८ वैशाख २०८१ शनिबार
अर्थ

आन्तरिक पर्यटकलाई स्वागत

पोखरा–पोखराका पर्यटन व्यवसायीले यसपटक (१९औं संस्करण) को सडक महोत्सवमा करिब तीन लाख स्वदेशी पाहुना भित्र्याउने लक्ष्य राखेका छन् । पाँचदिने महोत्सवमा तीन लाखभन्दा बढी पाहुना भित्र्याउन सकिनेमा व्यवसायी ढुक्क पनि छन् । पाँच दिनमा तीन लाखभन्दा बढी पाहुना भित्रिन्छन् त ? व्यवसायी भन्छन्, ‘शंका गर्नै पर्दैन, बरु, बढी आउलान्, थोरै हुँदैनन् ।’ 

त्यत्ति धेरै आन्तरिक पाहुना भित्रिने आधार व्यवसायीले सहजै पेस गर्छन् । उनीहरुका अनुसार पोखराभित्र सञ्चालित पर्यटकस्तरीय होटलसँग अहिले करिब २२ हजार बेड छन् । लेकसाइड बाहेक पोखरा बजारभित्रका महेन्द्रपुल, पृथ्वीचोक, सराङकोट, बेगनाससहित आसपास क्षेत्रमा पनि थुप्रै होटल छन् । पोखराले एक रातमा करिब ५० हजार पाहुना थेग्छ । 

नयाँ वर्षको अघिल्लो दुई रात (डिसेम्बर ३० र ३१) मा पोखरा र आसपासका सबै होटलमा गरी ४० हजारका दरले पाहुना बस्छन् । पोखरा र आसपासका सबैजसो होटल ती दुई रात पाहुनाले खचाखच हुन्छन् । दुई दिनमा पोखराले करिब ८० हजार पाहुना पाउँछ । महोत्सव सुरु भएपछिका दिनदेखि पोखरामा पाहुना आउन थाल्छन् । पाँचदिने महोत्सवका सुरुका तीन दिन पोखराले करिब ३० हजारका दरले (तीन दिनमा ९० हजार) पाहुना स्वागत गर्ने पश्चिमाञ्चल होटल संघका निवर्तमान अध्यक्ष भरतराज पराजुली बताउँछन् । केही हिस्सा विदेशी पाहुनाले पनि लिन्छ । त्यो दर न्यून हुन्छ ।  

‘पाँच दिनमा करिब एक लाख ७० हजार पाहुना पोखरा भित्रिनेमा शंका गर्नै पर्दैन । ती पाहुना बास बस्ने गरी आएका हुन्छन्,’ पराजुलीले भने, ‘बाँकी पाहुना पोखरामा बास नबसे पनि मेला घुम्न आउँछन् । लेकसाइडमा रमाउँछन्, अनि खानपिन गरेर फर्किन्छन् ।’ पराजुलीका अनुसार करिब एक लाख ५० हजार पाहुना अस्थायी हुन्छन्, उनीहरु बास बस्दैनन् । तर, लेकसाइड घुमफिर गर्दै खर्च गर्छन् । खानपिन र रमाइलो गरेर बास बस्न घर पुग्छन् ।’  

यति धेरै आन्तरिक पाहुनाले लेकसाइडलाई साथ दिनुमा अरु कारण पनि रहेको व्यवसायीको भनाइ छ । उनीहरुका अनुसार आन्तरिक पाहुनाले यो महोत्सवलाई निकै नै रुचाएका छन् । पोखरामा बर्सेनि एकै समय र अवधिका लागि सडक महोत्सव हुन्छ भन्ने धेरैलाई थाहा छ । अनि, सडक महोत्सव मुलुकभित्र चर्चित ब्रान्ड बनिसकेको छ । त्यसबाहेक व्यवसायीले ‘सडक महोत्सवमा पोखरा घुम्न आउनू’ भन्दै ठाउँठाउँमा पुगेर पाहुनालाई निम्तासमेत गरेका छन् । 

महोत्सव आयोजक रेस्टुरेन्ट एन्ड बार एसोसिएसन अफ नेपाल (रेबान) पोखराका अध्यक्ष चौबहादुर गुरुङ आन्तरिक पाहुनाको साथ पाउँदा लेकसाइडलाई ‘अफ सिजन’मा राहत मिल्ने बताउँछन् । ‘महोत्सवले विदेशी पाहुना भित्र्याउने लक्ष्य राखेको त हो । तर, आन्तरिक पाहुना भित्र्याउनमा हाम्रो सफलता बढी छ,’ उनले भने, ‘सडक महोत्सव यति धेरै ब्रान्डिङ भएको छ कि, यो पाँच दिन अवधि पर्खेर पोखरा आउने पाहुना धेरै हुन्छन् ।’ 

उनका अनुसार पोखरामा यो महोत्सवमा पोखरा आसपासका मात्र नभई टाढाका ठूला सहरबाट पनि पर्याप्त पाहुना आउँछन् । काठमाडौं, चितवन, पाल्पा, बुटवल, भैरहवा, वीरगन्ज लगायत सहरबाट थुप्रै आन्तरिक पाहुना पोखरा भित्रिने उनले बताए । ‘हामीले पाहुनालाई पोखरा घुम्न आउनू भन्दै निम्तासमेत दिन्छौं । सञ्चारमाध्यम, स्थानीय पर्यटन व्यवसायीमार्फत पाहुनालाई पोखरा घुम्न बोलाउँछौं,’ उनले भने, ‘यो पटक पनि बोलाइसकेका छौं ।’ 

पर्यटन व्यवसायी १८ वर्षअघि पोखरामा यो महोत्सव सुरु गर्दा ‘अफ सिजन’लाई राहत दिने गरी विदेशी पाहुना भित्र्याउने लक्ष्य राखेका थिए । तर, त्यसको विपरीत विदेशीभन्दा आन्तरिक पाहुनाको ओइरो लाग्ने गरेको छ । पर्याप्त विदेशी पाहुना भित्र्याउन आफूहरु असफल भएको व्यवसायीको भनाइ छ । विदेशी पाहुना भित्र्याउन असफल हुनुमा विश्वभर मनाइने क्रिसमस र नयाँ वर्ष (अंग्रेजी) मुख्य कारक व्यवसायी देख्छन् । 

‘आफ्नै घरमा परिवारसित बसेर क्रिसमस र न्यू इयर मनाउने चाहना धेरैको हुन्छ । त्यही चाहना अनुसार आएका पाहुना पनि त्यो बेला घर फर्किन्छन्,’ अध्यक्ष गुरुङ भन्छन्, ‘क्रिसमस र न्यू इयर मनाएर मात्र घुम्न निस्कने विदेशी पनि हुन्छन् ।’ क्रिसमस र न्यू इयरभन्दा केही अगाडि र पछाडि विदेशीको आगमन बढ्ने भए पनि यो बेला कम हुने उनीहरुले बताए ।
कतिपय व्यवसायी विदेशी पाहुना भित्र्याउन नसक्नुमा पाहुना आकर्षण गर्ने खालका आकर्षक कार्यक्रम दिन नसक्ने आफ्नै कमजोरी रहेको बताउँछन् ।

महोत्सवका परिकल्पनाकार समेत रहेका अग्रज व्यवसायी गणेशबहादुर भट्टराई भन्छन्, ‘विदेशी पाहुना आकर्षित गर्ने गरी चर्चित कलाकार भित्र्याउन सकेनांै । चीरपरिचित कलाकार भित्र्याउन नसक्दा विदेशी पाहुनाको आकर्षण कम भयो,’ भट्टराई भन्छन्, ‘मेगा इभेन्टको रुपमा महोत्सव विदेशी पाहुनामाझ परिचित हुन सकेन । स्वदेशमा मात्र ब्रान्डिङ भयो ।’ 
ठूला र चर्चित कलाकार भित्र्याउन सकेर कार्यक्रम गर्नासाथ त्यसले आकर्षण थप्ने उनी बताउँछन् । कम्तीमा भारतीय चर्चित कलाकार भित्र्याउन सकेमात्र पनि भारतीय पाहुना तान्न सकिने उनी बताउँछन् । ‘राजधानीमा बेलाबेला चर्चित विदेशी कलाकार आएर सांगीतिक कार्यक्रम पस्किन्छन् । तर, अहिलेसम्म पोखराको यो महोत्सवमा चिनिएका विदेशी कलाकार ल्याउन सकेका छैनौं,’ उनले भने, ‘विदेशी कलाकार आउनासाथ महोत्सवबारे सकारात्मक सन्देश फैलिन्छ । अनि ती कलाकारको प्रस्तुतिले पाहुना तानिन्छन् ।’

रेबान अध्यक्ष गुरुङ विदेशी कलाकार भित्र्याउन नसक्नुमा पहुँच नपुगेको बताउँछन् । ‘विदेशी सेलिब्रेटी भित्र्याउन सक्ने हो भने पक्कै पाहुना आउँछन् । तर, ती सेलिब्रेटीसम्म हाम्रो पहुँच पुग्दैन । सरकार र पर्यटन बोर्डले पहुँच विस्तार गरिदिन पहल गर्नुपर्छ ।’ यो बेला विदेशी कलाकार भित्र्याउन नसक्नुमा क्रिसमस र न्यू इयर एकैपटक पर्ने भएकाले सहज नभएको हो । ‘हामीले यो बेला चाहे अनुसार स्वदेशी कलाकार त भित्र्याउन सक्दैनौं । विदेशी त झनै टाढाको कुरा भयो,’ उनले भने, ‘विदेशी कलाकार अन्य मुलुकमा ब्यस्त हुने गरेका छन् । ठूलो रकम खर्चेर नेपाल ल्याउने आँट हामीसँग छैन ।’
रेबानका पूर्वअध्यक्ष गोपीबहादुर भट्टराई महोत्सव अवधिमा भित्रिएका आन्तरिक पाहुनाको कारण व्यवसायमा राहत पुगेको बताउँछन् । उनका अनुसार पाँच दिनमा कति मूल्य बराबरको व्यापार हुन्छ भनेर यकिन गर्न नसकिए पनि महोत्सवले लेकसाइडका व्यवसायीको एक महिनाको आम्दानी थेग्छ । ‘पाँच दिन व्यापारले एक महिनाको आम्दानी कभर गर्छ,’ उनले भने, ‘त्यसले गर्दा महोत्सवलाई सबैले साथ दिएका छन् ।’

यो महोत्सव अवधिमात्र नभई बाँकी वर्ष दिन नै कसरी व्यवसाय गर्नुपर्छ भन्ने समेत यसले सिकाएको उनी बताउँछन् । आफ्नो व्यवसायलाई कसरी व्यावसायिकता दिनुपर्छ भन्ने पनि यसले पाठ सिकाएको भट्टराईको भनाइ छ । ‘पाँच दिनको प्रवद्र्धनले वर्षभर व्यापार गर्ने तरिका सिकाएको छ । व्यवसायीलाई अरु व्यावसायिक हुन हौसला मिलेको छ,’ उनले भने । 
व्यवसायीका अनुसार केही वर्षअघिसम्म यो बेला पाहुना नआएपछि पर्यटन व्यवसायी फुर्सदिला हुँदा भारतको गोवा र थाइल्यान्ड लगायत ठाउँमा घुम्न जान्थे । तर, अहिले पाहुना तिनै व्यवसायी पाहुनाको स्वागतमा खट्न थालेका छन् । सडक महोत्सवमा परिकल्पनाकार गणेशबहादुर भट्टराई यसले पोखराको पर्यटकीय माहोल उकासेको बताउँछन् । महोत्सवले विदेशीभन्दा पनि स्वदेशी पाहुनाको महत्व बढी दर्शाएको उनको बुझाइ छ । 

‘चिसो मौसममा सुस्ताउने पोखराको पर्यटन व्यवसाय सडक महोत्सवकै कारणले जुर्मुराउन थालेको छ । यसले पोखरामा आन्तरिक पाहुना भित्र्याउन सकेको छ,’ उनी भन्छन्, ‘पाहुनाले पनि महोत्सव रुचाए । त्यसले उनीहरुलाई यहाँसम्म तान्न सघाएको छ ।’ अहिले पोखरेली पर्यटन व्यवसायी पाहुनालाई स्वागत गर्न नभ्याउने अवस्थामा रहेको उनले बताए । 
उनका अनुसार केही वर्षअघिसम्म होटल र रेस्टुरेन्टको कम प्राथमिकतामा परेका स्वदेशी पाहुना अहिले मुख्य पाहुना बन्न थालेका छन् ।

स्वदेशी पाहुनालाई सकेसम्म होटलमा राख्नु नपरे हुन्थ्यो भन्ने व्यवसायी अहिले बढी महत्व तिनै स्वदेशीलाई दिन थालेका छन् । ‘अहिले यस्तो अवस्था आएको छ कि, स्वदेशी पाहुना पाए विदेशीलाई राख्न चाहँदैनन्,’ उनी भन्छन्, ‘व्यवसायीले आन्तरिक पर्यटकको महत्व बल्ल बुझेका छन् ।’ स्वदेशीको पाहुनाको घुम्ने र रमाइलो गर्ने संस्कार बढ्दै जाँदा पनि यसले पोखराका पर्यटन उकासिएको उनको भनाइ छ । ‘न्यू इयर इभ’ ठूलै चाड बन्न थालेको छ,’ भट्टराई भन्छन् । 

पर्यटन बोर्ड पोखराका प्रबन्धक सूर्य थपलिया नेपालमा सबैभन्दा बढी आन्तरिक पाहुना भित्रिने सिजन पनि यो महोत्सवले बनाएको बताउँछन् । पोखरालाई चिनाउने मूल माध्यम पनि यही महोत्सव बनेको उनले बताए । प्रवद्र्धनमा बोर्डको भूमिका प्रवद्र्धनमा रहेको उनी बताउँछन् । ‘बोर्डले स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गरेको छ । पोखरा सडक महोत्सव हाम्रो ठूलो अवसर पनि हो,’ उनले भने । उनका अनुसार पाँचदिने महोत्सवको कुल व्यापारमा आन्तरिक पाहुनाको हिस्सा ७० प्रतिशत रहन्छ । यसलाई शतप्रतिशत बढाउँदा विदेशीको हिस्सा पनि बढेर ४० प्रतिशत पुग्छ । अहिलेको पाहुनाको आगमन, खर्च, आम्दानीमा ७० प्रतिशत हिस्सा आन्तरिकको हुन्छ । 


 

प्रकाशित: १३ पुस २०७४ ०१:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App