coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

वार्नरको शतक

मेलबर्न–‘नो बल’ का कारण आउट हुनबाट जोगिएका ओपनर डेविड वार्नरले शतक तथा कप्तान स्टिभ स्मिथले सम्हालिएर ब्याटिङ गरेपछि ‘बक्सिङ डे’ मा सुरु भएको चौथो एसेजको पहिलो दिन मंगलबार अस्ट्रेलियाले राम्रो सुरुआत गरेको छ ।

‘पक्कै पनि स्मिथ अहिले उच्च लयमा छन् । एक बलरका हिसाबले उनीजस्तो खेलाडीविरुद्ध खेल्नु कठिन हो । तर, उनीलाई आउट गर्नु हाम्रो काम हो ।’

९९ रनको अवस्थामा जीवनदान पाएका वार्नरले २१ औं टेस्ट शतक पूरा गरेपछि मेलबर्न क्रिकेट मैदानमा अस्ट्रेलियाले टस जितेको भरपूर फाइदा लिएको छ । ४० मिनेटमै ९० रन कटाएका आक्रामक ओपनर वार्नर डेब्यु गरेका टोम करनको पाँचांै ओभरको अन्तिम बलमा आउट भएका थिए । ‘टप एज’ मा लागेर क्याच भएका वार्नर पवेलियन जान मिडअनसम्म पुगिसकेका थिए भने इङ्ल्यान्डले विकेटको खुसीयाली मनाइसकेको थियो । तर, रिप्लेमा करनको बल ‘ओभरस्टेपिङ’का कारण ‘नो बल’ भएपछि वार्नरलाई पुनः क्रिजमा बोलाइएको थियो ।

लगत्तै अर्को बलमा वार्नरले शतक पूरा गर्दै ब्याट उठाउँदा इङ्ल्यान्ड टोलीमा निराश छाएको थियो । १ सय ३० बलमा शतक हानेका वार्नरले हावामा उफ्रेर हेलमेट खेल्दै बक्सिङ डेको दिन रंगशालामा उपस्थित ८८ हजार १ सय ७२ दर्शकलाई अभिवादन गरेका थिए ।

तर वार्नर त्यसपछि लामो समय क्रिजमा टिक्न सकेनन् । १३ चौका र १ छक्कासहित १ सय ३ रन बनाएका वार्नर जेम्स एन्डरसनको बलमा विकेटकिपर जोनी ब्रेट सोमार्फत क्याच भए । ‘पक्कै पनि मैले खेलेको त्यो सटबाट निराश थिएँ । मलाई धेरै पछुतो लागेको थियो,’ वार्नरले भने, ‘पुनः क्रिजमा बोलाउँदा धेरै खुसी लाग्यो । त्यो दुई बलमा फरक अनुभूति मिल्यो ।’

मेलबर्न टेस्टमा २०१४ यता बक्सिङ डेमा अहिलेसम्म आउट नभएका कप्तान स्मिथ ६५ रनमा अविजित छन् । उनलाई सन मार्सले ३१ रन बनाएर साथ दिइरहेका छन् । पहिलो दिनको खेल सकिँदा अस्ट्रेलियाले ३ विकेट गुमाएर २ सय ४४ रन जोडिसकेको छ ।
पछिल्लो तीन बक्सिङ डेमा स्मिथले भारतविरुद्ध १ सय ९२, वेस्ट इन्डिजविरुद्ध अविजित १ सय ३४ र गत वर्ष पाकिस्तानविरुद्ध १ सय ६५ रनमा अविजित रहेका थिए । जारी एसेज शृंखलामा पनि स्मिथले पाँच इनिङमा १६३.६६ रनको औसतसहित ४९१ रन जोडिसकेका छन् ।

‘म व्यग्र छैन भन्दिनँ, उनका लागि म व्यग्र छु । उनीसँगै जीवनको उच्च लयमा रहेका खेलाडीलाई आउट गर्न चाहन्छु,’ स्मिथबारे इङ्ल्यान्डका बलर एन्डरसनले भने, ‘पक्कै पनि उनी अहिले उच्च लयमा छन् । एक बलरका हिसाबले उनीजस्तो खेलाडीविरुद्ध खेल्नु कठिन हो । तर, उनीलाई आउट गर्नु हाम्रो काम हो ।’

पाँच टेस्टको एसेज शृंखलामा अस्ट्रेलियाले ३–० को अग्रता लिइसकको छ र भ्रमणकारी टोलीविरुद्ध ह्वाइट वास गर्ने लक्ष्यमा छ । मैदानको सबै दिशाबाट रन बटुलेको अस्ट्रेलियाले १ सय २ रन जोड्दासम्म कुनै विकेट गुमाएको थिएन । शतकसँगै वार्नरले ७० टेस्टबाट ६ हजार रन पूरा गरिसकेका छन् । डन ब्रेडम्यान, रिकी पोन्टिङ, र म्याथ्यु हेडनपछि छिटो रन बनाउने अस्ट्रेलियन खेलाडीको सूचीमा ग्रेग च्यापलसँगै पाँचांै स्थान छन् ।

स्टुवार्ट ब्रोडले दोस्रो एडिलेड टेस्टपछि पहिलो विकेट लिने क्रममा उस्मान ख्वाजालाई ब्रेटसोमार्फत क्याच गराए । लगत्तैको बलमा सन मार्सलाई एलबिडब्लु आउटको अपिल गरे पनि रिभ्युबाट जोगिएका थिए । 

त्यसअघि क्रिस वोक्सले ९५ बलमा २६ रन बनाएका क्यामरोन ब्यानक्रोफ्टलाई ३५औं ओभरमा आउट गरेका थिए । ब्यानक्रोफ्टले पहिलो विकेट लागि वार्नरसँग १ सय २२ रनको साझेदारी गरे । विकेटकिपर टिम पाइनेका ससुरा थोमस मग्सको सम्झनामा अस्ट्रेलियन खेलाडीले पाखुरामा कालोपट्टी बाधेका थिए । मग्स आइतबार बितेका थिए ।

 

प्रकाशित: १२ पुस २०७४ ००:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App