधानमन्त्री देउवा आफैँ छक्क परे । केही महिनाअघि आफैँले निरीक्षण गरेर काम चाडै सक्न निर्देशन दिएको सम्झना उनले गरे ।

‘मुग्लिनदेखि यहाँ आउने सडक अझै बनेको रहेनछ । अझै समस्या आएको थाहा पाउँदा मलाई दुःख लागेको छ । म आफैँ आएर काम हेरेको थिएँ । दुई तीन महिनामै बाटो बनाउने सबैले मलाई आश्वासन दिएका थिए । तर अहिलेसम्म बाटो बनिसकेको छैन भनेर सुन्दा बडा दुख लागेको छ,’ प्रधानमन्त्रीले भने । प्रधानमन्त्री देउवाले सडक निरीक्षण गरेर काम सक्ने निर्देशन दिएको पाँच महिना पुग्दैछ ।     

गएको साउन १८ गते प्रधानमन्त्री शेरबहादुर देउवा विस्तारको काम भइरहेको नारायणगढ मुग्लिन सडक निर्माणको निरीक्षणको लागि आएका थिए । सो बेला आयोजना प्रमुख र ठेकेदारहरुलाई प्रधानमन्त्री देउवाले युद्ध स्तरमा काम गरेर आयोजनाको काम चाडो सक्न निर्देशन दिए । तर प्रधानमन्त्रीको निर्देशनपछि अहिलेसम्म थप १५ प्रतिशत मात्रै काम भएको छ ।

त्यो बेला प्रधानमन्त्री देउवा यातायात मन्त्री, सांसद र सचिवहरुको जम्बो टोली लिएर निरीक्षणमा आएका थिए । हेलिकप्टर ल्याएर आएको टोली हेलिकप्टरबाट झरेपछि सडक मार्ग हुँदै केही परसम्म पुगेर निर्माण कार्यको अनुगमनसमेत गरेको थियो । राजधानी काठमाडौंको ‘लाइफ लाइन’का रुपमा रहेको हुँदा सो सडकको काम तत्काल सक्न प्रधानमन्त्री, मन्त्री र उच्च सरकारी अधिकारीहरुले पटक पटक निर्देशन दिए ।

प्रधानमन्त्री लगाउतले चासो दिएपछि सडक निर्माणको कामले रफ्तार लेला भन्ने धेरैलाई लागेको थियो । तर आयोजनाको सुस्त पारमा कुनै सुधार आएको छैन । ‘नेपालमा यही हो समस्या । काम छिटो हुँदैन विकास कार्य यसैका कारण प्रभावित हुने गरेको छ’ मंगलबार प्रधानमन्त्री देउवाले सौराहामा भने ।

लक्ष्यभन्दा १६ प्रतिशत कम काम
निरीक्षणको लागि साउनमा आएको प्रधानमन्त्रीसहितको टोलीलाई निर्माणको अवस्थाका बारेमा जानकारी गराउँदा आयोजना प्रमुख चन्द्रनारायण आयदवले साउन १५ सम्म लगभग साढे ५३ प्रतिशत काम पुरा भएको बताएका थिए । जब कि त्यो बेला भदौ असोजमा काम सक्ने लक्ष्य थियो । जस अनुसार त्यो बेलासम्म सडक निर्माणको ८२ प्रतिशत काम सकिनु पर्ने थियो । काम नसकिने देखेपछि आउँदो फागुनसम्म म्याद भयो ।
आयोजनाका सुचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार थपिएको मितिमा काम सक्नका लागि अहिलेसम्म लगभग ८४ प्रतिशतको हाराहारीमा काम हुनु पर्दथ्यो । तर जम्मा ६८ प्रतिशत मात्रै काम भएको  छ । सडक आयोजना सम्पन्न हुने समय तीन पटक थपिएको छ । थपिएको नयाँ मितिमा पनि काम सकिने सम्भावना देखिएको छैन ।
प्रधानमन्त्री देउवाअघि संसदको विकास समितिका सभापति रविन्द्र अधिकारीसहितका सांसदहरुको टोली आएर सडक निर्माणका विषयमा अनुगमन गरेको थियो । समितिले पनि सडकको काम तत्काल सक्नका लागि विशेष निर्देशनहरु दिएको थियो । प्रधानमन्त्रीपछि पनि यातायात राज्य मन्त्रीको नेतृत्वमा आएको टोलीले अनुगमन नगरेको होइन । तर आयोजनाको काम गर्ने तरिकामा सुधार देखिएको छैन ।
सो सडक गत वर्ष अर्थात सन् २०१७ कै अप्रिल महिनामा निर्माण भएर सकिनु पर्ने सुरुवातको सम्झौता थियो । तर काममा निकै ढिलाई भएको छ । सडक निर्माण हुने अवधी थप गर्दै आउँदो वर्ष अर्थात सन् २०१८ को फेब्रुअरी २० अर्थात फागुन पहिलो हप्तासम्म निर्माण सकिने भनिएको छ । तर काम धेरै नै बाँकी छ ।

आठ सय मिटर पहाड काट्ने काम बाँकी
सडक फराकिलो बनाउन पहाडको भित्ता काट्नु पर्ने हुन्छ । नारायणगढ मुग्लिन सडक निर्माण आयोजनाका सुचना अधिकारी शिव खनालका अनुसार पहाड काट्ने काम अझै आठ सय मिटर जति बाँकी नै छ । वर्षातको समयमा पहाड काट्ने काम रोकिएको थियो । त्यसपछि पहाड काट्ने काम हुन नसकेको खनालले बताए । त्यस्तै पहाड काट्न निकै गाह्रो भएको १२० मिटर क्षेत्रमा क्यान्टि लिभर पुल राख्ने तयारी छ ।
क्यान्टि लिभर राख्ने काम पनि सुरुवात भएको छैन । ‘पहाड काट्न सक्दैै नसक्ने ठाउँमा क्यान्टि लिभर राख्ने योजना हो । नौ ठाउँमा गरेर लगभग १२३ मिटर क्षेत्रमा क्यान्टि लिभर बस्छ । तर यो काम सुरु हुन सकेको छैन’ खनालले भने । एका तर्फ नदी र अर्को तर्फ काट्न नसकिने पहाड भएको ठाउँमा घरको बार्दली जस्तै नदी तर्फ सिमेन्टको पक्की संरचना निकालेर बाटो फराकिलो बनाउने तरिकालाई क्यान्टि लिभर भनिएको हो ।
चितवन जिल्ला प्रशासनले पटक पटक ताकेता गरेर जेठसम्म पहाड काट्ने काम सक्न निर्देशन दिएको थियो । त्यस्तै क्यान्टि लिभर राख्ने काम असोजमा सुरु हुने आयोजनाका अधिकारीहरुले बताउँने गरेका थिए । तर अहिलेसम्म न पहाड काट्ने काम सकिएको छ । न पहाड काट्न नसकिने ठाउँमा क्यान्टि लिभर राख्ने काम नै सुरु भएको छ ।

कालोपत्रेको काम अगाडी बढ्दै
कुल ३६ किलो मिटर लम्बाइको नारायणगढ मुग्लिन सडकमा हाल ३३ किलो मिटर क्षेत्रलाई एसियाली मापदण्ड अनुरुपको दुई लेनको बनाउने काम भइरहेको हो । नारायणगढ आँपटारीदेखि पश्चिम १६ किलो मिटरसम्म सो सडक ११ मिटर चौडा हुन्छ । १६ किलो मिटरदेखि मुग्लिनसम्म नौ मिटर चौडा हुने नारायणगढ मुग्लिन सडक आयोजनाका सुचना अधिकारी इन्जिनियर शिव खनालले बताए ।
सो सडक हाल साढे पाँच मिटर मात्रै चौडा छ । दैनिक १० हजार गाडी ओहोर दोहर गर्ने सो सडक राजधानी काठमाडौं र पर्यटकीय सहर पोखरालाई पुर्व र पश्च्मि नेपालसँग जोड्ने मुख्य मार्ग हो । ठुला यात्रु बस र बढी भार क्षमताको ट्रकहरु चल्न मिल्ने यस्तो भरपर्दो सडक अरु नहुँदा राजधानी जान आउन र सामानहरु लैजान यही नारायणगढ मुग्लिन सडकको भर पर्नु पर्छ ।
विस २०३६ सालमा नारायणगढलाई गोरखासँग जोड्नका लागि चीन सरकारको सहयोगमा सो सडक निर्माण भएको हो । विस्तारको काम सुरु गर्न सन् २०१५ को अप्रिलमा सम्झौता भएको थियो । सम्झौता भएको मितिले दुई वर्षभित्र काम सक्ने भनिएको थियो । सुरुको मितिमा नभएर तेस्रो पटक थपेको म्यादभित्र पनि काम सकिन गाह्रो हुने निश्चित छ ।
कटिङ लगायतका काम बाँकी नै रहे पनि कालोपत्रेको काम भने सुरु भएको छ । अहिलेसम्म साढे १३ किलो मिटरमा पहिलो तहको कालोपत्रे गर्ने काम सकिएको सुचना अधिकारी खनालले बताए । सो सडकमा तीन पटकसम्म गरेर १६ सेन्टी मिटर कालो पत्रे हुन्छ । पहिलो पटक छ सेन्टी मिटर, दोस्रो पटक पनि छ सेन्टी मिटर र अन्तिममा चार सेन्टी मिटर मोटो कालोपत्रे हुन्छ ।
पहिलो तहको छ सेन्टी मिटर कालोपत्रे साढे १३ किलो मिटर र दोस्रो तहको कालोपत्रे १० किलो मिटर जति भएको खनालले जानकारी दिए । तेस्रो तहको कालो पत्रे भने भएको छैन । सडक निर्माणलाई गति दिन गाडी रोकेर काम गर्नु पर्ने हुन्छ । पर्व तथा चुनाबका कारण यो पटक गाडी रोकेर काम गर्न नसकेको आयोजनाका अधिकारीहरुले बताएका छन् । पुस १८ गतेबाट भने राति १० देखि बिहान चार बजेसम्म गाडी बन्द गरेर पहाड काट्ने काम सुरु हुँने भएको छ ।

प्रकाशित: १३ पुस २०७४ ०४:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App