पाँचथर–रुपन्दही–११ सँग ३–१ ले पराजित हुँदै युके क्लब खर्साङ पाँचथरको फिदिममा सञ्चालित ९ औं फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताबाट घर फर्किएको छ । पाहुना टोलीको जितको अपेक्षामा समर्थन जनाइरहेका सयौँ दर्शकलाई स्तब्ध बनाउदै युके क्लब मंगलबार प्रतियोगिताबाट बाहिरिएको हो ।
रजिन सुब्बाको २ र सुनील खड्काको १ गोलको प्रेरणाले रूपन्देहीले जित निकाल्दै सेमिफाइनल प्रवेश गरेको छ । केही सुन्दर मौका सदुपयोग गर्न नसक्दा युके क्लबले हार व्यहोर्नुप¥यो । खेल सुरु भएको १९औँ मिनेटमा सुनील खड्काले गोल गर्दै रूपन्देहीलाई अग्रता दिए । राज पौडेलले डी एरियानजिकै गरेको क्रसलाई उनले जाली चुमाए ।
खेलको २९औँ मिनेटमा रजिन सुब्बाले गोल गर्दै टिमलाई थप अग्रता दिलाए । डी एरियाभित्र बल खोस्ने प्रयास भइरहँदा रजिनले हेड गर्दै गोल गरे । दुई गोल गरेपछि रूपन्देहीका खेलाडीमा आत्मबल बढेको देखिन्थ्यो । खेलको ३५औँ मिनेटमा युकेका प्रशान्त गुरुङले गोल फर्काए । तर यो गोल जितका लागि पर्याप्त बन्न सकेन । पेमा लामाले प्रहार गरेको कर्नरलाई प्रशान्तले गोलमा परिणत गरेका थिए ।
खेलको ६३औँ मिनेटमा रजिनले आफ्नो दोस्रो गोल गर्दै अन्तर फराकिलो बनाए । रजिनले एकल प्रयासमा डिफेन्डरलाई झुक्याएर गोल गरे । दोस्रो हाफमा युकेका धेरै प्रहारलाई रूपन्देहीको रक्षापंक्तिले विफल तुल्याइदियो । बुधबार त्रिभुवन आर्मी क्लबले मोरङ–११ को सामना गर्नेछ ।
प्रकाशित: १२ पुस २०७४ ००:४६ बुधबार