८ वैशाख २०८१ शनिबार
समाज

भूमाफियाको ध्यान खानेपानी मुहानमा

धरान-  सर्दु जलाधार क्षेत्रको सरकारी जग्गा कब्जा गरेर प्लटिङ गरेको भूमाफिया गिरोहले सरकारी निकायसँगको मिलेमतोमा धरानवासीले उपभोग गरिरहेको खानेपानीको स्रोत (मुहान) पनि कब्जा गर्न लागेका छन्।

प्लटिङ गरेको जग्गाको भाउ बढाउन र घडेरी बिक्री गरी बस्ती बसाउने योजनाअनुसार गिरोहले पाँचकन्या डुम्रे शिखरवास खानेपानी तथा सरसफाइ व्यवस्थापन समिति गठन गरी खर्दुको मुहानबाट खानेपानी लैजान लागेका हुन् । समितिले जोरधारे खानेपानी मुहान भनेर आयोजना स्वीकृत गराए पनि त्यो मुहान धरानवासीले उपभोग गरिरहेको खर्दु मुहानको मुख्य स्रोत हो । सर्दुलाई नै शिरमा खर्दु भनिन्छ । समितिले त्यो क्षेत्रबाट खानेपानी लगेमा भविष्यमा आफूहरूले पानीको संकट व्यहोर्नुपर्ने भन्दै वडा १३ का बासिन्दाले चर्को विरोध गरिरहेका छन् । उनीहरूले जलाधार क्षेत्रको जग्गा कब्जा गरेका भूमाफियाहरूले नै खर्दुको मुहानमा कब्जा गर्न लागे पनि जनप्रतिनिधिहरू मौन बसेको भन्दै असन्तुष्टि जनाइरहेका छन् । वडावासीले खर्दु जोरधारे मुहान खानेपानी सरोकार समिति गठन गरेर मुहान संरक्षणको अभियान थालेका छन् । ‘जुन समूहले जालाधारको जग्गा कब्जा ग¥यो, छोटीमोरङ डाँडा दलका नेताहरूसँग मिलेर बाँडफाट गर्‍यो, त्यही समूहले अहिले जनता देखाएर आफ्नो प्लटिङमा पानी पु¥याउने खेल हो,’ नाम उल्लेख नगर्ने सर्तमा धरान १३ का एक बासिन्दाले भने, ‘प्लटिङमा पनि सबै दलका नेताहरूकै मिलेमतो भएकाले भूमाफियाले पेलेर काम गरिरहेको छ। जनता विरोधमा उठ्दा पनि जनप्रतिनिधिले पनि रोक्न सकेको छैन ।’

खानेपानी संस्थानले हाल सर्दु र खर्दु मुहानको स्रोतबाट सतहगत पानी धरानवासीहरूलाई वितरण गरिरहेको छ । अहिले नयाँ समितिले संस्थानको इनटेकभन्दा माथिको मुख्य शिरबाट नै पानी लैजान पाइपलाइन बिछ्याउने र इनटेक निर्माण गर्ने तयारी गरेको छ । समितिलाई गोर्खा वेलफेयर स्किमको ग्रामीण खानेपानी तथा सरसफाइ कार्यक्रमले पाइप उपलब्ध गराउने सहमति छ । त्यसबापत समितिले पनि वेलफेयरलाई १ इन्च पाइपमा खानेपानी उपलब्ध गराउने गोप्य सहमति भएको वडा नं १३ का बासिन्दाहरूले बताएका छन् । ‘यो सबै काम भूमाफियाहरूको हो, डाँडाकाँडा प्लटिङ गर्नका लागि खानेपानी लैजाने खेल हो । डुम्रै शिखरवासमा अहिले पनि चौबिसे घण्टा धारामा पानी आउँछ, फेरि कहाँका लागि चाहियो ?,’ समाजसेवी तथा निर्माण व्यवसायी जनसेवक भण्डारीले भने, ‘१ इन्च पाइपमा पानी दिने सहमतिमा वेलफेयरले पनि पाइप दिने सहमति छ ।’

आफ्नो वडाका बासिन्दाहरूलाई भविष्यमा आइपर्ने संकटप्रति गम्भीर हुन आफूले वडा १३ का अध्यक्षलाई आग्रह गरे पनि उनले चासो नदिएको भण्डारीले बताए । भूमाफियाहरूले गुण्डा प्रयोग गरेर विरोधमा उत्र्ने वडावासीलाई हातोत्साहित गर्न खोजेको भन्दै उनले आक्रोश पनि पोखे । पूर्ववडाध्यक्ष हरिहर प्यारा श्रेष्ठले पनि जलाधार घोषणा भइसकेको क्षेत्रबाट जथाभावी संरचना र पाइप बिछ्याउँदै पानीको मुहान बाँड्नु उचित नभएको धारणा राखे । खानेपानी समितिलाई सिफारिस भएको विभिन्न पत्रको ढाँचा हेर्दा धेरै ढाँटछल गरिएको भन्दै उनले धरानवासीले उपभोग गरिरहेको खर्दु मुहानलाई नै नाम परिवर्तन गरेर जोरधारे बनाइएको श्रेष्ठले बताए । ‘सिफारिसको पत्रहरू हेर्दा पनि धेरै ढाँटेर, छलेर काम भएको प्रस्ट छ, यो क्षेत्र जालधार पनि हो । यसरी जथाभावी संरचना बनाएर पानी बाँड्न वा लैजान दिन हुँदैन,’ पूर्वअध्यक्ष श्रेष्ठले भने । पूर्वउपमेयर तथा जनसरोकार मञ्चका संयोजक कृष्णनारायण पलिखेले खर्दु मुहानमात्र नभई भूमाफियाबाट समग्र जलाधार क्षेत्र संरक्षणमा पनि ध्यान दिनुपर्ने बताए ।

पाँचकन्या डुम्रे शिखरवास खानेपानी तथा सरसफाइ व्यवस्थापन समिति २०७४ भदौ २१ गते मात्र जिल्ला जलस्रोत समितिमा दर्ता भएको छ । तर, यो समितिलाई धरान उपमहानगरपालिकाले २०७१ साल भदौ महिनामा नै जोरधारे मुहानबाट पानी ल्याउन सिफारिस गरेको र सेक्टर वन कार्यालयले पनि २०७१ असोज १२ गते पाइप लाइन बिछ्याउन स्वीकृति दिएको पत्र भेटिएको छ । पछि पुनः २०७२ पुस ३० गते उपमहानगरपालिकाले खानेपानी योजना सञ्चालन गर्न स्वीकृति दिएको पाइएको छ । तर, इटहरीस्थित खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले २०७३ चैत ७ गते गोर्खा वेलफेयर स्किमलाई लेखेको पत्रमा भने भालुखोला मुहान र निशाने खोलाबाट सञ्चालित आयोजनाहरू जीर्ण भएकाले पुनर्निर्माणका लागि सिफारिस  गरिएको उल्लेख छ । यस्तै,  १३ नं वडा कार्यालयले पनि चुङबाङ खोल्सामा पाइपलाइन खन्नका लागि २०७४ भदौ ११ गते सहमति दिएको थियो । ‘यो पत्रहरूले पनि के प्रस्ट हुन्छ भने धेरै ढाँटछल गरिएको छ । जनप्रतिनिधिहरू गम्भीर नहुने हो भने वडा १३ का बासिन्दामात्र होइन, वडा १४ र अन्य वडाका बासिन्दाहरूले पनि भविष्यमा खानेपानीबाट वञ्चित हुनुपर्छ,’ खर्दु जोरधारे मुहान खानेपानी सरोकार समितिका सदस्य महेन्द्र प्रधानले भने ।

वडाध्यक्ष नेत्र काफ्लेले भने २०७१ सालतिर नै सर्वदलीय संयन्त्रले निर्णय गरेर स्वीकृति दिएको भन्दै विवाद देखिएपछि उपमेयरको नेतृत्वमा स्थलगत निरीक्षण गरेर मेयरलाई जानकारी गराएको बताए । उनले विकासको नाममा विनाश गर्न नदिन र वडावासीलाई मर्कामा पर्नेगरी कुनै पनि काम नगर्नेतर्फ आफू सचेत रहेको जिकिर गरे। 

खानेपानी अभाव हुन्छ:  संस्थान

भूगिमत र सतहगत स्रोतको पानी संकलन गरेर धरानवासीलाई वितरण गरिरहेको नेपाल खानेपानी संस्थान धरान शाखाले जोरधारे मुहान भन्दै नयाँ खानेपानी समितिलाई उपभोग गर्न दिएमा भविष्यमा स्रोत घट्ने र धरानको वडा १३ र १४ का बासिन्दा खानेपानी प्रयोग गर्नबाट वञ्चित हुने जनाएको छ । संस्थानले गत मंसिर २५ गते धरान उपमहानगरपालिकालाई एक पत्र लेखेर संस्थानलाई समेत जानकारी नदिई संस्थानले प्रयोग गरिरहेको स्रोत लैजाने कार्यले सिंगो धरानवासी उपभोक्ताहरूलाई प्रत्यक्ष असर पर्ने भन्दै पाइपलाइन बिछ्याउने र इनटेक बनाउने कार्य तत्काल रोकेर छलफल गराउन पनि अनुरोध गरेको थियो ।

संस्थानको स्थानीय कार्यालयका प्रमुख रामकुमार श्रेष्ठले उपमहानगरलाई लेखेको पत्रमा भनिएको छ, ‘जोरधारे मुहान भन्ने खानेपानीको स्रोत भनेको नै खर्दु मुहानको मुख्य श्रोतको शिर भएको हुँदा उक्त खानेपानी लैजान लागेको यस संस्थानको निरीक्षणबाट पनि देखिन आएको हुँदा यसरी समूह, समूह मिलेर खानेपानीको मुहानबाट पानी लैजाने हो भने भोलिका दिनमा स्रोत घट्दै जाने हुँदा उक्त स्रोतबाट धरान १३ र १४ मा खानेपानीको समस्या हुने देखिन्छ ।’ संस्थानको सतहगत स्रोतको मुख्य मुहान भनेको सर्दु र खर्दु खोला हो । सुख्खायाममा मात्र संस्थानले यी स्रोतको पानी अपुग भएपछि जंगलको भूमिगत पानीको स्रोत प्रयोगमा ल्याउनेगर्छ । एडिबीको सहयोगमा जारी खानेपानी आयोजनाले पनि यी वडाहरूमा सर्दु र खर्दु मुहानकै पानी वितरण गर्ने गरी डिजाइन गरेको छ ।

प्राविधिक अध्ययन समिति गठन

खर्दु खानेपानी मुहानको विषयमा विवाद बढेपछि उपमहानगरपालिकाले मंगलबार ५ सदस्यीय प्राविधिक अध्ययन समिति गठन गरेको छ । उपमहानगरको सहरी पूर्वाधार विकास महाशाखा प्रमुख एवं वरिष्ठ इन्जिनियर सुरज श्रेष्ठका अनुसार पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसका प्रोफेसर प्रवेज आलमको संयोजकत्वमा समिति गठन भएको हो। समितिलाई एक साताभित्र रिपोर्ट दिने गरी जिम्मेवारी दिइएको पनि उनले खुलाए ।

समितिको सदस्यमा नरेन्द्र डांगी, अलंकार काफ्ले, निर्मलकृष्ण श्रेष्ठ छन् भने सदस्यसचिवमा वन वातावरण तथा विपद् व्यवस्थापन महाशाखा प्रमुख भेषराज घिमिरे छन् । प्लटिङका लागि पानी लैजाने लागेको आरोप छ नि भन्ने प्रश्नमा पूर्वाधार विकास महाशाखा प्रमुख श्रेष्ठले भने, ‘मेयरज्यूले आज समिति गठन गर्नुभएको हो । पानी कहाँ लाने, के गर्ने भनेर समितिले नै यथार्थ ल्याउँछ।’

 

प्रकाशित: १२ पुस २०७४ ०३:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App