coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

तीन गन्तव्यका उडान रद्द

काठमाडौं–राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम अन्तर्राष्ट्रिय उडानतर्फ एउटा जहाजमा खुम्चिएको छ । निगमसँग रहेका तीनथानमध्ये हाल एउटामात्र सञ्चालनमा छ । 

अन्तर्राष्ट्रिय उडान गर्न निगमसँग युरोपेली जहाज निर्माता कम्पनी एयरबसमा निमिर्त १ सय ५८ सिट क्षमतायुक्त ‘ए३२०–२००’ सिरिजका दुईथान र अमेरिकी जहाज निर्माता कम्पनी बोइङमा निर्मित १ सय ९० सिट क्षमतायुक्त ‘बि७५७–२००’ सिरिजको एक गरी तीन जहाज छन् । 

तीमध्ये एउटा ए३२० र बि७५७ जहाज केही दिनदेखि सञ्चालनमा छैनन् । बि७५७ को अगाडिको ‘ल्यान्डिङ गियर’ फेर्न सिंगापुर लगिएको छ भने एउटा ए३२० भारतको नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा ‘ग्राउन्डेड’ भएर बसेको छ । 
‘तीनवटा जहाजमा पनि दुइटा नभएपछि अन्तर्राष्ट्रिय उडानमा हामी एउटामात्र जहाजमा खुम्चिएका छौं,’ निगमका एक उच्च अधिकारीले आफ्नो नाम उल्लेख नगर्ने सर्तमा बुधबार नागरिकसँग भने, ‘दिल्लीमा बिग्रिएको जहाज कति दिनमा मर्मत हुने हो यकिन भएको छैन र उता सिंगापुरमा भएको जहाजको सामान फेर्न अझै चार÷पाँच दिन लाग्ने खबर आएको छ ।’
दिल्लीमा थन्किएको निगमको ए३२० जहाजको कलसाइन ‘९एन–एकेडब्लु’ हो भने सिंगापुरमा ल्यान्डिङ गियर फेर्न गएको बि७५७ जहाजको कलसाइन ‘९एन–एसिबी’ हो । निगमले एयरबस एकेडब्लु करिब दुई वर्षअघि खरिद गरेको थियो । उता बोइङ एसिबी भने तीन दशकअघि खरिद गरेको थियो । 

‘बोइङ एसिबीलाई गत आइतबार (पुस ९ गते) ल्यान्डिङ गियर फेर्न सिंगापुर पठाएका थियौं,’ सम्बद्ध एक अधिकारीले भने, ‘अझै चार दिनजतिमा काम सकिने र त्यसपछि मात्र जहाज दिन सकिने भनेर सम्बद्ध कम्पनीले जानकारी दिएको छ ।’ 
विगतमै ल्यान्डिङ गियर फेर्नुपर्ने तालिका भए पनि अन्तिम समयमा आएरमात्र काम गरेका कारण यस्तो समस्या आएको उनको भनाइ छ । ‘हाम्रोमा तालिकाअनुसार काम नगर्दा बेलाबेला यस्तै समस्या आइरहेका छन्,’ उनले भने, ‘कसको जिम्मेवारी के हो भन्ने नै मतलब छैन ।’
दुइटा जहाज नहुँदा निगमले हङकङ, मलेसियाको क्वालालम्पुर र कतारको दोहाका लागि तालिकाअनुसार हुनुपर्ने एक–एक उडान रद्द गरेको छ । गत मंगलबारको हङकङ, बुधबारको क्वालालम्पुर बिहीबारको दोहा उडान रद्द गरिएको निगमले जनाएको छ । 
‘दुबै जहाज मर्मत सकेर आएपछि सबै उडान तालिकाअनुसार हुन्छन्,’ सम्बद्ध अधिकारीले भने, ‘कुनै पनि उडान रद्द हुँदैनन् ।’ उनका अनुसार तीन जहाज हुँदा प्रत्येकले दैनिक औसत १३ घन्टासम्म उडान गर्थे । सबै जहाज भएपछि सकेसम्म उडान रद्द नगर्ने पक्षमा निगम छ । ‘तर, अधिकांश उडान एकदेखि डेढ घन्टा ढिलो हुनसक्छ,’ उनले भने । 

निगमले तीन जहाजबाट भारत, कतार, थाइल्यान्ड, मलेसिया, युएई र हङकङका आठ गन्तव्यमा उडान गरिरहेको छ । उसले भारतका नयाँदिल्लीका लागि सातामा सात, मुम्बई र बैंगलोर तीन–तीन तथा युएईको दुबईका लागि सातामा चार उडान गरिरहेको छ । त्यसैगरी कतारको दोहा, मलेसियाको क्वालालम्पुर, थाइल्यान्डको बैंकक, र हङकङ प्रत्येक गन्तव्यका लागि सातामा तीन–तीन उडान गरिरहेको छ ।

यात्रुहरू १३ घन्टा विमानस्थलमै अलपत्र निगमले गत सोमबार (पुस १० गते) बिहान ८ बजे एयरबस एकेडब्लुबाट काठमाडौं–नयाँदिल्ली उडान गरेको थियो । दिल्लीबाट फर्किएपछि त्यही जहाजबाट बिहान ११ बजे बैंकक जाने तालिका थियो । 
दिल्लीबाट फर्किने जहाजमा बैंकक जान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १ सय ३५ यात्रु तयार भएर बसेका थिए । तर, ११ बजे उड्ने भनेको जहाज दिल्लीबाटै फर्किएन । एक घन्टा, दुई घन्टा गर्दै यात्रुले विमानस्थलमा १३ घन्टा कुरेपछि निगमकै अर्को जहाजबाट बल्ल मध्यरात १२ बजे बैंकक उड्न पाएका थिए । 

‘दिल्ली गएको एयरबसको एउटा इन्जिनको तापक्रम ह्वात्तै बढेपछि उडाउन मिलेन र उतै ग्राउन्डेड गर्नुप¥यो,’ सम्बद्ध एक अधिकारीले भने, ‘त्यसपछि अर्को एयरबस ९एन–एकेएक्सबाट बाँकी उडान ग¥यौं ।’

उनका अनुसार त्यसपछि एयरबस एकेएक्सलाई काठमाडौंबाट युनाइटेड अरब इमिरेट्स (युएई) को दुबई पठाइएको थियो । त्यो जहाज काठमाडौं फर्किएर आएपछि यात्रु बोकेर दिल्ली गएको थियो । दिल्लीबाट बल्ल फर्किएपछि मध्यरात १२ बजे बैंकक उडान गरेको थियो । 

‘एउटा उडान गर्न १३ घन्टा कुर्नुपरेपछि यात्रु रिसाउनु स्वाभाविक हो,’ ती अधिकारीले लाचारी पोखे, ‘यात्रुले विमानस्थलमै ‘नेपाल वायुसेवा निगम मुर्दाबाद’ भन्ने नारासमेत लगाएका थिए । यात्रुलाई थामथुम पार्न साहै्र गाह्रो भएको थियो । यस्ता घटनाले निगमको प्रतिष्ठामा गम्भीर आँच आएको छ ।’
  

 

प्रकाशित: १३ पुस २०७४ ०१:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App