coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रदेश–४ : पर्यटन र जलस्रोतमा अब्बल

पोखरा- धेरैतिर प्रदेश राजधानीबारे बहस र विवाद चलिरहँदा प्रदेश–४ मा भने निर्विकल्प पोखरालाई स्वीकारिएको छ । प्रदेशभित्रका ११ जिल्लाको केन्द्रबिन्दु पोखराको विकल्पमा अहिलेसम्म कतै पनि प्रदेश राजधानी प्रस्ताव गरिएको छैन ।

‘प्राकृतिक स्रोतसाधन सदुपयोग गरी फाइदा लिन कर्मचारी र नेताको मानसिकता परिवर्तन हुनुपर्छ ।’

प्राकृतिक तथा सुन्दर सहरको पहिचान बनाएको पोखरा विवादरहित प्रदेश राजधानी बन्नेमा सबै ढुकछन् । मुलुककै पर्यटकीय सहरको पहिचान कमाएको, प्रदेशभित्रका जिल्लाको केन्द्रबिन्दु रहेको र विकल्पमा  अन्यत्र उपयुक्त सहर नभएकाले पनि पोखरा निर्विवाद भएको हो । प्रदेशभित्रका अरू जिल्लाको तुलनामा कास्की पोखरा समृद्ध र अवसरैअवसरले भरिएकाले पनि विकल्प नखोजिएको जानकार बताउँछन् ।
पृथ्वीनारायण क्याम्पस राजनीतिशास्त्रका प्राध्यापक कपिलमणि दाहाल पोखरामा धेरै पूर्वाधार बनिसकेकाले पनि प्रदेश राजधानीका लागि यसको विकल्प खोजी नभएको बताउँछन् । ‘क्षेत्रीय रूपमा विकास पूर्वाधार हेर्दा पनि पोखरा बलियो छ । अन्यत्र पूर्वाधार एकातिर, प्रदेश राजधानी अर्काेतिर प्रस्तावित छन्,’ उनले भने, ‘तर, पोखरामा त्यो अवस्था छैन । जे जति छन् ती सबै पोखरामै छन् ।’
उनका अनुुुसार प्रदेश राजधानी भिन्दै सरकारजस्तै भएकाले यसको महŒव हुन्छ । ‘देशभित्रको देशको राजधानीको अवसर पनि हो,’ उनले भने, ‘त्यही भएर अन्य प्रदेशमा विवादसँगै राजधानीमा तानातान भएको हो ।’ भौगोलिक, प्रशासनिक, आर्थिक, भौतिक संरचनाका हिसाबले पनि पोखरालाई निर्विकल्प प्रदेश राजधानी स्वीकारिएको उनले बताए ।
दाहालको अनुभवमा प्रदेश–४ पर्यटकीय, जलस्रोत, कृषि, जडिबुटीका हिसाबले धनी छ । पोखरामात्र नभई यो प्रदेशभित्रका जिल्लामा विकासका ठूला आयोजना बनिरहेका छन् । ती आयोजनासमेत सिंगो पोखरालाई समृद्ध बनाउन पर्याप्त हुनेछन् । ‘जलविद्युत् र पर्यटनमा सबैभन्दा बढी सम्भावना छ । जडिबुटी पनि यहाँको मुख्य आम्दानीको बाटो हो । त्यस्तै कृषिमा आधुनिकीकरण अपनाउने हो भने अब्बल छ,’ उनले भने, ‘राजधानी हुनासाथ अरू अवसर बढिहाल्छन् ।’
प्रदेशभित्रका मुस्ताङ, मनाङलगायत जिल्ला पदयात्रा र साहसिक पर्यटनले विश्वमै कहलिएका छन् । ती जिल्ला घुम्न जान विदेशी पर्यटकले विशेष स्वीकृति लिएर अतिरिक्त शुल्क तिर्नुपर्छ । विश्वकै साहसिक पदयात्रा अन्नपूर्ण फेरो पदमार्ग यही प्रदेशमा पर्छ । त्यस्तै अन्नपूर्ण आधारशिविर पदमार्ग पनि यहीं छ । जसले पर्यटनमा ख्याति पाएको छ । पदयात्राले हिमाली जिल्लालाई समेत समृद्ध बनाएको छ ।
बागलुङको ढोरपाटन शिकार आरक्ष, गोरखाको मनास्लु संरक्षण क्षेत्रसहित ऐतिहासिक दरबार, तनहुँका ऐतिहासिक क्षेत्र पनि यही प्रदेशमा पर्छन । ती सबै पर्यटकीय दृष्टिले आकर्षक गन्तव्य हुन्, जसले पोखरालाई समृद्ध बनाउन सघाउँछ । सिंगो अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनासमेत यसै प्रदेशमा पर्छ ।
पर्यटन बोर्ड पोखराका प्रबन्धक सूर्य थपलियाका अनुसार वर्षमा करिब ३ लाख विदेशी पर्यटक पोखरा आउँछन् । आन्तरिक पर्यटक पनि लाखौं आउँछन् तर, त्यसको लेखाजोखा छैन । विदेशीमध्ये करिब ४० प्रतिशत साहसिक पदयात्री हुन्छन् । पाहुना भित्रिएसँगै लगानी पनि बढेको छ । ‘पोखराको समृद्धि पर्यटनमै अडेको छ । पर्यटक भित्रिनासाथ विदेशी आम्दानी थपिन्छ, त्यसले मुलुकलाई नै समृद्ध बनाउन सघाउँछ,’ थपलियाले भने, ‘पर्यटनमा अवसर थपिनासाथ त्यसले अरू अवसर पनि भिœयाउँछ । जुन जनताको दैनिकीसँग जोडिन्छ ।’
पोखरामा निर्माणाधीन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलले पनि प्रदेश राजधानीलाई समृद्धिको अवसर उपलब्ध गराउने थपलिया बताउँछन् । चालू विमानस्थलबाट काठमाडौं, भरतपुर, भैरहवा, मनाङ, मुस्ताङमा नियमित उडान भइरहँदा त्यसले पनि गन्तव्य जोड्न सघाएको उनी बताउँछन् । कहलिएका धार्मिक महŒवका क्षेत्र पनि यसै प्रदेशभित्र छन् । मुस्ताङको मुक्तिनाथ, बागलुङको कालिका, म्याग्दीको गलेश्वरलगायत धार्मिक क्षेत्र यही प्रदेशभित्र पर्छन् । ती धार्मिक गन्तव्यले धार्मिक पर्यटक तानिरहेका छन् । मुक्तिनाथ दर्शन गर्न बर्सेनि हजारौं भारतीय पाहुना आउँछन् ।
विज्ञहरूका अनुसार पर्यटनबाहेक यो प्रदेशमा जलविद्युत्को पनि पर्याप्त अवसर छ । स्याङजाको कालिगण्डकी ए (१४४ मेगावाट), लम्जुङको मध्यमस्र्याङ्दी (७२ मेगावाट), मस्र्याङ्दी ए (५० मेगावाट) सम्पन्न भएका ठूला आयोजना हुन् । त्यस्तै लम्जुङमा साना आकारका आधा दर्जन विद्युत् आयोजना बनिसकेका छन् । ६ सय मेगावाट क्षमताको अपरमस्र्याङ्दी पनि पाइपलाइनमै छ । तनहुँको मस्र्याङ्दी (६९ मेगावाट) पनि यसै प्रदेशमा पर्छ । त्यस्तै तनहुँ हाइड्रो (१ सय ४० मेगावाट) पनि निर्माणक्रममा छ । बूढीगण्डकी (१ हजार दुई सय मेगावाट) को अधिकांश खण्ड यसै प्रदेशमा पर्छ । बागलुङ, म्याग्दी र पर्वतमा पनि विद्युत्का साना–ठूला धेरै आयोजना बन्दै छन् ।
त्यसबाहेक पोखरामै ठूला आकारका अस्पताल, शिक्षण अस्पताल, विश्वविद्यालयलगायत पूर्वाधार बनिसकेका छन् । खेलकुदमा पनि यो प्रदेशमा पर्याप्त अवसर छ । पोखरामा आधुनिक रंगशाला निर्माणाधीन क्रममा छ । हालकै रंगशालामा पनि खेलकुदका ठूला प्रतियोगिता हुँदै आएको छ । त्यस्तै तिब्बतको सीमासँग जोडिएका मुस्ताङको कोरला र गोरखाको सामागाउँ र छेकम्पार नाका खुलाउन सक्ने हो भने द्विपक्षीय व्यापारले यो प्रदेशको समृद्धि झनै फराकिलो हुने नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मी बताउँछन् । बाह्रैमहिना ती नाका खुलाउन  स्थानीयले माग गरिरहेका छन् । चीनसँग कूटनीतिक सम्बन्ध विस्तार गरेर ती नाका खोल्दा फाइदा लिन सकिने विज्ञ बताउँछन् । त्यसबाहेक पृथ्वी राजमार्ग र सिद्धार्थ राजमार्गले पोखरालाई सिधै ३ र ५ नम्बर प्रदेशसँग जोडेका छन् ।
प्राध्यापक दाहालका अनुभवमा कुनै पनि प्रदेशको राजधानी भविष्यमा आइपर्ने सबैखालका चुनौती थेग्न सक्ने हुनुपर्छ । ‘अहिले पोखरामा योजनाविहीन योजना छन्, ती यहाँका मुख्य चुनौती हुन,’ दाहाल भन्छन, ‘पोखरामा बस्ती बाक्लो हुनेक्रम तीव्र छ । राजधानी हुँदा चाप झन् बढ्दै जान्छ । त्यसैले भविष्यका चाप थेग्न पोखरा अहिले नै तयार हुनुपर्छ ।’
दाहालका अनुसार अव्यवस्थित प्लटिङले पनि पोखराको अर्को चुनौती हो । अव्यवस्थित प्लटिङले निरन्तरता पाए भविष्यमा बस्ती बढ्दै जाँदा जोखिम पनि थपिँदै जाने उनले बताए । ‘यहाँ मनलाग्दी प्लटिङ गरिएको छ, बाटोघाटो संरचना बिनायोजनाका छन् । यी मिलाउन समस्या छ,’ दाहालले भने, ‘यसतर्फ बेलैमा ध्यान दिनुपर्छ ।’ उनका अनुसार पोखराभित्रका सडक निकै साँघुरा छन्, जुन प्रदेश राजधानीका लागि शोभनीय हुँदैनन् । ‘विकासमा पोखरालाई मात्र हेरियो भने फेरि केन्द्रिकृत हुन्छ । तर, आसपासका जिल्लालाई पनि विकासको मूलधारमा ल्याउनुुपर्छ । विकास गतिविधि तीव्र भइरहँदा पोखरा बिग्रिन थालेको उनको चिन्ता छ । ‘अहिलेसम्म पोखराको विकास जुन रूपमा हुनुपर्ने हो त्यो हुनसकेन । पोखरा पनि कुरूप बनिसकेको छ,’ दाहालले भने, ‘यसबारे बेलैमा सोच्नुपथ्र्यो तर सोचिएन ।’ उनका अनुसार जनघनत्व बढिरहनु पनि पोखराका लागि चुनौती हो ।
महासंघका पूर्वअध्यक्ष मुल्मी पोखरासँग पर्याप्त अवसर भए पनि सदुपयोग गर्न नसकिएको ठान्छन् । ‘अवसरै अवसर छन्  तर, अहिलेसम्म केही प्रयोग भएका छैनन,’ उनले भने, ‘सबैभन्दा बढी कसलाई प्राथमिकता दिने भन्ने निर्धारण हुनपर्छ ।’ उनले अहिले लगानी आधार सिर्जना गरेर विकास मोडल बनाउनुपर्ने बताए । ‘हामीसगँ भएका स्रोतसाधनको आधार तयार पारेरमात्र अघि बढ्नुपर्छ । प्रदेश राजधानीलाई साँच्चै समृद्ध बनाउन योजनाबद्ध निर्माण खाका ल्याउनुपर्छ । अनि स्रोतसाधन जुट्छ,’ उनले भने ।
मुल्मीका अनुसार एउटा आयोजना बन्दा त्यससँगै अरू अवसर पनि थपिन्छन् । ‘१२ सय मेगावाटको बूढीगण्डकीलाई विद्युत् आयोजनाका रूपमा मात्र उपयोग गर्नु हुँदैन,’ उनले भने, ‘त्यसको बहुद्देश्यीय उपयोग गर्न सक्नुपर्छ ।’ उनका अनुसार बूढीगण्डकी आयोजना बनेसँगै माछापालन गर्न सकिन्छ । जलचर क्षेत्र बनाएर पर्यटकीय उत्पादन लिन सकिन्छ । सिँचाइमा पनि त्यसलाई उपयोग गर्न सकिन्छ । ‘आयोजनासँगै बहुआयामिक पूर्वाधार सोच्नुपर्छ,’ उनले भने । पर्यटन, कृषि, जलस्रोत, आयातनिर्यात, जडिबुटी सबैमा यो प्रदेश अब्बल रहेको उनले बताए ।
उनका अनुसार पोखरामा अवसर पर्याप्त भए पनि अहिलेसम्म सदुपयोग निकै कम भएको छ । ‘चुनौतीका चाङ हामीसँग छन् । केन्द्रीय सरकारले गर्न नसकेका काम बाँकी छन,’ मुल्मीले भने । सबैभन्दा ठूलो चुनौती  परम्परागत ढर्राका राजनीतिक नेता र कर्मचारीको व्यवहार परिवर्तन गर्नु हो । ‘हिजैको कर्मचारीतन्त्रको माइन्डले अब परिवर्तन हुँदैन । त्यसलाई बदल्नुपर्छ,’ उनले भने, ‘काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ, परम्परागत तरिकाले विकास हुनसक्दैन । बोलेर मात्र काम पूरा हुन्न ।’
मुस्ताङदेखि नवलपुरसम्म विकास खाका कोर्न जरुरी रहेको मुल्मीको भनाइ छ । ‘प्रतिफल आउनसक्ने कुरालाई हामीले अघि बढाउनुपर्छ,’ मुल्मीले भने, ‘प्रदेशभित्रको मूल चुनौती विकास र आर्थिक अजेन्डा होइन । हाम्रो व्यवहार परिवर्तन गर्नु मूल चुनौती हो ।’
पृथ्वीनारायण क्याम्पस अर्थशास्त्रका प्राध्यापक लेखनाथ भट्टराई पनि यो प्रदेशमा पर्याप्त अवसर रहेको बताउँछन् । ‘पर्यटनमा सबैभन्दा अघि छ । कृषि, जलस्रोत पनि राम्रो छ । जडिबुटीमा सिंगै अन्नपूर्ण क्षेत्र अब्बल छ,’ उनले भने, ‘तर तिनलाई उपयोग गर्न सके मात्र अब्बल बन्न सकिन्छ ।’ उनले अब प्रदेश–प्रदेशबीचच प्रतिस्पर्धा हुने भएकाले प्रादेशिकस्तरमै योजना बन्नुपर्ने बताए ।
उनको अनुभवमा यो प्रदेशमा राजस्वको स्रोत कम छ । यो सबैभन्दा ठूलो चुनौती हो । प्रादेशिक संरचना बनाउन पहिलो पाँच वर्ष ठूलो बजेट खर्च हुने तर, त्यसको स्रोत नहुँदा विकासले गति लिननसक्ने उनले बताए । ‘प्रदेश ४ ले आफैं राजस्व उठाउने भन्सार छैन । तिब्बती नाका खुलेमा आयातनिर्यात हुन गई राजस्व उठ्छ । अहिले त आयातनिर्यात नै छैन,’ उनले भने, ‘केन्द्रीय सरकारसँग राजस्व मागेर कतिन्जेल काम गर्न सकिन्छ ।’ स्रोत जुटाउन तत्काल मूल्य अभिवृद्धि कर (भ्याट) र अन्य आयकर संकलनमा कडाइ गनुपर्ने उनको भनाइ छ । प्रदेश योजना आयोगमा आउने अधिकारीमा पनि विकासनिर्माण निर्भर हुने उनले बताए । ‘योजनाविहीन मान्छे प्रदेश योजना आयोगमा आए भने विकासले गति लिन सक्दैन,’ उनले भने ।     
उनका अनुसार अस्तव्यस्त संरचनाले पोखरा बिग्रिसकेको छ । यातायातमा अस्तव्यस्त छ । सरकारी जग्गा छैन, भएको सरकारी जग्गा पनि अतित्र,्रहण गरेर सकियो ।
‘दलालले गरेको प्लटिङले पोखरा सहर बिग्रिसकेको छ,’ उनले भने, ‘यसलाई अवसरमा बदल्ने विकल्प छन् । तर, कर्मचारी र नेताको मानसिकता परिवर्तन हुनुपर्छ । जनशक्ति परिचालन हुनुपर्छ । आफन्तलाई नियुक्त गरेर परिवर्तन आउन सक्दैन ।’

प्रकाशित: १३ पुस २०७४ ०२:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App