coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

सौराहामा सुरु भयो हात्ती महोत्सब

चितवन- पर्यटकीय क्षेत्र सौराहामा मंगलबारबाट १४ औं हात्ती महोत्सब सुरु भएको छ। क्षेत्रीय होटल संघ सौराहा चितवनले आयोजना गरेको महोत्सव शनिबारसम्म चल्ने छ। सौराहा नजिक बाघमारा मध्यवर्ती सामुदायीक वनको चौरमा सञ्चाल हुने महोत्सवको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गरे।

महोत्सवमा हात्ती दौड, हात्तीका बच्चा अर्थात छावाहरुको फुटबल प्रतियोगिता, हात्ती श्रृङ्गार प्रतियोगिता, हात्ती पोलो आयोजना हुने छन् । हात्तीको बनभोज र हात्तीको श्रृङ्गार प्रतियोगिता पनि सम्पन्न हुने आयोजकहरुले जानकारी दिएका छन्।

चितवन राष्ट्रिय निकुञ्जका दुर्लभ वन्यजन्तु हेर्न आउने पर्यटकहरु सौराहामा बस्ने गर्छन् । पर्यटकहरुलाई फरक स्वाद दिन र हात्ती संरक्षण र वन्यजन्तु संरक्षणमा टेवा दिन भन्दै होटल संघले हात्ती दौडका रुपमा कार्यक्रम आयोजना गर्न सुरु गरेको थियो।

 हात्तीको स्वभाव प्रतिकुल हुने गरेर दौड आयोजना गरेको भन्दै आवाज उठेपछि आयोजकहरुले कार्यक्रमको स्वरुप परिवर्तन गर्दै आएका छन् । उद्घाटनअघि सौराहाबाट आदिवासी थारु समुदाय लगायतका अन्य सुमदायले आफ्ना भेषभुषा र नाँचसहितको झाँकी निकालेका थिए । चितवन निकुञ्ज देशको तेस्रो प्रमुख पर्यटकीय गन्तब्य हो । चितवन निकुञ्ज घुम्न वर्षमा दुई लाखको हाराहारीमा स्वदेशी विदेशी पर्यटक आउँछन्।

प्रधानमन्त्री सामु गुनासाहरुको चाङ

महोत्सव उद्घाटन कार्यक्रममा प्रमुख अतिथि प्रधानमन्त्री देउवा सामु पर्यटन व्यवसायीले विभिन्न गुनासाहरु राखे। होटल संघका केन्द्रीय अध्यक्ष अमरमान शाक्यले सौराहा क्षेत्रमा पछिल्लो समय पर्यटन पुर्वाधारहरु थपिदै गएको र १५अरब रुपैयाँ लगानी भएको बताए । ‘तर सरकारले खै व्यवसायीलाई अनुकुल हुने काम गरेको । मुग्लिन नारायणगढ सडकको दुर्दशाले चितवनको पर्यटन बर्बाद हुने खतरा आइ सक्यो।’

कार्यक्रममा बोल्दा क्षेत्रीय होटल संघ सौराहा चितवनका अध्यक्ष सुमन घिमिरेले मुग्लिन नारायणगढ सडकले पारेको समस्याका बारेमा सरकारी निकायमा पटक पटक कुरा राख्दा पनि सुनुवाइ नभएको बताए । मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष वासु ढुंगनाले सौराहा क्षेत्र बाढीको जोखिममा रहेका कारण बलियो तटबन्धन गराउन सरकारले सहयोग गर्नु पर्ने बताए।

व्यवसायीको गुनासो आएपछि मन्तब्यको क्रममा प्रधानमन्त्री देउवाले भने ‘मुग्लिन नारायणगढ चाडो बनोस भनेर मनै आएर निर्देशन दिएको थिएँ । तीन चार महिनाभित्रै बनाउनु भनेको थिए अझै बनेको रहेनछ । किन यसो भयो म हेर्ने छु । चाडो काम सक्न फेरि पनि ताकेता गर्ने छु ।’ पर्यटकले तिर्ने शुल्कका विषयमा पनि व्यवसायीहरुले प्रधानमन्त्रीलाई कुरा राखेका थिए । त्यो पनि हेर्ने देउवाको प्रतिवद्धता थियो।

 

प्रकाशित: ११ पुस २०७४ १३:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App