८ वैशाख २०८१ शनिबार
कला

‘बोर्डर’मा सीमानाको पीडा

काठमाडौं–नेपाल र भारतको सिमानामा बस्ने बासिन्दाले भोग्नुपरेको समस्या र त्रासदीलाई विषय बनाएर रवीन्द्र कार्की लिखित उपन्यास ‘बोर्डर’ सार्वजनिक भएको छ । राजधानीमा गत शनिकार आयोजित कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँला, कवि विप्लव प्रतीक, पत्रकार फणिन्द्र संगम, डोलेन्द्र थापालगायतले पुस्तक सार्वजनिक गरे ।

सीमावर्ती भूगोलका मानिसको हिमचिम अर्को देशका सिमानाकै मानिससँगै हुन्छ । त्यहाँ सम्बन्धको विस्तारसँगै अप्रत्यक्ष त्रासको सिर्जना हुने गर्छ । चोरी, लुटपाट र डकैतीको समस्याबाट आजित बासिन्दाको मनोदशा विगतमा जस्तो थियो अहिले पनि त्यस्तै छ ।

कार्यक्रममा पूर्वकुलपति तथा कवि काइँलाले मेची सिमानाको सामाजिक कथालाई लेखकले मिहिन ढंगले औपन्यासिक रूपमा प्रस्तुत गरेको बताए । ‘सीमावर्ती भूगोलका मानिसको हिमचिम अर्को देशका सिमानाकै मानिससँगै हुने भएकाले त्यहाँ सम्बन्धको विस्तारसँगै अप्रत्यक्ष त्रासको सिर्जना हुने गर्दछ,’ काँइलाले भने, ‘पूर्वी नेपालको झापाका गाउँलाई परिवेश बनाएर चार दशकअघिको सामाजिक, सांस्कृतिक, राजनीतिक विषयलाई उपन्यासमा चित्र जस्तो बनाएर उपन्यासकारले देखाएका छन् । चोरी, लुटपाट र डकैतीको समस्याबाट आजित बासिन्दाको मनोदशा त्यो बेला जस्तो थियो अहिले पनि त्योभन्दा फरक छैन।’

कवि प्रतिकले लेखकको पुस्तक लेखन पृष्ठभूमिबारे चर्चा गरे । ‘चालीस वर्षअघि लेख्न थाल्नुभएको रहेछ । पाण्डुलिपि थन्किएर बसेको थाहा पाएपछि खोजी गर्न लगाएँ,’ उनले भने, ‘नेपाली साहित्यका लागि यस्तो महत्वपूर्ण कृति आवश्यक छ भन्ने लागेरै प्रकाशनको तारतम्य मिलेको हो ।’ उपन्यासले सिमानामा चलिरहने घटनाका सूक्ष्म कथाहरु खोतलेको उनको भनाइ थियो।

अर्का वक्ता पत्रकार फणीन्द्र संगमले सिमानामा रहेका नेपालीले वर्षौंदेखि भोग्दै आएको त्रासदीको सग्लो चित्र उपन्यासले कोरेको बताए । पुस्तकको औपन्यासिक संरचना अब्बल रहेको उल्लेख गर्दै उनले पाठकलाई तत्कालीन समाज र इतिहास बुझाउन पुस्तक सफल रहेको चर्चा गरे । उनले भने, ‘पञ्चायती समाज व्यवस्था र नेपाली समाजको विगत खोतल्न पनि उपन्यास सहयोगी छ।’

पत्रकार डोलेन्द्र थापाले सिमानाका दुःखसँगसँगै कालोबजारी गर्नेहरूले प्रयोग गर्ने त्यो बेलाको कोडभाषा र स्थानीय लबजलाई जस्ताको तस्तै रूपमा उतार्न लेखक सफल रहेको बताए।
मिर्गौला रोग पीडित लेखकको भने पुस्तक प्रकाशनको चरणमै निधन भएको थियो । विमोचन समारोहमा उनकी छोरी कलिना कार्कीले लेखकको निजी जीवन र साहित्यिक रुचिका बारे चर्चा गरिन् । पुस्तकलाई इन्डिगो इन्कले प्रकाशन गरेको हो।

 

प्रकाशित: १३ पुस २०७४ ००:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App