७ वैशाख २०८१ शुक्रबार
विचार

१२ वर्षमा तीन दिन हिँडेर १० दिन श्रम

यतिबेला म मलेसियामा छु । तीन वर्ष भयो, म यता श्रम गर्छु । देशमा अनेक परिवर्तन आएको कुरा गरिन्छ, देखिन्छ, पढिन्छ । एउटा ‘परिवर्तन’मा म पनि सहभागी थिएँ । करकापमै सही, देशका लागि केही योगदान मैले पनि गरेको थिएँ । १२ वर्षको उमेरमा सल्यान जिल्लाको फलाबाङबाट तीन दिन हिँडेर मैले १० दिन सडक–श्रम गरेको छु । यसमा मलाई कुनै खेद छैन । तर, देश बनाउँछौँ भनेर मान्छे काटेर, मान्छेलाई तर्साएर, बालश्रम गराएर माथि पुगेकाहरूको यो दलालीपन, सुकिलामुकिलापन देखेर उदेक लाग्छ । आज मजस्ता धेरै युवा पराईमा श्रम गर्न बाध्य छौँ । के यही हो परिवर्तन ? खोइ देशमा उद्यम, रोजगारी ?
२०६२ फागुन महिनाको कुरा हो । म लगायत गाउँका धेरै मान्छेहरू दाउरा काट्न जंगलमा गएका थियौँ । अचानक नजिकैको गाउँका माओवादी युवा (हाल उनले माओवादी छोडिसके, मजस्तै विदेशमा श्रम गर्न बाध्य छन्) हामीले दाउरा काटिरहेको ठाउँमा आए । उनले अनुरोध हैन, आदेश अझ धम्कीको स्वरमा भने— सबै जना बाटो खन्नका लागि आजै रोल्पा जानुपर्छ र नगए हात–खुट्टा भाँचिदिइन्छ ।
यस्तो सुनेर म त ठाउँका ठाउँका निर्जीव जस्तो भएँ । सबैजना त्रसित भए । सबै मानिस माओवादीको डरले गर्दा बाटो खन्न रोल्पा जाने निर्णय गरे । म कक्षा ६ मा पढ्दै थिएँ । दाइ एसएलसीको तयारीका लागि घरबाहिर हुनुहुन्थ्यो। बुवा पनि घर बाहिर नै हुनुहुन्थ्यो । मलाई बाटो खन्न जानुपर्छ भन्दै दबाब आयो ।
आमासँग ५० रुपियाँ लिएर म बाटो खन्नका लागि रोल्पा जाने निर्णय गरँे । मनमा अनेक कुरा खेलिरहे । मलाई बाँचेर फर्किन्छुजस्तो नै लागेन । बाटाभरि उनीहरू अनेक कुरा गर्छन् । तर, मलाई डर मात्रै लागिरह्यो । हामी पहिलो दिन रिम गाविसको खोलीगाउँमा बास बस्ने कुरा भयो ।
हाम्रो गाउँबाट हिँडेका हामी करिब ३० जना जति थियौँ । साँझ बास बस्दा सबै मानिस एउटै घरमा नअट्ने भएकाले हामी तीन÷चार जनाको समूहमा छरियौँ । म यसरी एक्लै कहिल्यै हिँडेको थिइनँ । मलाई बिदा गरेकी आमाको रुन्चे र मलिन अनुहार मेरो आँखा वरिपरि घुमिरह्यो । म पटक्कै निदाइनँ, रातभर । बिहान चार जति बजेको थियो । माओवादीका मान्छेहरूले हामीलाई उठाउन थाले । चाँडै उठ्नुपर्ने कारण मैले बल्ल थाहा पाएँ, त्यो रहेछ, वारिपट्टि कपुरकोटमा आर्मीको क्याम्प थियो । ‘हत्यारो शाही सेना’ले देख्छन् भनेर माओवादीले हामीलाई अँध्यारैमा हिँडाए । जंगलको बाटो भए पनि मलाई वन्यजन्तुको भन्दा वन्यमान्छेको डर लाग्यो । उनीहरूको आदेश थियो, लाइट (टर्च) नबाल्ने, नबोल्ने । उज्यालो देखे तातो गोली खान सकिन्छ भन्ने सुन्दा मेरो सातो नै उड्यो । गोली चलाउन सक्छन्, सावधान भनिरहे बाटैभरि । कहिल्यै नहिँडेको जंगलको बाटो छामछाम छुमछुम गर्दै, लड्दैबड्दै हिँडियो । कोइला लेख काट्दै रोल्पा प्रवेश ग¥यौँ । तीन दिन लगाएर हामी बाटो खन्ने ठाउँ कोर्चाबाङ पुग्यौँ । कोर्चाबाङ पुग्नासाथ हामीलाई एउटा नाटक देखाइयो र बाटो खन्ने भाडाकुँडाको जिम्मा लगाइयो । मनमा डर उब्जिरहेको थियो, कतै आर्मी त आउँदैन भनेर । डरै डरमा बिताइयो ।
म  बाटो खन्न गएको टोलीमा सबैभन्दा कान्छो र निक्कै ख्याउटे थिएँ । म १२ वर्षको त थिएँ । रोल्पाको कोर्चाबाङ गएर १० दिनसम्म बाटो खन्यौँ । त्यो फागुनको महिना थियो । चिसो धेरै थियो । जिउमा एक सरो पातलो लुगा मात्र थियो । पैसा पनि सकिइहाल्यो ।
धन्न, फर्केर सकुशल घर आइपुगियो । फर्किंदा पो थाहा पाएँ, घरमा फर्केर आउला र भन्ने चिन्तामा बसिरहनुभएको रहेछ । मैले यो सब कुरा गरेर कसैलाई फुर्ति देखाएको होइन । त्यसरी मजस्तो १२ वर्षेलाई श्रममा लैजाने माओवादीले सत्तामा पुगेर के ग¥यो, अब के गर्ला । ज्याला देऊ, काम गरिखाने, आफ्नै परिवारसित बस्ने अवसर देऊ म फेरि श्रम गर्न जान तयार छु । विदेशमा रगत पसिना चुहाउनु रहर हैन, बाध्यता हो ।

प्रकाशित: १२ पुस २०७४ ०३:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App