४ वैशाख २०८१ मंगलबार
अर्थ

नेपाल औषधि लिमिटेडले माघदेखि सिटामोल उत्पादन गर्ने

काठमाडौँ (रासस)-  नेपाल औषधि लिमिटेडले आगामी माघदेखि सिटामोल उत्पादन गर्ने भएको छ।
लिमिटेडले सिटामोल उत्पादनका लागि ९० प्रतिशत काम सम्पन्न भइसकेको जनाएको छ ।

लिमिटेडका महाप्रबन्धक डा रोभसकुसुम सुवेदीले कुनै व्यावधान नआए१५ दिनभित्र भारतबाट दुईवटा मेसिन आएपछि माघदेखि सिटामोल उत्पादन गर्ने गरी आवश्यक अन्य तयारी पूरा भइसकेको जानकारी दिए।

सरकारको पूर्ण स्वामित्वमा रहेको लिमिटेडले गत वैशाख २४ गते जीवनजल उत्पादन सुरु गरेको थियो ।

महाप्रबन्धक सुवेदीले भने, ‘‘आगामी माघ दोस्रो सातासम्म सिटामोल उत्पादन गरी बजारमा लैजाने लक्ष्य राखेका छौँ, ९० प्रतिशतभन्दा बढी काम सम्पन्न भएको र यसका लागि कच्चा पदार्थको आयात, प्याकेजिङ तथा वितरणका लागि बोलपत्रसम्बन्धी कार्य सम्पन्न भइसकेका छ ।’’

गुणस्तर नियन्त्रण विभागको प्रयोगशालालाई कुशल प्रयोगशाला अभ्यास विधिमा तोकिएबमोजिम नवीकरण गरी सकिएको र प्रयोगशालाको भौतिक पूर्वाधार निर्माण कार्य पनि सकिएको लिमिटेडले जनाएको छ ।

आधुनिक विश्लेषणात्मक उपकरण खरिद गरी जडान गरिएको लिमिटेडका सचिव टीकाराम अर्यालले बताए।

उनले भने, ‘‘विश्वस्तरीय जिएमपी मापदण्डअनुसार गुणस्तरीय औषधि उत्पादन गर्न लिमिटेडले नयाँ प्रविधिअनुरुप २८ भन्दा बढी प्रकारका आधुनिक प्रविधियुक्त गुणस्तर जाँच गर्ने उपकरण जडान गरिसकेको छ।”

पूर्णरुपमा सरकारको स्वामित्वमा रहेको नेपाल औषधि लिमिटेड औषधिमा आत्मनिर्भर बन्ने उद्देश्यले २०२९ सालमा स्थापना भएको थियो ।

विसं २०६० सालसम्म १२० प्रकारका औषधि उत्पादन गर्दै आएको लिमिटेड २०६७ सालमा विश्व स्वास्थ्य संगठनले अन्तर्राष्ट्रिय मापदण्डअनुसार गुड म्यानुफ्याक्चरिङ प्राक्टिस (जिएपी) अनिवार्य गरेपछि बन्द भएको थियो ।

बन्द भएको आठ वर्षपछि सरकारी स्वामित्व रहेको लिमिटेड तत्कालीन उद्योगमन्त्री नवीन्द्रराज जोशीको पहलमा २०७३ असोज २ गते बसेको मन्त्रिपरिषद्को बैठकले पुनः सञ्चालनमा ल्याउने निर्णय गरेको थियो।

सरकारले जिएमपीअनुसार पुनः सञ्चालन गर्न रु १४ करोड ६५ लाख ऋणस्वरुप लिमिटेडलाई उपलब्ध गराउने निर्णय गरेको थियो । पहिलो चरणमा रु छ करोड ४८ लाख रुपैंया निकासा गरेको थियो । दोस्रो चरणको बजेट आउन भने बाँकी छ ।

क्याप्सुल, पेन्सिलिन गु्रपका औषधि, झोल तथा मलम उत्पादन गर्ने र सर्पले डसेपछि लगाउने खोप एन्ट्राभेनसका लागि शाखा समेत सञ्चालनमा ल्याई स्लाइन तथा हेमोडाइलासिस फ्युल्डजस्ता अति आवश्यक औषधिहरूको उत्पादनका लागि प्रष्ट कार्यसूचीका तयार भएको लिमिटेडले जनाएको छ ।
 

 

प्रकाशित: ११ पुस २०७४ १४:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App