coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

वीरमा क्यान्सर जाँच्ने स्क्रिनिङ सेवा सुरु हुने

काठमाडौं- तपाइँको शरीरमा कतै क्यान्सर लुकेको त छैन ?
समयमै जाँच गराएर क्यान्सर जस्तो घातक रोगबाट बच्न सक्नुहुन्छ । यसको लागि वीर अस्पतालले पुसको तेस्रो सातादेखि ‘क्यान्सर स्क्रिनिङ सेवा’ दिने तयारी गरिरहेको छ ।
‘अर्को सातादेखि स्क्रिनिङ सेवा सुरु गर्छौं,’ राष्ट्रिय विज्ञान प्रतिष्ठानका उपकुलपति प्राध्यपक डा.गणेश गुरुङले भने । वीर अस्पतालको चौथो तलामा छुट्टै बहिरंग सेवा स्थापना गरी सेवा दिन लागेको अस्पतालले जनाएको छ ।
नाक–कान–घाँटी, स्तन, पाठेघर, फोक्सो, आन्द्रा, पेट, प्रोटेस्ट(पिसाब थैली) लगायतका अंगका क्यान्सर परीक्षण गरिनेछ । यी फरक खालका क्यान्सरको पहिचान गर्न सम्बन्धित विभागका चिकित्सकले परीक्षण गर्नेछन् । स्क्रिनिङ कार्यक्रमले दश वर्षपछि हुन सक्ने क्यान्सर, वंशाणुगत कारणले हुने क्यान्सर, छिटो हुन लागेको क्यान्सरको पत्ता लगाउने सकिने भएकाले रोग लाग्नै नदिने सेवाको उद्देश्य रहेको राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठानका उपकुलपति प्राध्यपक डा. गणेश गुरुङले बताए । ‘हाम्रो उद्देश्य रोग लाग्नै नदिने हो,’ उनले भने ।
महिलाहरू, वंशाणुगत रूपमा क्यान्सर भएका, धूमपान प्रयोगकर्ता, लामोसमय रसायनजन्य कारखानामा काम गरिरहेका व्यक्ति र धूमपान नगरे पनि प्रदूषणको प्रभावमा परेका, विषादी तथा विषाक्त खानाको सम्पर्कमा रहेकालाई यो सेवाले सिधै लाभ पु¥याउने वीर अस्पतालकी क्यान्सर रोग विशेषज्ञ डा. आरती शाहले बताइन् । ‘कुनै पनि अंगमा क्यान्सर हुन लागेको समयमै थाहा भएमा एक त छिटो उपचार हुन्छ अर्को दश वर्षपछि लाग्न सक्ने क्यान्सर पनि स्क्रिनले थाहा पाउन सकिन्छ,’ डा.शाहले भनिन् ।
मानिसहरूमा बढ्दै गएको क्यान्सर तथा अन्य नसर्ने रोगको जनचेतनाको सन्दर्भमा यो सेवाको औचित्य रहेको उपकुलपति गुरुङले बताए । ‘हामी कहाँ क्यान्सरको बिरामी आउँछन्, बिरामीका आफन्तले पनि क्यान्सर जाँच्न खोज्छन्, अन्त जाउ भन्नु भएन, समयमै थाहा भयो भने जीवन पनि बच्छ, खर्च पनि जोगिन्छ,’ डा.गुरुङले भने । वीर अस्पतालमा अत्याधुनिक जेनेटिक परीक्षणको प्रयोगशाला आइसकेको हुनाले स्क्रिनिङको माध्यमबाट अनुवांशिक क्यान्सरसमेत समयमै पहिचान गर्न सकिने डा. गुरुङले बताए ।
चिकित्सकका अनुसार लामो समय धूमपान प्रयोगकर्ता, प्रदूषणमा बसिरहेका, ब्रोङकाइटिसको समस्या भएका, पेस्टिसाइट जस्ता विषादीको सम्पर्कमा काम गरिरहने किसान, लामो समय रंङको काम गर्नेहरू, रंगको कारखानामा काम गर्नेहरू, परिवारमा पहिला नै कसैलाई क्यान्सर भएकाहरू, विवाहित–अविवाहित महिलालगायतका समूह क्यान्सरको सम्भावित जोखिममा हुन्छन् । यी समूहसँगै शंका लागेका अंगहरूको परीक्षण गरी क्यान्सरको जोखिमबाट बेलैमा बच्न सकिने डा. शाहले बताइन् । नेपालमा अधिकतम बिरामीलाइ फोक्सोको क्यान्सर हुन्छ भने पाठेघरको मुखको र स्तन क्यान्सरले पनि धेरै नेपाली ग्रसीत छन् ।
अस्पतालले नेपाल सरकारको सुर्तिजन्य पदार्थको कोषबाट स्क्रिनिङ सेवा सञ्चालन गर्न लागेको हो । यो सेवाको लागि सरकारले यो वर्ष १ करोड रुपैयाँ वीर अस्पतालका लागि विनियोजन गरेको छ । सुरुमा यो सेवा निशुल्कः हुने र यो सेवाले निरन्तरता पाउने डा. गुरुङले बताए ।

प्रकाशित: ११ पुस २०७४ ०४:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App