coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

प्रदेश २ मा सरकार बनाउन पहल गर्ने राजपाको पहल

काठमाडौं- राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले २ नम्बर प्रदेशमा आफू र संघीय समाजवादी फोरम नेपाल गठबन्धनको सरकार बनाउन पहल गर्ने निर्णय गरेको छ । यी दुई दल २ नम्बर प्रदेशमा गठबन्धन बनाएर प्रदेश र प्रतिनिधिसभा निर्वाचन लडेका थिए ।
राजपा राजनीतिक समितिको बुधबारको बैठकले फोरमसँग मिलेर सरकार गठन गर्न अघि बढ्ने निर्णय गरेको हो । बैठकले संघीय फोरमसँग निर्वाचनमा भएको सहकार्यलाई प्रदेश सरकार गठनमा पनि निरन्तरता दिने निर्णय लिएको छ ।  ‘दुई नम्बर प्रदेशमा मधेस सरकार गठन गर्न अघि बढ्ने निर्णय गरेका छौं’, बैठकपछि राजपा अध्यक्षमण्डलका सदस्य शरतसिंह भण्डारीले नागरिकसँग भने । बैठकले राष्ट्रियसभा निर्वाचनका लागि एकल संक्रमणीय निर्वाचन प्रणालीका पक्षमा पार्टीलाई उभ्याउने निर्णय पनि गरेको छ । सरकारले एकल संक्रमणीय प्रणालिका आधारमा राष्ट्रियसभा गठन गर्ने प्रावधान राखेर ल्याएको अध्यादेश राष्ट्रपति कार्यालयमा अड्किएको छ । बैठकले राष्ट्रपतिले सरकारले स्वीकृतिका लागि पेस गरेको सो अध्यादेश रोक्न नहुने निष्कर्ष पनि निकालेको छ । समावेशी सिद्धान्त कार्यान्वयन गर्न पार्टी एकल संक्रमणीय निर्वाचन प्रणालीको पक्षमा उभिएको जानकारी भण्डारीले दिए । बैठकमा निर्वाचन समीक्षा, निर्वाचन आयोगमा पठाउने प्रदेशसभा समानुपातिक सदस्यको नामावलीलगायत विषयमा  पनि छलफल भयो ।
समानुपातिकमा सकस  
बैठकको मुख्य  अजेन्डा प्रदेशसभामा  समानुपातिक प्र्रणालिअन्तर्गत पार्टीबाट निर्वाचित हुने सदस्यको नाम टुंगो लगाउने भए निर्णय भएन । राजनीतिक समितिको बैठकले समानुपातिकतर्फबाट सांसद हुने नाम टुंगो लगाउन नसकेपछि यसको जिम्मा  अध्यक्षमण्डलका सदस्यलाई दिएको जानकारी भण्डारीले दिए । उनका अनुसा शुक्रबारसम्म अध्यक्षमण्डलका सदस्यहरूको बैठक बसेर नाम टुंगो लगाएर निर्वाचन आयोगमा पठाउने सहमति भएको छ । बिहीबार अध्यक्षमण्डलको बैठक बस्नेछ । राजपाले समानुपातिकतर्फ २ नम्बर प्रदेशमा १०, प्रदेश नम्बर ५ मा १ र प्रदेश नम्बर ७ मा १ सिट पाएको छ । राजपालाई  २ नम्बर प्रदेशबाट निर्वाचन आयोगमा पठाउने नाम टुंगो लगाउन सकस भएको छ । २ नम्बर प्रदेशमा राजपाले पाएको १०  सिटका लागि ७ महिला र तीन पुरूषको नाम पठाउनुपर्नेछ । पुरूषको नाममा सहमति जुटाउन सकस भएको स्रोतले बतायो । तीन पुरूष सिटमा आदिवासी, जनजाति, थारू, मुस्लिम, दलित, मधेसीको कलष्टर पनि मिलाउनुपर्ने बाध्यता छ ।  राजपा सहमहामन्त्री  डा. सुरेन्द्र झाले वरिष्ठता, क्षमता, कार्यशैली, विगतको पुष्ठभूमि, मधेस आन्दोलनमा सक्रियतालगायतलाई  आधार मानेर नाम चयन गरिने बताए  । यसअघि पार्टीले आयोगमा बुझाएको २ नम्बर प्रदेश समानुपातिक बन्दसूचीमा पुरूषतर्फ  रामनरेश राय यादव, जानकीशरण साह, नेत्रविक्रम साह, विनोदकुमार सिंह, काशीराम यादव, केशव झाको नाम अग्रपंक्तिमा छ । यसैगरी महिलातर्फ बविताकुमारी चौधरी, निलमदेवी भुमियार, अञ्जुकुमारी, डिम्पल झा, निराकुमारी साह, अल्काकुमारी चौधरी, रिना यादवको नाम अग्रपंक्तिमा छ ।

प्रकाशित: १३ पुस २०७४ ०२:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App