८ वैशाख २०८१ शनिबार
समाज

१०४ बर्षको उमेरमा दुवै आँखाले देखेपछि…

आँखा शिविरमा उपचारका लागि आएका १०४ बर्षिय ओमलाल निउरेलाई सम्मान गदैं शिविरका सहयोगदाता दिपक बोगटी। तस्बिर: हरिकृष्ण गौतम

म्याग्दी- मालिका गाउँपालिका–६ दिच्यामका १०४ बर्षिय ओमलाल निउरेको दुवै आँखा दुईबर्ष अगाडी बन्द भयो। उमेरले सतक नाघेका निउरेले आँखा बन्द भएपछि उठ्ने देखी सुत्ने बेला, खाना खाने देखी शौचालयसम्म परिवारको सहयोगमा पुग्ने गर्दथे। दृष्टि बन्द भएपछि परिवारका सदस्यलाई समेत देख्न नपाएका निउरेले बोलीबाट पहिचान गर्ने गरेका थिए।दुईबर्ष उनले निकै कष्टपूर्ण तरिकाले दिन विताए। १ सय बर्षको उमेर पार गरेपछि आसिर्वाद लिन आउने आफन्त र छिमेकीलाई समेत कानमा आवाज पुगेपछि चिन्ने गरेका निउरेको पश्चिम म्याग्दीको दरवाङमा एक ब्यक्तिको आर्थिक सहयोगमा लायन्स क्लव अफ म्याग्दी दरवाङको ब्यवस्थापनमा गत आइतबार देखी सञ्चालित शिविरमा मोतियाबिन्दुको शल्यक्रिया गरेपछि दुवै आँखाले देख्न सक्छन्।

दुईबर्ष पछि पहिलोपटक आफ्ना छोरा खडनन्द निउरेलाई देखेपछि फुरूङ भए।‘छोरालाई नदेखेको पनि एकबर्षभन्दा धेरै भएको थियो। यो उमेरमा पनि मैले अर्को जन्म लिए’ निउरेले भने। शिविरको उद्घाटन तथा पहिलो शल्यक्रिया गरिएको निउरे घर फर्किए। निउरे जस्तै मालिका गाउँपालिका–५ देविस्थानका ८२ बर्षका पूर्ण बहादुर शेरचन, धौलागिरि गाउँपालिका–७ ताकम मच्छिमकी लिलसरा विकले समेत डेढबर्ष अगाडी बन्द भएको आँखाको सल्यक्रिया लगत्तै नजिकै रहेका आफन्तलाई समातेर मुसुक्क हाँसेपछि चिकित्सक सहित स्वास्थ्यकर्मी समेत उत्साहित भएका थिए।

‘बन्द भएको आँखा खोल्ने डाक्टर भगवान हुन्, उहाँहरूलाई सधै राम्रो हुन्छ’अप्रेसनमा संलग्न चिकित्सकहरूलाई आसिर्वाद दिदैं एक शेरचनले भने ।उनले आँखाले देखेपछि नयाँ जीवन पाएको बताए।मलेसियामा ब्यवसाय गर्ने बेनी नगरपालिका–१ रत्नेचौर स्थायी घर भएका दिपक बोगटीले स्वर्गिय पिता ओम बहादुर बोगटी र भाई लोकेश बोगटीको स्मृतिमा आयोजित वृहत स्वास्थ र आँखा शिविरमा ४६ जनाले मोतियाविन्दुको अप्रेसन गरेको लायन्स क्लव अफ दरवाङकी अध्यक्ष याममति रोकाले बताईन्। ‘शिविरमा अपेक्षा गरेभन्दा धेरै विरामीको आउनुभएको थियो ।आगामी बर्ष पनि शिविर सञ्चालन गरिने छ’ रोकाले भनिन्।

हिमालयन आँखा अस्पताल पोखराका डा.हरिमाया गुरुङको नेतृत्वमा ६ जना प्राविधिक र वृहत स्वास्थ्य शिविरमा डा.राजेन्द्र पौडेल,डा.तिलक गौतम र डा. कृष्ण कंडेल लगाएतका चिकित्सकहरुले सेवा प्रदान गरेका थिए। शिविरमा मंगला, मालिका र धौलागिरि गाउँपालिकाका साथै छिमेकी जिल्ला बागलुङबाट समेत उपचारका लागि आएका छन् ।

 

 

प्रकाशित: ११ पुस २०७४ १३:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App