८ वैशाख २०८१ शनिबार
समाज

अर्को हप्तादेखि नारायणगढ-मुग्लिन सडक राती बन्द

चितवन – आउँदो हप्तादेखि नारायणगढ मुग्लिन सडक रातमा बन्द हुने भएको छ । बुधबार चितवन जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टसहित नारायणगढ मुग्लिन सडक आयोजनाका अधिकारीहरू, निर्माणको जिम्मा लिएका व्यवसायी र सुरक्षाकर्मीहरु समेतको बैठकले पुस १८ गतेदेखि नारायणगढ मुग्लिन सडक राती १० बजेदेखि बिहान चार बजेसम्म बन्द गर्ने निर्णय गरेको हो।

निर्माण व्यवसायीहरूले कम्तिमा आठ घण्टा सडक बन्द गरेर काम गर्न दिनु पर्ने माग गर्दै आएको नारायणगढ मुग्लिन सडक आयोजनाका प्रमुख चन्द्रनारायण यादवले बताए । देशको बाँकी भागका बासिन्दा राजधानी काठमाडौं आउ जाउ गर्ने मुख्य सडक भएका कारण यात्रुलाई ठूलो मर्का नपर्ने गरेर गाडी रोक्न लागेको चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले बताए।

यात्रु बस मात्रै नभएर राजधानीलाई चाहिने खाद्यन्न लगायतका सबैखाले उपभोग्य वस्तु बोकेका मालवाहक गाडीहरू गुड्ने मुख्य मार्ग पनि यही हो । त्यसैले सो सडकलाई राजधानीको जीवन रेखा अर्थात लाइफ लाइन भन्ने गरिन्छ। सन् २०१५ को अप्रिलदेखि सो सडकलाई एसियाली मापदण्ड अनुरुपको दुई लेनको फराकिलो सडक बनाउने काम सुरु भएको छ।

सुरुको सम्झौता अनुसार गएको वैशाखमै निर्माणको काम सकिनु पर्ने थियो । तर काम हुन नसकेका कारण म्याद थप गर्दै आउँदो फागुन पहिलो हप्तासम्म काम सक्ने भनिएको छ । तर लक्ष्य अनुसार प्रगति भएको छैन । अहिलेसम्म जम्मा ६८ प्रतिशत मात्रै काम पुरा भएको छ। त्यसैले गाडी रोकेर काम गर्नु पर्ने दवाब बढेको आयोजना प्रमुख यादवले बताए।

‘अहिलेलाई पुस १८ गतेदेखि राती १० बजेदेखि बिहान चार बजेसम्म पुरै गाडी बन्द गरौं । त्यो बेलामा पहाड काट्ने र गर्न सकिने अरु कामहरु पनि गरौं । बिहान र दिउँसो कालोपत्रे लगायतका काम गरौं । कालोपत्रे गर्दा प्राय दुई तर्फी गाडी बन्द गर्न पर्दैन । समन्वय गरेर सबै खण्डमा एकतर्फी यातायात रोकेर काम गरौं’ प्रमुख जिल्ला अधिकारी भट्टले भने। यसो गर्दा यात्रुलाई पनि केही राहत हुने र काम पनि हुने उनले बताए। 

प्रकाशित: १२ पुस २०७४ १२:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App