७ वैशाख २०८१ शुक्रबार
विचार

चम्किला डा. केसी

हालैका दिनमा 'पागल' बिम्बको प्रयोग एकजना यस्ता महामना व्यक्तिका निम्ति हुन थालेका छ, जसलाई पछ्याउन हजारौँ युवायुवती तयार छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो औपचारिक विज्ञप्तिमा त्रिभुवन विश्वविद्यालयका वरिष्ठ चिकित्सक गोविन्द केसीको मानसिक उपचार गराउन सरकारका नाममा आदेश दिएपछि समाजमा एक किसिमको तरंग पैदा भयो। आफ्ना कानुनी सीमा मिचेर काम गर्दै आएको अख्तियारले समाजका एकजना सम्मानित व्यक्तिमाथि यस किसिमको आरोप लगाउँदै आदेश दिनु आफैमा उक्त संवैधानिक निकायभित्र आएको विचलन हो। भ्रष्टाचार नियन्त्रणको उद्देश्यले स्थापित भए पनि हालैका दिनमा अख्तियार प्रमुख लोकमान सिंह कार्की विभिन्नखालधका दूराचारमा लागेका समाचार यत्रतत्र प्रकाशित भइरहेका छन्। एउटा संवैधानिक निकायले समाजका एक भद्र व्यक्तिमाथि गरेको भद्दा टिप्पणीले समाजमा आक्रोशको वातावरण सिर्जना गरेको छ। त्यही भएर डा. केसी पागल हुन् भने हामी सबै पागल भन्दै सर्वसाधारण टाउकामा स्कार्फ बाँधेर सडकमा ओर्लिएको पनि देखिएको हो। चिकित्सा शिक्षा र सेवामा देखिएको बेथितिविरुद्ध उनले आठ पटक आमरण अनशन गरी समाजमा जागरणको पर्याप्त वर्षा गराउन सफल भइसकेका छन्। यसबीच उनले सरकारसँग पटक–पटकका आन्दोलनपछि सम्झौता गरेका छन्। त्यसको कार्यान्वयनमा ढिलासुस्ती हुने वा त्यसलाई तोडमोड गर्ने गरेपछि उनले फेरि आमरण अनशन बस्न बाध्य हुनुपर्‍यो। डा. केसीको स्वार्थरहित सेवाले उनका अभिव्यक्तिमा शक्ति थपिएको छ। र, उनले भनिसकेपछि ठूलो पंक्तिले स्वीकार गर्दै उनलाई पछ्याउन पनि थालेको छ।

समाजमा नायकत्व प्राप्ति सहजै हुँदैन। त्यसका निम्ति जीवनलाई अविराम सुकर्ममा लगाउन सक्नुपर्छ। वास्तवमा जीवनलाई साधारण ठानेर जनसेवामा लगाउन खोज्नु आफैमा असाधारण कार्य हो। यस्तो काम सजिलो भए समाजमा धेरै मानिस यसका निम्ति तयार हुने थिए। डा. गोविन्द केसी अनशन तोडेर उठेको १२ औँ दिनमा पूर्वी तराईको सप्तरीका डुबानपीडित गाउँमा आर्तहरूका चहराइरहेका घाउमा मल्हम लगाउन पुगेका छन्। बाढीपीडित स्थानीय बासिन्दाका नाडी छाम्न सरकारका कुनै निकाय पुग्न सकेका छैनन्। डा. केसी एकाएक बस चढेर सप्तरीको तिलाठी गाउँमा पुगे। स्थानीयले उनको सेवा भावलाई देखेर भन्न थालेका छन्– 'भगवान् आउनुभएछ!' हाम्रा असल कर्मको जस भगवान्ले पाउँछन्। त्यही भएर त त्यस्ता मानिसप्रति भगवान् पनि नतमस्तक हुन्छन्व भनिन्छ। डा. केसीको ग्रामीण भेगको स्वास्थ्य सेवा यो नै पहिलो होइन। प्रत्येक पटक कुनै पनि विपत्तिमा उनी सेवाका निम्ति तत्पर हुन्छन्। उनी आफै विपद् परेका स्थानमा पुग्छन् र सेवा गर्न पाएको अजश्र खुसी बोकेर फर्कन्छन्। सप्तरीको तिलाठीसम्मको उनको यात्रा आफैमा स्तुत्य घटना हो। आफ्ना निम्ति मात्र सोच्नेहरूको भीडमा डा. केसी सहज भइकन पनि अत्यन्तै दुर्लभ छन्। उनको सेवा र निस्वार्थीपनकै कारण भ्रष्टाचार नियन्त्रणका नाममा अख्तियारबाटै हुन थालेका भ्रष्टाचारसमेत उजागर हुन थालेका छन्।

डा. केसीले यतिबेला बाढीपीडितको सेवा गरेर आपसी मैत्रीपूर्ण भावनालाई बढाउन पनि सफल भएका छन्। भूकम्पका बेला तराई–मधेसबाट आएका सहयोगीहरूले राहत दिएका थिए। तिनले गरेको स्वार्थरहित सेवाले जनमानसमा सकारात्मक प्रभाव पारेको थियो। अहिले आएर डा. केसीकै पदचिह्न पछ्याउने हो भने सहयोगी भावना अरु बढेर जानेछ। हो, यतिबेला केही व्यक्तिहरू सेवाभाव राखेर तराई–मधेसका बाढीपीडित क्षेत्रमा गइरहेका पनि छन्। परिस्थितिको गाम्भीर्यतालाई महसुस गरी अझ धेरै व्यक्तिले सहयोगको हात त्यसतर्फ बढ्नुपर्ने आवश्यकता छ। वास्तवमा डा. केसीको जस्तो 'पागलपन' समाजको रूपान्तरणका निम्ति अपरिहार्य छ। दीर्घ समाजसेवा र भ्रष्टाचारविरोधी अभियानमा रहेका उनको अहिलेको योगदानले मान्छेको सोच परिवर्तनमा सघाउने विश्वास गर्न सकिन्छ। डा. केसीले गरेको सेवाले पनि उनका मागप्रतिको उचाइ थप बढाएको छ। उनको यो सेवाबाट पनि अहिलेका आततायीहरू आत्तिन सक्छन् जसरी पञ्चायतका बेलामा बीपी जयन्तीको मौका पारेर रुख रोप्दा हुने गर्थ्यो। अख्तियार प्रमुख कार्की र अर्का आयुक्त राजनारायण पाठकलाई महाभियोग लगाउन माग गर्दै आमरण अनशन बसेका डा. केसीले उठाएका मागहरू यतिबेला झनै चहकिला हुँदै गइरहेका छन्। उनले आमरण अनशनमा तिनलाई महाभियोग लगाउन माग गर्दा प्रमाण जुटाउन धम्की दिँदै विज्ञप्ति निकाल्ने अख्तियारले प्रशस्त प्रमाण आइसकेको अहिलको अवस्थामा पदबाट हट्न सोच्नुपर्ने समय आइसकेको छ। त्यसरी नहट्ने हो भने पनि डा. केसीजस्ता जनसेवी 'पागल'को सेवाले तिनलाई झन्झन् कमजोर बनाउँदै लानेछ।

 

प्रकाशित: २४ श्रावण २०७३ ०६:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App